के हो संयुक्त घरकर्जा ? दुई जनाको नाममा ऋण लिँदा के फाइदा हुन्छ ?


संयुक्त घरकर्जा दुई वा दुईभन्दा बढी व्यक्तिले सामुहिक रुपमा लिन सकिन्छ । यस्तो ऋण परिवारको कुनै सदस्यसँग मिलेर लिन सकिन्छ । पती–पत्नी, आमा–बुवा, भाई–बहिनी वा छोरा–छोरी संयुक्त घरकर्जामा सामेल हुन सक्छन् ।

घरकर्जा लिन लागेको व्यक्तिको इच्छा वा उसको उमेरका कारण संयुक्त रुपमा ऋण लिने हो ।

मुख्यतः संयुक्त घरकर्जा लिनुका २ कारण हुन्छन– पहिलो एउटा व्यक्तिको आम्दानीले किस्ता तिर्न नपुग्नु, दोस्रो उमेरका कारण लोन लिने अबधि लामो बनाउन नसक्नु ।

नेपालका बैंकहरुले आ–आफ्नो नीतिअनुसार ६० देखि ७० वर्षसम्म ऋणको अन्तिम किस्ता बुझाईसक्ने गरि ऋण दिन्छन् । धेरैजसो बैंकले उमेरको औषत हदबन्दी ६५ राखेका छन् । यसमा बैंकले आ–आफ्नो तरिकाले उमेर तोकेका हुन्छन् ।

यदि तपाइँको उमेर ६० वर्ष पुगिसकेको छ, तपाइलाई १०र१५ वर्ष अवधिको ऋण चाहियो भने पाउनु हुन्न । तर श्रीमति, भाईबहिनी वा छोराछोरीलाई ज्वइन्ट एप्लिकेन्ट बनाएर ऋण लिन जानुभयो भने बैंकले ऋण दिन्छन् । किनभने, त्यहाँ तपाइँले ज्वइन्ट एप्लिकेन्ट बनाए राखेका व्यक्तिको उमेरले काम गर्छ ।

आफुभन्दा कम उमेरको व्यक्तिसँग संयुक्त घरकर्जा लिएमा ६५ वा ७० वर्षमै ऋण सकाउनुपर्छ भन्ने हुँदैन । त्यहाँ अर्को व्यक्तिको उमेर पनि अन्तिम किस्ता बुझाउँदा ६५ वर्ष नाघ्ने अवस्था भएमा ऋण पाइँदैन । दुई व्यक्तिमध्ये एउटाको उमेरले बैंकले तोकेको उमेर हदबन्दी पार गर्नु भएन ।

यदि पोपर्टी नै संयुक्त नाममा छ भने त्यस्तो अवस्थामा पनि संयुक्त कर्जा लिन सकिन्छ ।

संयुक्त घरकर्जा लिनका लागि बैंकमा अकाउन्ट पनि संयुक्त हुनुपर्छ । ऋण पनि ज्वइन्ट अकाउन्टमै बुक हुन्छ । ज्वइन्ट अकाउन्टमा दुबै जनाको पुरै कागजपत्र चाहिन्छ । यो ऋणको भुक्तानी पनि संयुक्त अकाउन्टबाट हुन्छ ।

र, ऋण समयमा नबुुझाउँदा वा ढिलो हुँदा त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी समेत दुवैले लिनुपर्ने हुन्छ ।

संयुक्त होमलोन दिने समयमा बैंकले दुवै व्यक्तिको आम्दानी पनि हेर्छन् । संयुक्त घरकर्जा एक व्यक्तिलाई दिनेभन्दा अलि बढी नै हुन्छ ।

प्रकाशित मितिः     १६ कार्तिक २०७७, आईतवार ०७:४९  |