डा राहुल थापाको अनुरोध-प्लाज्मा दिनुहोस्, शरीरलाई कुनै समस्या हुँदैन


यदि तपाईं कोरोना भाइरस संक्रमणबाट पूर्णरुपले निको हुनुभएको छ भने, कोरोना भाइरस संक्रमणसँग लडिरहेका अन्य बिरामीहरूलाई प्लाज्मा दान गरेर मद्दत गर्न सक्नुहुनेछ।
तपाईंले संक्रमणसँग लड्नुभयो, त्यसैले तपाईंको प्लाज्मामा कोरोना भाइरस विरुद्ध प्रतिरोधी क्षमता अर्थात एन्टिबडीहरू छन्। यी एन्टिबडीहरूकै कारण तपाईंको प्रतिरक्षा प्रणाली बलियो बन्यो र तपाईले भाइरस संक्रमणलाई जित्न सफल हुनुभयो ।
यस प्लाज्माले गम्भीर प्रकृतिका भाइरस संक्रमितको उपचार मा मद्दत गर्दछ। आफु त हामी कोभिडबाट निको भयौं अव आफुजस्तै संक्रमित भएर गम्भीर अवस्थामा पुगेकाहरुलाई बचाउँने मानविय धर्म निभाउने जिम्मेवारी पनि तपाई हाम्रो हो।
दुर्भाग्यवश, कोरोना भाइरसबाट निको भएका धेरै व्यक्तिहरू प्लाज्मा दान गर्न अझै पनि खुलेर अगाडि आउँदैनन् । व्यक्तिहरूको आफ्नै आशंका र प्लाज्मा दान बारेमा भ्रम छ। कतिपयले प्लाज्मा दान गर्दा शारिरीकरुपमा कमजोर भइन्छ भन्ने बुझाइ छ । त्यो एकदम गलत हो ।
प्लाज्मा दिदैमा शरिर कमजोर हुने वा शरीरलाई कुनै हानि हुँदैन ।
अर्को कुरा, प्लाज्मा दिँदा फेरी पीसीआर परीक्षण गर्नुपर्ने र पोजेटिभ भए फेरि आइसोलेसनमा बस्नु पर्ने हुन्छ भन्ने बुझाइ छ । त्यो पनि गलत हो, रिपोर्ट पोजेटिभ नै आएपनि अस्पताल तथा संस्थागत आइसोलेसनमा बस्नु पर्दैन घरमै बस्न पाइन्छ । बाँकेमा आजसम्म कोरोना भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या २ हजार ७ सयको हाराहारीमा पुगेको छ ।
तर प्लाज्मा दिनेको संख्या ४० को हाराहारीमा मात्रै छ ।
हामी कोरोना भाइरसबाट निको भएका सबैलाई प्लाज्मा दान गर्न अनुरोध गर्दछौं।
प्लाज्मा दान गर्नुहोस्, जीवन बचाउनुहोस् र एक नायक बन्नुहोस्
प्रकाशित मितिः     १५ कार्तिक २०७७, शनिबार २०:०६  |