दसैंमा घुम्नलाई अफर, एयरलाइन्सदेखि पाँच तारे होटलले ल्याए ‘सस्तो प्याकेज’


काठमाडौं । कोरोना भाइरस महामारीकै बीचमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि भन्दै सस्ता प्याकेजहरु धमाधम सार्वजनिक भइरहेका छन् । सरकारले असोज १ गतेबाट होटल तथा एयरलाइन्सहरु सञ्चालन गर्न दिएसँगै अहिले प्रतिस्पर्धात्मक रुपमा प्याकेजहरु सार्वजनिक भइरहेका हुन् ।

भाइरसको संक्रमण बढीरहेको बेला पर्यटकहरुको चहलपहल नहुँदा नेपालीलाई नै लक्षित गरेर दैनिक रुपमा सस्तो प्याकेजहरु आइरहेको हो । यसअघि यो सिजनमा घुम्न जानेहरुको घुइँचो लाग्थ्यो । अहिले घर जान समेत समस्या भइरहेको बेला विभिन्न पर्यटनसँग सम्बन्धित संस्थाहरुले ल्याएको प्याकेजले कति आर्कषण गर्छ अनुमान गर्न नसकिने व्यवसायीहरुको भनाई छ ।

सामूहिक रुपमा घुम्न जाँदा समेत भाइरस सर्ने त्रास धेरै रहेकोले आन्तरिक पर्यटनमा चहलपहल हुन नसकेको साग्रिला होटलका सञ्चालक प्रवीणबहादुर पाण्डेको भनाई छ ।

पोखराका लागि प्याकेज ल्याएको भए पनि अहिलेसम्म बुकिङ नभएको र सोधखोज मात्र बढी भएकोले अहिलेकै अवस्थामा निर्धक्कका साथ घुम्ने वातावरण बनिनसकेको उनको भनाई छ ।

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्टस ९नाट्टा०का अध्यक्ष अच्यूत गुरागाईले पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढीरहेको कारण सस्तो प्याकेजले पर्यटकलाई छुन नसकेको बताउछन् । कहाँ र कुन बेला संक्रमित भइन्छ भन्ने सबैलाई त्रास छ, तैपनि पर्यटकीय गन्तव्यहरुलाई सुरक्षित बनाएर घुम्न निस्कन पर्ने बेला आएको छ,उनले भने ।

अहिले पाँच तारे होटल सहित विभिन्न एयरलाइन्सहरुले समेत सस्तो प्याकेज सार्वजनिक गरिसकेका छन् । यती एयरलाइन्स र बुद्ध एयरले नाम्चे बजारदेखि रारासम्मको सस्तो प्याकेज घोषणा गरेका छन् । तर, बुकिङ गर्ने भन्दा सोधखोज गर्नेको संख्या धेरै रहेको व्यवसायीले बताएका छन् ।

यती एयरले अक्टोबरदेखि लागू हुने गरी सहुलियत दरका भ्रमण प्याकेजहरू ल्याएको छ । प्याकेजमा दुईतर्फी हवाई टिकट, होटलमा बस्ने खाने, यातायात सुविधा र आवश्यकताअनुसार टुर गाइडको व्यवस्था समावेश हुनेछ । पोखरा, एभरेष्ट ट्रेल, मुक्तिनाथ, घान्द्रुक, जङ्गल सफारी चितवन र रारा भ्रमणका कार्यक्रमहरू छन ।

यो पनि पढ्नुस् यतीले सार्वजनिक गर्यो ६ गन्तव्यको सस्तो प्याकेज, एभरेष्ट ट्रेलदेखि रारासम्म​

यस्तै बुद्ध एयरले चितवन र पोखराको लागि आकर्षक प्याकेज ल्याएको छ । दुईतर्फी हवाई टिकट सहित तारे होटल बसोबास गर्ने व्यवस्था गरेको हो ।

पाँच तारे होटलमा छुट

काठमाडौंमा रहेको पाँच तारे होटल म्यारियटले दसंै स्टेशन नामक प्याकेज सार्वजनिक गरेको छ । जहाँ ४ हजार ९९९ रुपैयाँ मै कोठा पाइने र बिहानको खाजा समेत दिइने भएको छ ।

यस्तै झापामा रहेको मेची क्राउन होटलले ७ हजार ९९९ मै आफ्ना कोठाहरु दिने गरी प्याकेज सार्वजनिक गरेको छ । योसँगै विभिन्न तारे होटलहरुले पनि प्याकेजहरु ल्याइरहेका छन् ।

एक्सलट्रिपबाट बुकिङ गर्दा ३०० रुपैयाँ ‘क्यास ब्याक’

एक्सलट्रिप नेपालले हरेक ग्राहकलाई ३०० रुपैयाँ ‘क्यास ब्याक’ दिने भएका छन् । दसैं–तिहारको अवसरमा एक्सलट्रिपद्वारा होटल, फ्लाइट टिकटसँगै होलिडे प्याकेज बुकिङ गर्दा ३०० रुपैयाँ निःशुल्क क्यास ब्याक दिने योजना ल्याएको हो ।

बुकिङबाट पाउने ३०० रुपैयाँ संसारभरिका जुनसुकै होटल तथा विमान बुकिङमा प्रयोग गर्न सकिनेछ । त्यस्तै नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा एक्सलट्रिपले नेपालको पर्यटन प्रवद्र्धन हाम्रो दायित्व मूल नाराका साथ प्रोमोटिङ नेपाल र प्रोमोटिङ डोमेस्टिक टुरिज्म नेपाल अभियान नै सञ्चालन गरेको छ ।

प्रकाशित मितिः     २३ आश्विन २०७७, शुक्रबार १२:५९  |