कोरोनाले पहिलो पटक चिकित्सकको मृत्युः डा. हरी सापकोटाको नेपालगन्जमा निधन


नेपालगन्ज – कोरोना संक्रमणले सुर्खेतस्थित अस्पतालमा कार्यरत एक वरिष्ठ चिकित्सकको मृत्यु भएको छ ।

कोरोना संक्रमण भएर नेपालगन्जस्थित अस्पतालमा उपचार गराइरहेका डा. हरि सापकोटाको मृत्यु भएको हो।

भेरी अस्पतालमा दरबन्दी भएका हाडजोर्नी बिशेषज्ञ डा. सापकोटा सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा कार्यरत थिए।

भेरी अञ्चल अस्पताल बिकास समितिका अध्यक्ष प्रमोद धितालले बाँकेको खजुरा घर भएका डा. सापकोटाको उपचारका क्रममा मृत्यु भएको बताए। कोरोनाका कारण बरिष्ठ चिकित्सकको मृत्यु भएको यो सम्भवत पहिलो घटना हो। बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले पनि मृत्यु घटनाको पुष्टि गरेका छन्।

यस्तै कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार बाँकेमा आजै कोरोनाले थप दुईजनाको पनि मृत्यु भएको छ। भेरी अस्पताल नेपालगन्जमा उपचाररत बाँके नेपालगन्ज उपमहानगरपालिका ४ का ५२ वर्षिय पुरुष र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत भेरीगंगा नगरपालिका –५ सुर्खेतकी ७५ वर्षिया महिलाको मृत्यु भएको केन्द्रले जनाएको छ। योसगैं बाँकेमा कोरोना संक्रमित मृतकको संख्या १८ पुगेको छ।

प्रकाशित मितिः     १५ आश्विन २०७७, बिहीबार १७:०८  |