टोकन प्रणाली शुरु भएपछि एकदिनमै यसरी बद्लियो यातायातको सेवा


बाँके । नेपालगन्जस्थित यातायात ब्यवस्था कार्यालयमा आजदेखि टोकन मेसीन जडान गरिएको छ । इन्भेस्टमेन्ट बैंकको सहयोगमा कार्यालयले बिहीबारदेखि टोकन मेसीन जडान गरी प्रयोगमा ल्याएको यातायात व्यवस्था कार्यालय बाँकेका निमित्त कार्यालय प्रमुख पूर्णबहादुर खत्रीले जानकारी दिएका छन् ।

सेवाग्राहीको चापलाई व्यवस्थित गर्न टोकन प्रणाली लागु गरिएको निमित्त कार्यालय प्रमुख खत्रीले बताए । यातायात कार्यालयका अनुसार उक्त मेसीन जडान भएपछि कार्यालयमा बिचौलियाको उपस्थिति शुन्य हुनेछ । सेवाग्राहीले कामका लागि पालो कुरे पनि लाइन बस्नुपर्ने अवस्थाको अन्त्य भएको निमित्त कार्यालय प्रमुख खत्रीले बताए ।

सेवाग्राहीको भीडभाडलाई कम गर्न तथा प्रभावकारी र सहज सेवा प्रवाह गर्ने उद्देश्यले टोकन प्रणाली लागु गरेको उनले बताए । ‘टोकन प्रणालीले सेवाग्राहीलाई सहज सेवा प्रवाहमा सहयोग गर्नेछ,’ निमित्त कार्यालय प्रमुख खत्रीले भने, ‘अब कार्यालयमा आउने सेवाग्राहीले पहिलेको जस्तो सास्ती पाउने अवस्था रहँदैन ।’

उनका अनुसार सवारी जाँचपास, नामसारी, रुट परमिट, सवारी दर्ता र नविकरणका लागि आउने सेवाग्राहीका लागि टोकन प्रणालीको सुरुवात गरिएको हो । ‘हामीले अहिले सवारी शाखामा आउने सेवाग्राहीका लागि टोकनमार्फत सेवा दिनेछौं, यसलाई आगामी दिनमा थप विस्तार र व्यवस्थित गर्दै लैजाने हाम्रो लक्ष्य छ,’ निमित्त कार्यालय प्रमुख खत्रीले भने ।

जनशक्ति र प्रविधिलाई थप व्यवस्थित गरेर धेरैभन्दा धेरै सेवाग्राहीलाई सेवा दिने लक्ष्य राखिएको उनले बताए । अहिले २५० जना सेवाग्राहीलाई दैनिक सेवा प्रवाह गर्ने योजना रहेको यातायात व्यवस्था कार्यालय बाँकेले जनाएको छ । इन्भेस्टमेन्ट बैंकको सहयोगमा दुई लाख रुपैयाँको लागतमा टोकन मेसीन जडान गरिएको कार्यालयले जनाएको छ ।

सुविधा लिनका लागि आएका सेवाग्राहीले टोकन पाएकै दिन काम हुने उनले बताए । टोकन प्रणालीले सेवाग्राही थप सहज र व्यवस्थित बनाउने निमित्त कार्यालय प्रमुख खत्रीको भनाई छ । टोकन प्रणालीले सेवाग्राहीको समय बचत हुनुका साथै कर्मचारीलाई पनि प्रभावकारी ढंगले काम गर्न सहज हुने खत्री बताउँछन् ।

नेपालगन्जमा बाँके, बर्दिया, जाजरकोट सुर्खेत, दैलेख दाङ लगायतका जिल्लाबाट सेवाग्राही आउने गरेका छन् । कार्यालयले दिने सेवा व्यवस्थित र सेवाग्राहीमूखी बनाउन विभिन्न सुधारका कामहरु गर्न लागिएको निमित्त कार्यालय प्रमुख खत्रीले बताए । टोकन प्रणाली लागु भएसँगै यातायातमा विचौलियाहरुको चलखेल पनि बन्द हुनेछ ।

टोकन प्रणाली सुरु भएपछि सेवाग्राहीले घन्टौं लाइनमा लाग्नुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ । यातायात कार्यालयमा निमित्त कार्यालय प्रमुख खत्री आएसँगै कार्यालयको सुधारका कामहरु भइरहेका छन् । उनले सेवाग्राहीका लागि बस्ने प्रतिक्षालयदेखि बृहत गुरूयोजना तयारी भइरहेको पनि जानकारी दिए ।

प्रकाशित मितिः     १५ आश्विन २०७७, बिहीबार १३:३६  |