नेपालगन्ज १५ असोज : बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ४ बानियाभारका महिलाहरुले समूह बनाएर गाउँको धान काट्न शुरु गरेका छन् ।
यसरी धान काट्दा आएको आम्दानीले समहूका सदस्यबीचमा ऋण लगानी गर्ने उनीहरुको उदेश्य छ । दुई दिन भयो धान काट्न शुरु गरेको । दुई हजार जति आम्दानी भएको छ ।
यो सिजनभर कति आम्दानी होला ? महिला सदस्यहरु हिसाव निकाल्दै छन् । महिलाहरुको यस्तो उदाहरणीय कामले एकातिर गाउँमा धान काट्दा हुने काम गर्ने मान्छेको अभाव टारेको छ भने अर्को तर्फ महिला समूहलाई कोष बनाउन थोरै भए पनि सहायता गरेको छ ।
बैजनाथ गाउँपालिका र हेफर नेपाल नामक संस्थाले फुलवारी महिला समूह गठन गरिदिएको थियो । समहू गठन भएपछि महिलाहरु सानो आकारमा बचत गर्दै सदस्यहरुबीच लगानी गर्ने गरेका छन् ।
थोरै भए पनि महिलाहरुलाई दुःख बिरामी पर्दा अभाव टरोस् भन्ने उदेश्यले कोष बढाउन धान सःशुल्क धान काट्ने अभियान शुरु गरेको अध्यक्ष गंंगा ओली केसीले बताइन ।
अध्यक्ष केसीले भनिन्-कोषमा केही रकम थपियो भने भोलि महिला दिदी बहिनीलाई सहज होस् भनेर यो काम शुर गरेका छौ । गाउँमा राम्रै काम गरेका छौं भनिरहेका छन् ।
त्यसो त महिलाहरुले यसअघि पनि धान काट्ने गरेका थिए । तर यसपटक समूहका महिलाहरुले सामूहिकरुपमा धान काट्न शुर गरेका हुन । उनीहरुले एक घण्टाको रु ५ सय ज्याला तोकेका छन् ।
एकैपटक २५ जना महिलाले धान काट्ने छिटो र छरितो हुन्छ । समूहका सदस्यको धान काट्दा प्रति घण्टा ५ सय लिने गरिएको छ भने सदस्य बाहिरकोलाई १ हजार लिने गरिएको छ । यसरी आर्जन गरेको पैसाले कोष बनाएर समूहका सदस्यबीच लगानी गर्ने योजना रहेको अध्यक्ष ओलीले बताइन ।