बहसमा बाँकेलाई आर्थिक राजधानी !


नेपालगन्ज :  प्रदेशको राजधानी र नामाकरण भइसकेपछि नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्जलाई आर्थिक राजधानी बनाउन मुद्दा अघि सारेको छ ।

संघले प्रदेश ५ को राजधानी दाङ्ग जिल्लाको भालुवाङ्ग र प्रदेशको नाम लुम्बिनी तोक्ने प्रदेश नं. ५ मन्त्रीपरिषदको निर्णयको आलोचनात्मक स्वागत गरेको हो । प्रदेश संसदमा निर्णायार्थ पेश गरिएको उक्त प्रस्तावका विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै संघले अब आर्थिक राजधानी भने बाँकेमा बनाउनुपर्ने जोडदार माग गरेको

संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी र महासचिव चिरञ्जीवी ओलीले बिज्ञप्ती जारी गर्दै पश्चिम नेपालको केन्द्र नेपालगन्ज, प्रदेशको राजधानी हुन सबै प्रकारले योग्य हुँदाहुँदै पनि यसलाई नजरअन्दाज गरिएको उल्लेख गरेका छन् ।

संघ लगायत बाँकेबासीले प्रदेश संरचना निर्माणको बहस शुरु हुँदादेखि हालसम्म नेपालगन्जलाई राजधानी बनाउनुपर्छ भनि संघर्ष गरेको स्मरण गरेको छ ।

संघका बरिष्ठ उपाध्यक्ष आदेश अग्रवाल भन्छन्–प्रदेश संसदले नाम र राजधानीको टुङ्गो लगाउँदै गर्दा फेरी पनि राजनीतिक नेतृत्वहरुको ध्यानार्कषण गराउन चाहान्छौ,– नेपालगन्ज राजधानी नहुनु पर्ने कुनै कारण थिएन ? तर किन बनाइएन् ? उहाँहरु माथि नेपालगन्ज पटक–पटक यो प्रश्न सोधिरहने छ ।’

राजधानीका सम्बन्धमा बाँकेबासीले अपेक्षा गरेको नेपालगन्ज राजधानी नभएता पनि विकल्प मध्यको सबैभन्दा पायक पर्ने भनेको भालुवाङ्ग नै भएको संघले प्रदेश राजधानीका लागि भालुवाङ्गलाई समर्थन जनाउँदै गर्दा बाँके र बर्दियाबासीका मनमा रहेका अनेकौ असन्तुष्टि, आफ्नो क्षेत्रको विकासका सम्बन्धमा व्यक्त गरिने चासो र चिन्ता यथावत रहेको जनाएको छ ।

संघले राजनीतिक, प्रशासनिक र विकासको सन्तुलनले मात्र त्यस्ता चासो, चिन्ता एवं असन्तुष्टीको अन्त्य हुने भएकाले बेलैमा गम्भीर बन्न राजनीतिक नेतृत्वलाई अनुरोध गरेको बरिष्ठ उपाध्यक्ष अग्रवाल बताउँछन् ।

प्रदेशको नाम र राजधानीका सम्बन्धमा अन्तिम निर्णय गर्दै गर्दा प्रदेश सरकारले साविक राप्ती अञ्चलमा राजधानी र साविक लुम्बिनी अञ्चललाई वित्तीय एवं पर्यटकीय राजधानी बनाउने निर्णय गरेको भनि आएका विषय प्रति गम्भीर ध्यानार्कषण भएको जनाउँदै साविक भेरी अञ्चलमा रहेका बाँके, बर्दियालाई नजरअन्दाज गरि गरिने यस्ता निर्णयले थप असन्तुष्टि बढाउने हुँदा गम्भीर बन्न नेतृत्वलाई अनुरोध गरेको छ ।

उपाध्यक्ष अमित बस्नेत भन्छन्–‘नेपालगन्जमा पटक पटक केन्द्रिय नेतृत्व आएर बाँकेलाई औद्योगिक राजधानी हो अथवा बनाउने हो भनि विश्वास दिदै गर्दा साविक लुम्बिनी अञ्चललाई वित्तीय एवं पर्यटकीय राजधानी बनाउने र बाँकेको नेपालगन्जलाई औद्योगिक राजधानी बनाउन किन नहुने ?’ यी र यस्ता निर्णयले बाँके र बर्दियालाई अर्को चिन्ता थपेको संघले जनाएको छ ।

