गुलाबजङ्ग शाहले भने-मंगलबार मेरै नेतृत्वमा दलको बैठक बस्छ र निर्णय पनि हुन्छ


सुर्खेत २६ असोज :  कर्णाली प्रदेशमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवादले नयाँ मोड लिएको छ ।

संसदीय दलको बैठक बोलाएपछि दल नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई जिम्मेवारीबाट हटाएका छन् । र, सीता नेपालीलाई प्रमुख सचेतक तोकेका छन् ।

शाहले भने मुख्यमन्त्रीले आफूलाई पदमुक्त गर्ने अधिकार गुमाइसकेको बताएका छन् । ‘कोमामा गएको नेतालाई जिम्मेवारीबाट हटाउने अधिकार छैन,’ शाहले अनलाइनखबरसँग भने, ‘आइतबार १८ जना सदस्यले दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका छन् । अब दलको नेताले कुनैपनि निर्णय गर्न पाउँदैन ।’

शाहले मंगलबार दिउँसो १ बजे संसदीय दलको बैठक बस्नेसमेत प्रष्ट पारे । ‘मंगलबार मेरै नेतृत्वमा दलको बैठक बस्छ र निर्णय पनि हुन्छ,’ शाहले भने ।

मुख्यमन्त्री शाहीले प्रमुख सचेतकको जिम्मेवारी दिएको सीता नेपालीले भने संसदीय दलको बैठक मंगलबार नबस्ने बताइन् । ‘भोलि बैठक बस्दैन, केके हुन्छ पछि थाहा हुन्छ’ उनले भनिन् । यज्ञ खत्री(अनलाइनखबरबाट)

प्रकाशित मितिः     २६ आश्विन २०७७, सोमबार १६:४८  |