काठमाडौं। साना तथा मझौला उद्यमी ब्यवसायीलाई सस्तो ब्याजमा उपलब्ध गराउने ल्याइएको पुनर्कर्जा मंसिरबाट वितरण हुने भएको छ।
नेपाल राष्ट्र बैंकले आइतबार उद्यमी ब्यवसायी, बैंकर र अन्य सरोकारवालाहरुसँग छलफल गर्दै पुनर्कर्जाको आवेदन परिसकेको र त्यसलाई कात्तिकसम्म मिलाएर मंसिरभित्र वितरण गर्ने जनाएको हो।
राष्ट्र बैंकले पहिलो पटक पुनर्कर्जा कार्यविधि सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थालाई एकमुस्ट पुनर्कर्जाका लागि आवेदन दिन भनेको
थियो। असोज मसान्तसम्म आवेदन दिइसक्नु पर्ने समय थियो।
राष्ट्र बैंकका अनुसार ४४ वटा बैंक तथा वित्तीय संस्थाले आवेदन दिएका छन्। उनीहरुले कुल ७२ अर्ब रुपैयाँ पुनर्कर्जा माग गरेका छन्। पुनर्कर्जाको ब्याज दर बढिमा ५ प्रतिशत छ।
राष्ट्र बैंकसँग अहिले ३८ अर्बको कोष छ। यसको पाँच गुणासम्म दिने निर्णय राष्ट्र बैंकले गरिसकेकाले माग अनुसार पुनर्कर्जाका लागि रकम अभाव नहुने सरोकारवालाहरुलाई जानकारी गराइएको छ।
छलफल कार्यक्रममा ब्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाबाट सम्पत्ति लिलामी सुरु भएकाले त्यसलाई रोक्न माग गरेका थिए। गभर्नर महाप्रसाद अधिकारीले कोभिडबाट प्रभावित ऋणीको सम्पत्ति अहिले लिलाम नहुने भन्दै आश्वस्त पारेका थिए। पुसपछि बैंकहरुले ऋण उठाउने प्रक्रिया सुरु गर्ने जानकारी गराइएको थियो।