काठमाडौं । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ई–सेवाले आईएसओ २७००१ : २०१३ प्रमाणपत्र प्राप्त गरेको छ ।
ई–सेवा फोनपे प्रालिले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै आइएसओ प्रमाणपत्र प्राप्त भएसँगै एक दशकभन्दा लामो समयदेखि मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिंदै आएको ई–सेवाका सेवा र यसले प्रयोग गर्ने प्राविधिक संरचना गुणस्तरिय, सुरक्षित र विश्वस्तरिय छन् भन्ने कुराको पुष्टि गरेको बताएको छ ।
आईएसओबाट प्रमाणित प्राप्त गरेपछि ई–सेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले स्थापनाकालदेखि नै सूचना प्रणाली, गोपनियता र सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राख्दै आएको बताएका छन् ।
विज्ञप्तिमा प्रविधिमा आधारित व्यवसाय सञ्चालन गरिरहेकोले अझ बढी संवेदनशील भएर विश्वस्तरिय सुरक्षा मापदण्डहरु अपनाउँदै आएको उल्लेख छ ।
नेपालमा डिजिटल भुक्तानीको व्यवस्थाको थालनी गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा शुरु गरेको ई–सेवामा हाल खाता खोल्नेको संख्या ३५ लाखभन्दा बढी रहेको उल्लेख गर्दै विज्ञप्तिमा मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिंदै आएको ई–सेवा नेपालका हरेक नगरपालिका, गाउँपालिका तथा वडासम्म पुगेर क्यासलेस अर्थतन्त्र निर्माण गर्ने अभियानमा योगदान दिइरहेको भनिएको छ ।
हाल ई–सेवाका देशभर १ लाख भन्दा बढी एजेन्ट रहेका छन् भने ई–सेवाको मोबाइल एप्स् डाउनलोड गर्नेको संख्या करीब ३५ लाख रहेको छ ।