भ्रष्टाचार बिरुद्ध शून्य सहनशीलता व्यवहारमा देखाएका छौं – धवल शम्सेर राणासंगको अन्र्तवार्ता


डा. धवल शम्शेर राणा बाँकेको नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख हुनुहुन्छ । २०५४ सालमा पनि नेपालगञ्ज नगरपालिकाका प्रमुख हुनुभएका राणालाई दुई दशकपछि नगरबासीले  फेरी उप–महानगरपालिकाको नेतृत्व सुम्पिनुभएको तीनवर्ष पुरा भएको छ । अमेरिकाबाट राजनीतिशास्त्रमा विद्याबारिधी गर्नुभएका डा. राणासँग नेपालगञ्जको समग्र विकास निर्माण लगायतका विषयमा उहाँसँग  पत्रकार गोविन्द शर्माले गर्नुभएको वार्ता –

  • तपाईको तीनवर्षे कार्यकाल कस्तो रह्यो ? कसरी मुल्याङ्न गर्नुहुन्छ ?

– कामको सिलसिलामा अत्यन्त सन्तोषजनक छ । वाचा गरे अनुसार काम भईरहेको छ । अहिले यहाँ भईरहेको विकास निर्माणबाट म आफु सन्ुतष्ट छु । व्यक्तिगत भन्नुपर्दा मानसिक र शारीरिक रुपले अत्यन्तै कष्टकर रहेको छ ।

  • निर्वाचनमा घोषणापत्र सहित मतदातामाझ पुग्नुभएको थियो ? त्यसमा कति सफल हुनुभएको छ ? 

– हामीले एकपानाको घोषणापत्र बनाएका थियौ । अरुले १० पानाको पनि बनाएका थिए । हामीले सक्ने काम मात्रै घोषणापत्रमा समावेश गरेका थियौ । करिब करिब सबै सम्पन्न भईसक्यो । अहिले तेश्रो वर्षको अन्तिम हो । चौथो वजेट चल्दैछ । कतिपय योजना समाप्त भईसकेका छन, । कतिपय समाप्त हुनेक्रममा रहेका छन् ।

  • नेपालगञ्ज मुलुकको प्रमुख शहर हो । यहाँ तपाईको नेतृत्वमा मुख्य कामहरु के के भएका छन ? 

– हामी आउँदा यहाँको सडक सबै ध्वस्त अवस्थामा थियो । सबै सडक बनेको छ । नालाहरु सबै बनेको छ । एउटा बन्नेक्रममा छ । पार्कहरु ध्वस्त थियो । अब निर्माण भई सञ्चालन हुने अवस्थामा पुगेका छन् । प्रशासनमा पनि ठुलो सुधार आएको छ । सुशासनको दृष्टिकोणले भ्रष्टाचाररहित नगरपालिका बनाउन सक्नु ठुलो उपलब्धी हो ।  अत्याधुनिक वसपार्क र ल्याण्डफिलसाईटको काम हामीले छिटो पूर्णता दिएर सञ्चालनमा ल्याउन सफल भएका छौं ।

  • सुशासन र पारदर्शिताको सवालमा नेपालगञ्जले के अभ्यास गरिरहेको छ ? 

– हामी नियमानुसार त्रैमासिक रुपमा जनतामाझ सार्वजनिक सुनुवाई लिएर पुग्छौं । सूचनाको हकको पूर्ण पालना गरेका छौं । कुनैपनि प्रकारको अनियमितता हुन दिन्नौ । यहाँ सबैकुराहरु पारदर्शी पाउनुहुन्छ । आर्थिक कुरा, खर्च हुने कुरामा बोर्डको अनिवार्य अनुमति लिएर अघि बढ्छौं ।  जनप्रतिनिधी, कर्मचारी र नगरबासीलाई  नगरपालिकाले गरेका कुराहरु एक हदसम्म पारदर्शी छ भन्ने नै छ । भ्रष्टाचारका कुराहरु अहिलेसम्म हामीले भेटाएका छैनौ । भ्रष्टाचारमा शुन्य सहनशिलता कायमै राख्ने लक्ष्य  छ ।

  • अब बाँकी रहेको कार्यकाललाई कसरी अघि बढाउने सोच बनाउनुभएको छ ?

– हाम्रो ५ वर्षे कार्यकाल पुरा हुन १६/१७ महिना मात्रै बाँकी छ । छात्रा कलेज र छात्रा विद्यालयलाई सञ्चालन गर्नुपर्नेछ । यसका भवन २/४ महिनामा सम्पन्न भईसक्छन् । ५/६ महिनामा सबै पार्कहरु निर्माण हुन्छन, सबैको सञ्चालन गर्नु छ ।  अब निर्माण भन्दा पनि व्यवस्थित सञ्चालनमा मेरो ध्यान जानेछ ।

  • स्थानीय सरकारको काम कारवाहीमा प्रदेश वा सङ्घ सरकारबाट सहयोग वा समन्वयको अवस्था कस्तो छ ? 

