धमाधम तयार हुँदै आन्तरिक पर्यटक बढाउने पूर्वाधार


नेपालगन्ज :  औद्योगिक र व्यवसायीक शहर मात्र नभई अब नेपालगन्ज एउटा पर्यटकीय शहरका रुपमा समेत रुपान्तरण हुँदै छ । आन्तरिक पर्यटक तान्नका लागि सरकारी तथा निजी लगानीमा धमाधम पर्यटकीयस्थल निर्माणको काम भइरहेका छन् ।

यि काममा अर्वौको लगानी भइरहेको छ । नेपालगन्जलाई हालसम्म पर्यटकीय हवका रुपमा चिनिन्छ । अन्य पर्यटकीयस्थलका लागि बिश्राम लिने ठाउँ मात्रमा अब भने सीमित हुने छैन । पर्यटकलाई घुम्न मिल्ने पूर्वाधार तयार भएको बताउँछन्, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ ।

आन्तरिक पर्यटक तान्नका लागि नेपालगन्जमा लकडाउनकैबीच पूर्वाधार तयार भए । वाटरपार्कदेखि सूविधा सम्पन्न फनपार्कको निर्माणले नेपालगन्जमा आन्तरिक पर्यटकको सख्या ह्वात्तै बढाउने अपेक्षा गरिएको छ । लामो समय वेवारिसे बनेको रानी तलाउले पुर्नजिवन पाएको पहिल्यै हो । तर कोरोनाका कारण रानी तलाउ मात्र होइन अन्य पार्कहरु पनि राम्रोसंग सन्चालन हुन पाइरहेका छैनन् ।

वाटरपार्क तस्विर : रमेश मल्ल

पाँच दशकदेखि वाटरपार्क जग्गा एकिकरण आयोजना मार्फत ल्याण्ड कुलिङ जमिन चिस्यान प्रकृया अनुसार योजना अगाडी बढेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरले वाटरपार्क निर्माण योजनामा शहरी बिकास तथा प्राबिधिक आयोजनाबाट करिब ४ करोड लगानी भैसकेको बताउदै नेपालगन्ज उपमहानगरपालिकामा निर्माण गर्ने अधिकार हस्तान्तरण भएपछि उपमहानगरपालिकाले झण्डै ६५ लाख लगानी गरेर सरसफाई, पार्क वरपर फूटपाथ निर्माण, रेलिङ निर्माण, सोलार बत्ती जडान, आगन्तुक वस्ने कुर्सी देखि बृक्षारोपन कार्य सम्पन्न गरिसकेको बताईन् ।

यसै बर्षको आर्थिक बर्षदेखि नेपालगन्ज उपमहानगरपालिकाले ठेक्का आयोजना मार्फत वाटरपार्कलाई सञ्चालनमा ल्याउने र चाँडो भन्दा चाँडो आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने तयारी भएको उप प्रमुख थापाले जनाईन् ।

नेपालगन्ज उपमहानगरपालिका १ मा निर्माण गरिएको वाटरपार्कमा दैनिक मर्निङ तथा इभिनिङ वाक देखि साईक्लिङ, योग गर्नेहरुको गन्तब्य बन्दै गएको छ । बुढापाका देखि युवाहरुको दैनिक वाठरपार्कको दृश्यावलोकन र आनन्द लिने ठाउँ बनेको छ वाटरपार्क । थप निर्माण गर्नुपर्ने कामलाई चाँडै निर्माण गरेर सञ्चालनमा ल्याई आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सके वाटरपार्क बाँके जिल्लाकै पर्यटकीय गन्तब्य बन्ने संभावना देखिन्छ ।

रानी तलाउ

कान्ति, फुटाह र वाटर पार्क पनि उस्तै नेपालगन्ज उपमहानगरपालिका–२२ पुरैनी र वडा–२१ पुरैनामा अवस्थित कान्ति ताल सयौं वर्ष पुरानो हो । १० करोडमाथिको लगानी रहेको यो ताल अहिले निर्माणधीन छ ।

‘कान्ति ताल नेपालगन्जको ड्रिम प्रोजेक्ट हो,’ प्रमुख राणाले भने, ‘दुई वर्षभित्र पूरा गर्ने योजना छ ।’  २५ बिघा जग्गामा रहेको ताल लामो समयदेखि अलपत्र थियो । स्थानीयले फोहोर फाल्ने थलो बनाएका थिए । नगरपालिकाले अलपत्र तालको संरक्षण गर्न थालेपछि यहाँ स्थानीयका जमिनले समेत भाउ पाउन थालेका छन ।

मेरो प्लानेट फनपार्क

कान्ति तालमा बोटिङ, माछा पालन, वृक्षरोपण, चिल्ड्रेन पार्क, पिकनिक स्पटलगायत अत्याधुनिक शैलीको संरचना बनाउने नगरको योजना छ । नेपालगन्ज उपमहानगरपालिकाले हालसम्म पाँचवटा ताल संरक्षण गरेको छ । अरु चारवटा गर्ने तयारीमा छ । त्यससँगै स–साना तलाउको खोजी गरेर जनस्तरमा ताल जोगाउ अभियानमा जोड दिने राणाले बताए ।

उपमहानगरपालिका–१९ मा रहेको फुटाह ताल पनि १५ लाख बराबरको लगानीमा सफा गरिएको उनले सुनाए । झन्डै चार बिघा जग्गामा रहेको तालमा भने व्यावसायिक रूपमा माछा पाल्ने र पदमार्ग बनाउने ड्रिम प्रोजेक्ट रहेको छ । बाँकेको छिमेकी जिल्ला बर्दियामा बढैयाताल छ । देशकै सबैभन्दा धेरै माछा उत्पादन हुने बढैयाताललाई पर्यटकीयस्थलका रुपमा बिस्तार गर्ने योजना बनाएको छ ।

नेपालगन्जमै निजी लगानीमा मेरो प्लानेट फनपार्क लगभग सन्चालन भइसकेको छ । बिश्वस्तरकै उक्त फनपार्कमा अहिले पनि अवलोकन गर्न जानेको सख्या धेरै छ । अन्य दुईवटा फनपार्क सन्चालनको तयारीमा छन् ।

सामाजिक क्षेत्रका अगुवा पशुपति दयाल मिश्र अब नेपालगन्जमा आन्तरिक पर्यटकका लागि कहाँ घुम्न जाउँ भन्ने अवस्था नरहेको बताउँछन् । घुमघामका लागि पर्याप्त पूर्वाधार तयार भएको मिश्रले बताए । पूर्वाधार निर्माणसंगै आन्तरिक पर्यटक प्रर्बधनका कार्यक्रम अघि बढाइने बछाउँछन्, नेपालगन्जका मेयर धवल शम्सेर राणा । आन्तरिक मात्र नभई क्रस बोर्डर टुरिजम समेत प्रर्बधन गर्ने गरी अगाडी बढ्ने योजना रहेको उनले सुनाए ।

प्रकाशित मितिः     ११ कार्तिक २०७७, मंगलवार १८:००  |