पश्चिम नेपालको ‘ट्रान्जिट’ बाँकेमा ठुला औद्योगिक समूहको आर्कषण बढेको यि उदाहरणले पुष्टि गर्छ । राज्यको पुर्नसंरचनासंगै बाँकेले (केन्द्रमा नेपालगन्ज) प्रशासनिक र राजनैतिक शक्ति गुमाएको छ । तर पश्चिम नेपालको ‘आर्थिक हब’ बन्ने दौडमा भने उत्साह थपेको छ । पूर्वमा मात्र केन्द्रीत उद्योगहरु एकपछि अर्को गर्दै बाँकेमा खुल्न थालेका छन् । राजनीतिक स्थिरता पछि देशभर लगानीको वातावरण बन्दै गएको छ । त्यसको प्रत्यक्ष फाईदा बाँकेलाई भएको छ भन्दा फरक पर्दैन ।

ठूला उद्योग स्थापना हुन थालेपछि बाँके लगानीका लागि अब्बलक्षेत्र हो भन्ने सन्देश देशभर प्रवाह भएको नेपालगन्ज उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अग्रवाल बताउँछन् । पुराना उद्योग पुनस्र्थापना भएको र नयाँ स्थापना हुनेक्रम तीव्र गतीमा बढेको छ । स्थानीयदेखि देशका ठूला र नाम चलेका औद्योगिक समूह लगानी गर्न हौसिएका छन् । ‘राजनीतिक स्थिरता र उर्जा लगायतका समस्या समाधान भएपछि लगानीको उत्साह थपिएको छ । बाँके औद्योगिक हबका रुपमा विकास भइरहेको छ,’ उनी भन्छन् । बाँके जिल्ला लगानीकर्ताका लागि आफैमा सुनौलो ठाउँ भएको संघका उपाध्यक्ष बस्नेत बताउँछन् ।

राजनीतिक अस्थिरता र उर्जा लगायत समस्याले लगानीकर्ता आउन हिच्किचाए पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्य प्रवेशद्वारा बाँके भएकोले पछिल्लो समय ठूला लगानीकर्ता आकर्षित भएको उनले बताए । ‘अहिले अवस्था सुध्रिएको छ । एकपछि अर्को ठूलो उद्योग खुल्ने क्रम जारी छ, बस्नेतले भने, ‘यो वातावरणलाई संधै यस्तै बनाईराख्न जरुरी छ ।’

बाँकेमा उद्योग संचालनका लागि जय अम्बे स्टील, सगरमाथा स्टील इण्डष्ट्रिज, नेपाल वेलहोप एग्रीटेक प्रालि, गोल्डेन गेमिङ्ग इन्टरनेशन क्यासिनो, वर्षा रिसाईक्लिङ्ग ईण्डष्ट्रिज, विकास फ्लोर मिल र भिभो मोवाइल नेपाल प्रालिको सर्भिस सेन्टरले अनुमति पाएका थिए ।
अनुमति पाएका मध्ये अधिकांस उद्योग संचालनमा छन् ।

केही उद्योगले पूर्वाधार निर्माणको कार्य अन्तिम चरणमा पुगेको जनाएका छन् । केही महिनामा पूर्वाधार निर्माणको काम सक्ने उद्योगीले जनाएका छन् । उद्योग बिभागका अनुसार आर्थिक वर्ष ०७३र ०७४ भन्दा आर्थिक वर्ष ०७४र०७५ मा बाँकेमा ठुलो उद्योग स्थापनासंगै लगानीमा पनि तीब्र बिस्तार भएको छ ।


आर्थिक वर्ष ०७३र०७४ मा बाँकेमा चार वटा उद्योग स्थापना भएका थिए । ती उद्योगमा ५६ करोड हाराहारीमा लगानी भित्रिएको थियो । सातवटा उद्योगबाट जम्मा एक सय ४२ जनालाई रोजगारी सिर्जना भएको थियो । तर आर्थिक वर्ष ०७४र०७५ मा बाँकेमा उत्साहजनक लगानी भित्रिएको उद्योग बिभागको तथ्यांकबाट पुष्टि हुन्छ । गत आर्थिक वर्ष बिभागमा दर्ता भएका सात उद्योगले जिल्लामा ७ सय ८२ जनालाई प्रत्यक्षरुपमा रोजगारीको वातावारण सिर्जना गरेका छन् ।

यसकारण बाँकेमा लगानी गर्ने

संघीयता पछि बनेको कर्णाली र सुदूरपश्चिम प्रदेशलाई आवश्यक पर्ने सामग्री पठाउने उपयुक्त ठाउँ बाँके भएको छ । ति दुई प्रदेशसँगै लुम्बिनी प्रदेशलाई चाहिने बस्तुको हिस्सा ओगट््न कुनै पनि उद्योगले बाँकेमा औद्योगिक प्लान्ट राख्नै पर्ने बाध्यता भएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा दैनिक जसो हरेक उत्पादनको बजारक्षेत्र बढ्दै गएको छ । विकास निर्माण तीव्ररुपमा भइरहँदा निर्माणका सामग्रीको माग ह्वात्तै बढेको छ ।

