नेपालगन्ज ८ कात्र्तिक : लुम्विनी प्रदेशको कृषि मन्त्री आरती पौडेलको गृहजिल्ला हो बाँके । अझ दूग्ध विकास संस्थान (डिडिसी)मै निर्भर पशुपालक कृषक उनकै निर्वाचन क्षेत्रका अधिक छन् ।
तर डिडिसीले एक महिनासम्म दूध नकिन्ने भएपछि कृषक तनावमा छन् । कृषि मन्त्री आरती पौडेलले आफ्ना समस्या समाधान गर्नुपर्ने माग गरेका छन् । चाडपर्वका बेला दूधको व्यवस्थापन गर्न कृषकलाई मुस्किल परेको छ ।
सरकारी स्वामित्वको दूग्ध विकास संस्थान नेपालगन्ज आयोजना कार्यालयले यस क्षेत्रका किसानले उत्पादन गरेको दूध किन्न बन्द गरेपछि दूध फाल्नुपर्ने अवस्था आएको छ । दुग्ध विकास संस्थानको केन्द्रीय निर्णय भन्दै मंगलवारदेखि दूध संकलन बन्द गरिएको हो ।
बाँके/ बर्दियाका किसानको प्रश्न- सरकार ! डिडिसीले दूध किनेन, अब कहाँ बेच्ने ?
मंगलवारदेखि लागु हुने गरी आगामी मंसिर ४ गतेसम्म दुध संकलन नहुने भन्दै आयोजनाका प्रमुख योगेन्द्र शाहले दुग्ध उत्पादन सहकारीलाई पत्र पठाएका छन् । उक्त पत्र पाएपछि दुग्ध उत्पादक कृषक तनावमा छन् ।
बैजनाथ गाउँपालिकास्थित वनकटुवा दुग्ध उत्पादक कृषक सहकारीका व्यवस्थापक दिपक कार्कीले दुग्ध विकास संस्थानले दुध नलिने भएपछि आफुहरु तनावमा रहेको बताए । अब दूधको व्यवस्था कहाँ गर्ने भन्ने चिन्ता कृषकलाई छ ।
एक महिनासम्म दुधको व्यवस्थापन गर्न नसकिने भएकाले दुध त्यसै फाल्नुपर्ने अवस्था आएको कृषकहरु बताउँछन् ।
बाँके लगायत बिभिन्न जिल्लामा कृषकहरुको लाखौ लिटर दुध दुग्ध विकास संस्थानले खरिद गर्दै आएको ती कृषकहरुलाई रुवाउने गरी दुग्ध विकास संस्थानले गरेको निर्णयले कृषकहरुलाई स्तब्ध बनाएको छ ।
महादेवपुरी दुध उत्पादक सहकारी संस्थाका व्यवस्थापक भागिराम डाँगीले दूधको व्यवसथापन चुनौतीपूर्ण बनेको बताए ।