होटल र पर्यटन सम्बन्धी पढाई हुने सरकारी प्रतिष्ठानको नेपालगन्जमा कार्यालय उद्घाटन


नेपालगन्ज १८ असोज :  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले आईतवार नेपालगन्जमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको प्रदशस्तरिय शाखाको उद्घाटन गरेका छन् ।

उद्घाटनसंगै पश्चिमका विद्यार्थीहरुले नेपालगन्जमै हस्पिटालिटी र पर्यटनका विषयमा उच्चशिक्षा पढ्न पाउने बाटो खुल्ला भएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले पूर्वाधार व्यवस्थापन गरेपछि नारी विकास कार्यालयमा प्रतिष्ठानको शाखा उद्घाटन सम्भवत भएको हो ।

कार्यक्रममा मन्त्रालयका सचिव अधिकारीले होटल र पर्यटन क्षेत्रका लागि आवश्यक पर्ने दक्ष जनशक्ति अब प्रतिष्ठानले नै उत्पादन गर्ने बताएका छन् ।


त्यसका लागि स्थापना गरिएको नेपालगन्जको कार्यालय पश्चिमका विद्यार्थीका लागि बरदान सावित हुने पनि उनले बताए । अधिकारीले बाँकेको पर्यटन प्रर्बधनका लागि पूर्वाधार निर्माणमा मन्त्रालयले सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

कार्यक्रममा नेपालगन्जका मेयर धवल शम्सेर राणाले प्रतिष्ठानको दिर्घकालिन पूर्वाधारका लागि उपमहानगरपालिकाले सहयोग गर्ने बताएका छन् । कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, प्रतिष्ठानका कार्यकारी प्रमुख प्रकाश थापा, नाटा बाँकेका अध्यक्ष श्रीराम सिग्देल, नेकपा नेता रत्न खत्री, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय लगायतले प्रतिष्ठान निर्माणको स्वागत गरेका थिए ।

पर्यटन तथा होटल विधामा आवश्यक जनशक्ति उत्पादन गर्ने ध्येयका साथ विसं २०२९ मा स्थापित नाथमले सो क्षेत्रमा विभिन्न तहमा अध्ययन अध्यापन तथा तालीम सञ्चालन गर्दै आएको छ । हालसम्म नाथमले सो क्षेत्रमा करीव ५५ हजार भन्दा बढि जनशक्ति उत्पादन गरिसकेको छ ।

प्रकाशित मितिः     १८ आश्विन २०७७, आईतवार १२:०९  |
error: Content is protected !!