नेपालगन्जमा वायु गुणस्तर मापन केन्द्र स्थापना, देशभरको वायु प्रदुषणको अवस्था थाहा हुने


नेपालगन्ज ४ कात्र्तिक :  नेपालगन्ज उपमहानगरपालिकामा वायु गुणस्तर मापन केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।

वातावरण विभागको लागतमा स्थापना गरिएको वायु प्रदूषण मापन केन्द्रमा वायुको गुणस्तर मापन गर्ने सोलार प्यानल सहितका उपकरण, कन्टेनर, डिस्पले बोर्डलगायत राखिएका छन् ।

डिस्पले बोर्डमा नेपालगन्ज नगरसहित देशभरिको वातावरणसम्बन्धी जानकारी दिइने व्यवस्था गरिएको इन्जिनियर प्रकाश डिसीले जानकारी दिए ।

उनका अनुसार केन्द्रले २ दशमलव ५ माइक्रोमिटरभन्दा साना धुलो पानी लगायतका कणहरूको मापन गर्नेछ । ‘बजार क्षेत्रको प्रदूषणको अवस्था के कस्तो छ भन्नेबारे जानकारी दिनेछ,’ इन्जिनियर डिसीले भने, ‘डिस्पेले बोर्डमा देशभरिकै हावाको गुणस्तरबारे जानकारी लिन सकिने छ ।’

केन्द्रमा राखिएका उपकरणको मद्दतले हावाको आद्रता, हावाको तापक्रम, हावाको गति, हावा कतातर्फ बगिरहेको छ, त्यसबारेमा समेत जान्न सकिने छ ।

प्रकाशित मितिः     ४ कार्तिक २०७७, मंगलवार ०८:४७  |