नेपालगन्ज २७ असोज : नेपाल सरकारका पूर्व सचिव भिम उपाध्याय सामाजिक सन्जालमा भ्रष्टचार र बेथितीका बारेमा बोल्ने र लेख्ने गर्छन ।
तर सामाजिक सन्जालमा हुँदै नभएका विषय समेत शेयर गर्दा उनको बिश्वसनियता माथि प्रश्न उठ्न थालेको छ ।
घटना हो, सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिकाको । केही दिन अघि सामाजिक सन्जालमा उनले गुर्भाकोट नगरपालिका वडा नं. ९ मा करिब रु १३ लाखमा निर्मित सहरी स्वास्थ्य केन्द्र भन्दै एउटा निर्माणाधिन भवनको फोटो शेयर गरे ।
१३ लाख खर्च हुँदा समेत भवन अधुरै रहेको उनको आशय थियो । उपाध्यायको बिश्वासका पछाडी लागेर उक्त फोटो शेयर गर्ने क्रम बढ्यो ।
तर कुरा उपाध्यायले शेयर गरे जस्तो भने थिएन । निर्माणकै चरणमा रहेको भवनको फाटो खिचेर भ्रष्टाचार गरेको जस्तो आशय राखेर फाटो शेयर गरेपछि अहिले त्यहाँका जनप्रतिनिधि र स्थानीय आक्रोसित छन् ।
पूर्व सचिव र आफुलाई अभियानताको कित्तामा राख्न रुचाउने व्यक्तिले गलत सूचना दिएको भन्दै असन्तुष्ट छन् ।
वडा अध्यक्ष शशी भट्टराईका अनुसार, योजनाको डिटेल ईस्टिमेट र कुल लागत कति हो भन्ने कुरा नै नबुझी प्रचार गरिएको छ । यो भवनको कुल लागत स्टमेट ३९ लाख हो ।
आव ०७६र०७७ मा १३लाखको काम भयो । चालु आवमा २६ लाखको काम हुँदै छ । ‘हामीले कोभिडका बेला समेत काम गरेका थियौं । बन्दै गरेको भवनका बारेमा अर्नगल प्रचार गर्दा दुःख लाग्यो ।’– वडा अध्यक्ष भट्टराईले भने ।

नगर स्वास्थ्य शाखा प्रमुख किरण ओलीका अनुसार, गुर्भाकोट नगरपालिकाका स्वास्थ्य संस्था नभएका ७ वटा वडाहरुका लागि प्रति संस्था १३ लाखका दरले ९१ लाख प्रदान गरिएको थियो । गत आबका लागि प्राप्त रकम मध्य वडा नं.५,७ र ९ मा १३ लाखको काम भयो ।
बांकी वडाहरुले कोरोनाका कारण काम गर्न सकेनन ।
गत आबमा काम शुरु गरेका ३ वटा वडाहरुको बांकी काम यो आबमा २६ लाख रकमबाट सम्पन्न हुनेछ । गत आबमा काम नगरेका ४ वटा वडाहरुको १३ लाखको काम यो आबमा हुनेछ ।
दुई आबमा सक्ने गरि बजेट बिनियोजन गरि स्वास्थ मन्त्रालय मार्फत नगरपालिकामा बजेट पठाउने सरकारको नीति छ ।त्यसैले यो विवाद गर्ने बिषय नभए ओलीले बताए ।
निष्कर्षमा भन्दा यसपटक गुर्भाकोटको विषयमा पूर्व सचिव भिम उपाध्याय चिप्लिएका छन् ।

