नेपालगन्ज : बाँकेको ढकेरीमा रहेको सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घले पछिल्लो तीन महिनामा साढे दुई करोड बराबरीको खसीबोका बिक्रि कारोवार गरेको छ ।
बाँके लगायत देश नै कोरोना संक्रमणमा भएपनि संघले आफनो लक्ष्य अनुसार कारोवार गर्न सफल भएको छ ।
किसानका उत्पादनलाई बजारीकरण गर्नका लागि संघले तय गरेको योजना अनुसार स्वास्थ्यका सुरक्षित मापदण्ड पालना गर्दै कारोवारलाई अघि बढाएको संघका कार्यालय प्रमुख नविन शाहु बताउँछन् ।
उनकाअनुसार संघले साउन, भदौ र असोजको अहिलेसम्म गरी साढे दुई करोडको कारोवार गरेको छ । जोे गत बर्षको यहि समयको तुलनामा दोब्बर बढी हो ।
उनका अनुसार कोरोना संक्रमणले ढकेरीमा रहेको संघको खसीबोका कारोवारमा कुनै असर र प्रभाव पारेको छैन् । यस बर्षको दशैमा २२ सय खसीबोका बिक्रि गर्ने लक्ष्य थियो उनले भने ‘अहिले साउन, भदौ र असोजको गरी अहिलेसम्म करिब १३ सय जति बिक्रि भैसकेको छछ । दशैको फुलपातीसम्म लक्ष्य पुरा हुन्छ ।’
बजार अहिले खसीको मुल्य घटेको कारण बिक्रिमा समस्या भएको छ । उनकाअनुसार अहिले काठमाडौको होलसेल बजारमा प्रतिकेजी खसी ५ सय ५० मा झरेको छ । यसले यहाँ खसी बिक्रिमा समस्या छ ।
लकडाउन र सीमा नाका बन्दका कारण शुरूआती दिनमा भारतीय खसीबोका आर्यातमा कमी आएको थियो । त्यसबेला बाँकेमा स्थानीय खसीबोकाको मुल्य पनि थियो माग पनि थियो उनले भने ‘ लकडाउन खुकुलो भएसँगै अहिले सीामाबाट भारतीय खसीबोका नेपाल आइरहेका छन । लुकिछिपी काठमाडौं लगायकता सहरमा लगेर भारतीय खसीबोकाको व्यापार भैरहेको छ ।’
उनले थपे‘ यस कारण पनि अहिले नेपाली खसीबोकाको मुल्य र मागमा कमी आएको छ । यसरी मुल्य घट्दै जाने हो भने हामी खसीबोका बिक्रि गर्न सक्ने अवस्थामा हुँदैनौ ।’ संघको व्यवसाय प्रबन्धक समेत रहेका शाहुले कोरोनाले भन्दा पनि भारतीय चोरिका आर्यातित खसीबोकाका कारण स्थानीय खसीबोकाको मागमा गीरावट आएको देखिएको छ ।
बाँकेको राप्ती सोनारी गाउँपालिकाको कचनापुर, महादेवपुरी, बिनौना, बैजापुर, कुसुम, फत्तेपुरलगायत गाउँमा महिलाले पालन गरेका खसी सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घमार्फत काठमाडौँ पठाउने गरेको सङ्घका निवर्तमान अध्यक्ष गङ्गा शाह बताउँछिन । काठमाडौँका व्यापारीसँग मिलेर महिलाले उत्पादन गरेका ती खसी काठमाडौँ पठाइने निवर्तमान अध्यक्ष शाह बताइन ।
उनकाअनुसार भारतीय खसीको तुलनामा यहाँ पालेका खसी मोटा र राम्रा भएकाले काठमाडौँ, बुटवल, पोखरा लगायत शहरमा माग बढ्दो छ । महिलाले व्यावसायिक रूपमा बाख्रापालन गर्न थालेपछि बाँकेमा खसीबोका उत्पादनमा वृद्धि भएको छ । महिला समूहमा आवद्ध दिदीबहिनीले गाउँमा पालेका खसी सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घद्वारा ढकेरीमा सञ्चालित बाँके बाख्रा व्यवसाय केन्द्रमार्फत बिक्री गर्ने गरेका छन् ।
महिलाले पालेका खसीबोकाको बजारीकरणमा समस्या नहोस् भन्नका लागि ढकेरीमा एक पटकमा ५ सय खसी बाख्रा राख्न मिल्ने नमूना केन्द्र निर्माण गरिएको छ अहिले पनि उक्त केन्द्रमा एक सय खसीबोका स्टक छन् । सङ्घमा आबद्ध ११ हजार महिलाले खसीबोका, बंगुर, सुंगुर, कुखुरालगायत पशुपालन गर्दै आएका छन् । तीमध्ये ७ हजारले बाख्रापालन गरेका छन् ।
ग्रामीण क्षेत्रमा रहेका महिलालाई आत्मनिर्भर बनाउनका लागि पशुपालनतर्फ आकर्षित गरिएको छ । बाँकेका १५ र बर्दियाका चार वटा बाख्रा पालन समूहबाट केन्द्रले खसी खरिद गर्दै आएको छ।