अनुज्ञा पत्र नलिई ड्राई फुड/मसला प्याकेजिङ गर्ने पसलको बिक्री रोक्का, ८ वटा कोठा सिल


नेपालगन्ज २३ असोज :  बजार अनुगमनका क्रममा दोषी देखिएका व्यवसायीलाई अनुगमनकर्ताहरुले त्यसै छाड्छन् भन्ने गुनासा सुनिन्थ्यो । तर अहिले बाँकेमा त्यसको ठिक विपरित छ ।

अनुगमनका क्रममा दोषी देखिएका व्यवसायी उपर धमाधम कारवाही शुरु गरिएको छ । जरिवाना तिराउनु त सामान्यको कुरा भइसकेको छ मुद्दा समेच चल्न थालेको छ । कालोबजारी गर्नेलाई कुनै पनि हालतमा नछाड्ने गरी अभियान शुरु गरिएको वाणिज्य कार्यालय नेपालगन्जका प्रमुख कृष्ण पौडेल बताउँछन् ।

बिहिवार बजार अनुगमनका क्रममा नेपालगन्जमा करिव २० हजार रुपैयाँ बराबरको उपभोग्य म्याद समाप्त भएका खाद्य सामग्रीहरु नष्ट र खरिद बिल पेश नगर्ने एक पसललाई तत्काल रु २० हजार जरिवाना गरिएको छ ।

वाणिज्य कार्यालयका प्रवक्ता देवीलाल चौलागाईका अनुसार खाद्य ऐन बिपरित अनुज्ञा पत्र नलिई ड्राई फुड तथा मसला प्याकेजिङ गर्ने कार्यमा संलग्न दुई पसललाई उत्पादन तथा बिक्रीवितरण रोक्का गरि बिक्री केन्द्र सहित भण्डार गरिराखेको ८ वटा कोठा सिल गरिएको छ ।


चौलागाईका अनुसार २४ घण्टा भित्र खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयमा उपस्थित हुन निर्देशन दिनुको साथै काजु, किसमिस बदाम सहितको चार वटा नमुना खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयले परिक्षणका लागि संकलन गरेको छ ।

प्रकाशित मितिः     २३ आश्विन २०७७, शुक्रबार ०७:००  |
error: Content is protected !!