– अवरोध त कसैले गरेको छैन । तर सङ्घ र प्रदेशले गर्नुपर्ने सहयोग पनि गरेको छैन । पटक –पटक मुख्य मन्त्रीलाई आग्रह पनि गरेको छु । प्रदेशभित्रका उप–महानगरपालिकालाई बराबर माया गर्नुहोस भन्ने गरेको छु । हामीलाई धेरै दिनुपर्दैन । बराबर हिस्सा लगाउनुहोस भन्ने छ । कहिलेकाही सम्पुरकमा छिमेकी गाउँपालिका भन्दा हाम्रो बजेट न्यून हुन्छ । यसपटक केन्द्र सरकारले यसखालको बजेट शुन्य बनाईदिएको छ । यसले हामी दुःखी छौं । राजनीतिक पूर्वाग्रह राखेको जस्तो लाग्छ । तर सबै कुरा उहाँहरुले रोकेर राख्न सक्नुहुदैन । राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घ संस्था, दातृ निकायको हामीलाई साथ र सहयोग छ ।

  • तपाई २०५४ सालमा पनि नगर प्रमुख हुनुहुन्थ्यो ।  दुई दशक पहिले र अहिलेको अनूभव कस्तो छ ? 

– २० पहिलेको अवधीमा यति ठुलो जिम्मेवारी थिएन । अहिले सबै लायन एजेन्सीहरु नगर मातहत छन् । यो सरकार हो । त्यो बेला सरकार थिएन । त्यो वेला बजेट एकदमै न्यून थियो । सानो काम गर्न पनि गाह्रो थियो । अहिले त्यसखालको समस्या छैन । अहिले नियम कानून कडा छन् । तर अहिले भन्दा विगतमा काम गर्न सहज थियो ।

  •  नगर कार्यपालिकामा कुनै एक पार्टीको बहुमत छैन, काम गर्न कति सहज छ ?

– यहाँ चारवटा पार्टीको कार्यपालिकामा करिब बराबरी छ । समन्वय एकदमै राम्रो छ । सबैजना मिलेर अघि बढेका छौं । विकासमा सबै कार्यपालिका सदस्यले सहयोग गर्नुभएको छ । कार्यपालिका सदस्य र प्रमुख, उपप्रमुख बीच सधै सुमधुर सम्बन्ध रहिआएको छ ।

  • कोरोना रोकथाम र नियन्त्रणमा नेपालगञ्जले के–के गर्दैछ ?

– हाम्रो तर्फबाट गर्न पर्नेजत्ति हामीले गरेका छौं । सरकारको प्रोटोकल मानेका छौं ।  नेपालगञ्ज नाका भएर लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका जिल्ला मानिसहरु जाने भएकाले हामीले दशगजा क्षेत्रमै क्वारेन्टाईन सञ्चालन गरि सबैलाई सहयोग गर्यौ । सीमामा दैनिक हुने समस्याको सहजिकरण ग¥यौं । विपन्न समुदायका र भाँडामा बस्नेलाई सहयोग गयौ ।  आईसोलेसन सेन्टर सञ्चालन गरेका छौं ।  भेरी अस्पतालमा आईसोलेसन सय्या थप गरिरहेका छौं ।  कोरोनाबाट हाम्रो उप–महानगरपालिकाका एकजना कर्मचारीको दुःख निधन भयो । धेरैजना जन प्रतिनिधी र कर्मचारी कोरोना सङ्क्रमित भएपनि हामी कोरोना रोकथाम र नियन्त्रणमा निरन्तर खटिएका छौं ।

  • नेपालगञ्जलाई कर्णाली प्रदेशमा मिसाउनुपर्छ भन्ने आन्दोलनको अगुवाई गर्दै आउनुभएको छ । अब प्रदेशको नाम लुम्बिनी र राजधानी देउखुरी कायम भएको छ । यसलाई नेपालगञ्जले कसरी हेरेको छ ? 

– हामीले भन्दै आएका थियौ । बुटवल एकदमै अपायक भयो । हाम्रो प्राथमिकता नेपालगञ्ज राजधानी हुनुपर्छ भन्ने हो । नभएर कर्णाली प्रदेशमा गाभ्दा उपयुक्त हुन्छ भन्ने थियो । अब दाङको देउखुरी उपत्यकालाई राजधानी बनाएपछि हामीलाई आधा बाटो कम भएको छ । दुरीले वीचमा परेको छ । अहिले पनि सबैभन्दा उपयुक्त त नेपालगञ्ज राजधानी वा  कर्णालीमा गाभिने नै  हो । तर बाँकेबासीका लागि बुटवल भन्दा दाङ धेरै सहज हो ।

प्रकाशित मितिः     ३० आश्विन २०७७, शुक्रबार २०:००  |