पहाडी र हिमाली क्षेत्रमा बढ्दै गएको शहरीकरणले उपभोग्य सामग्रीको बजार थपिदैछ । त्यस्तो अवस्थामा पूर्वमा उत्पादन भएका सामग्री पश्चिममा ल्याएर बिक्री गर्दा ढुवानी धेरै रकम खर्चिनु भन्दा यही उद्योग खोलेर उत्पादन गर्नु उद्योगीका लागि दीर्घकालिनरुपमा फाईदाजनक हुने देखेर उद्योगीहरु बाँकेका विभिन्न स्थानमा उद्योग स्थापना गर्न तम्सिएको शिखर प्लाईउड प्रालिका प्रोप्राइटर चम्पालाल बोथराले बताए ।

ठूलो स्केलमा आफ्ना उत्पादन बिक्री गर्ने र पश्चिममा बजारको राम्रो सम्भावना देखेर उद्योगीले बाँकेलाई उद्योग संचालनका लागि रोजेको उनले बताए । ‘बाँकेमा लगानीकर्ताहरु आकर्षित हुनुको अर्को कारण सहजरुपमा जग्गा प्राप्त गर्न सकिने हो,’ उनले भने, ‘अन्य ठाउँभन्दा सहजरुपमा जग्गा उपलब्ध हुने भएका कारण पनि यहाँ लगानीकर्ताको आर्कषण देखिन्छ ।’

भारतसंग सीमा जोडिएको र एकीकृत भन्सार जाँच चौकी निर्माणको क्रममा रहेकोले बाँकेलाई उद्योगीले रोज्न थालेको हुन । नेपाल–भारत जोड्ने रेल र पूर्व–पश्चिम रेल संचालनमा आए त्यसले आयात निर्यातमा समेत फाइदा पुग्ने दूरदृष्टि राखेर यहाँ उद्योग संचालन गर्न उद्योगीहरु बाँकेलाई उपयुक्त स्थानको रुपमा देखेको परेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशलाई मध्यनजर गरि सरकारले बाँकेको नौवस्तामा प्रदेश ५ कै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र निर्माणको काम शुरु गरिसकेको छ ।

आर्थिक हब बनाउन मुख्य मन्त्रीको प्राथमिकतामा

नेपालगन्जलाई आर्थिक हब बनाउन उच्च प्राथमिकतामा राखेको छ । नौवस्ता औद्योगिक क्षेत्र यसैको एउटा उदाहरण हो । मुख्यमन्त्री शंकर पोख्रेलले नेपालगन्जलाई आर्थिक हब बन्न कसैले नरोक्ने बताउँदै आउनुभएको छ । प्रदेश सरकारले कृषि र औद्योगिक विकासलाई महत्वका साथ अगाडी बढाईरहंदा बाँकेले त्यसको प्रत्यक्ष लाभ लिने निश्चित छ ।

प्रदेश सरकारकै पहलमा बन्न लागेको ओद्योगिक क्षेत्रको काम सम्पन्न हुँदा थप उद्योग भित्रिने निश्चित छ । आर्थिक सम्मेलनमा पहिलो पटक नौवस्ता औद्योगिक क्षेत्रलाई सोकेसमा समावेश गर्न सक्नु पनि आफै ठुलो कुरा हो । प्रदेश सरकारले औद्योगिक विकासका लागि बिभिन्न छुट, औद्योगिक ग्राम निर्माण जस्ता बिषयलाई बजेटमा समावेश गरेकाले आगामी दिनमा उद्योगको संख्या झनै बढ्ने छ ।

प्रदेश सरकारको नौवस्ता औद्योगिक क्षेत्र र केन्द्र सरकारले ओद्योगिक करिडोर निर्माणको नीति लिएकाले झनै उत्साह थपेको छ । कृषि, पर्यटन र औद्योगिक विकास गरेर प्रदेशलाई अब्बल बनाउने मुख्यमन्त्री सोंच कार्यान्वयनमा आउँदा बाँकेले त्यसको प्रत्यक्ष लाभ लिने निश्चित छ छ । बाँकेले आश गरेको यही हो ।

केन्द्र सरकारको नीति पनि आश लाग्दो

संघीय सरकारले आ.व २०७६र २०७७ को बजेटमा पनि बाँकेलाई औद्योगिक विकासका लागि केही नीतिगत बिषयलाई समावेश गरेको छ । जमुनाह कोहलपुर ओद्योगिक करिडोर बनाउने कुराले यहाँ उत्साह थपेको छ ।

 

प्रकाशित मितिः     १४ कार्तिक २०७७, शुक्रबार ०८:४७  |
error: Content is protected !!