नेपालगन्ज : मुख्यमन्त्री शंकर पोखरेलले कार्ययोजना अनुसार काम गरी विनियोजन भएको बजेट खर्च गर्न निर्देशन दिनुभएको छ ।
बजेट कार्यान्वयनका लागि तीन महिनामा भएका कामबारे मन्त्री र सचिवहरुसंग आज भएको भर्चुअल बैठकमा कोभिड—१९ को कारण देखाएर विनियोजन भएको बजेट खर्चमा ढिलासुस्ती नगर्न निर्देशन दिनुभयो । “असहज अवस्थालाई सहज बनाउँदै काम गर्ने हो, समस्या पहिचान गरी समाधान गर्दै कार्ययोजना अनुसार काम हुनुपर्छ—उहाँले भन्नुभयो ।
कार्ययोजना अनुसार काम गर्ने र बजेट खर्च गर्ने प्रणालीको विकास गर्न सक्दा आगामी दिनहरुमा सरकारका काम अझै प्रभावकारी हुने उहाँले बताउनुभयो ।
उहाँले गत आबमा लुम्बिनी प्रदेशले ८० प्रतिशत पूँजीगत खर्च गरेको र अहिले त्योे भन्दा धेरै राम्रो गर्नुपर्ने बताउनुभयो ।
उहाँले उद्योग, वन तथा वातावरण मन्त्रालयलाई बहुमूल्य नर्सरीको स्थापना गरी निःशुल्क विरुवा वितरण गर्ने गरी अघि बढ्न निर्देशन दिनुभयो ।
विगतमा वृक्षारोपण अभियान अघि बढेको तर त्यसको प्रभावकारिता सिंगो प्रदेशमा प्रभावकारी नभएकोले त्यसको कारण खोज्न र वृक्षारोपण अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।
कोरोना संक्रमणले कतिपय मन्त्री र सचिव आइसोलेसनमा रहेकोले मन्त्री र सचिवहरुसंग भर्चुअल बैठक भएको हो ।