अजेयराज सुमार्गीद्धारा चौकुने खानी वर्षौंदेखि ‘होल्ड’


कर्णाली : खानी तथा भूर्गभ विभागले विसं २०६६ मा पश्चिम सुर्खेतको चौकुने क्षेत्रमा सिमेन्ट उद्योग सञ्चालनका लागि मुक्तिश्री इण्डस्ट्रिज प्रालिलाई इजाजत दिँदा खुशी थिए, स्थानीयवासी ।

विकासले पिछडिएको क्षेत्रमा ठूलो सिमेन्ट उद्योग सञ्चालनमा आउने भएपछि सडक, विद्युत्को सुविधाका साथै स्थानीयलाई गाउँमै रोजगारी पाउने आशा थियो । कम्पनीले आयोजनास्थलमा सम्पर्क कार्यालय खोलेपछि काम सुरु हुनेमा स्थानीयवासी उत्साही थिए तर इजाजत पाएको एक दशक नाघिसक्दासमेत उद्योग सञ्चालन पूर्वका तयारी नहुँदा चौकुनेवासी खिन्न छन् ।

कम्पनीले काम सुरु गर्ने आश्वासन मात्रै दिएको स्थानीयवासीको आरोप छ । स्थानीय तहको निर्वाचनताका घोषणापत्र सम्झँदै चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले कम्पनीले खानी ‘होल्ड’ गर्ने नियत राखेको बताए ।

गाउँपालिका र प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षकै बजेटबाट खानी क्षेत्रसम्म पहुँच सडक निर्माण गरिसकेको छ । उनका अनुसार कम्तीमा खानी तथा प्लान्ट क्षेत्रको जग्गा अधिग्रहण गरेको भए आयोजना बन्ने टुङ्गो लाग्न सक्थ्यो ।

खानी क्षेत्रका बासिन्दाले जग्गा अधिग्रहणतर्फ कम्पनीले चासो नदिएको बताएका छन् । कम्पनीले कार्यालय खोले पनि उसका प्रतिनिधि प्रायः बस्दैनन् । जसले गर्दा स्थानीयवासी आयोजनाले गति लिनेमा आशङ्का व्यक्त गर्दछन् ।

छनोट गरिसकेको जग्गा अधिग्रहण नगर्दा प्रभावित क्षेत्रका बासिन्दा आक्रोशित बनेका छन् । खानी क्षेत्र चौकुने गाउँपालिकाअन्तर्गत चौकुने, कुवा, खोप्री, थरेलगाउँ, काफलगैरा र ओटपोखरीमा गरी कूल ११ हजार रोपनी क्षेत्रफलमा फैलिएको छ । आयोजनाका लागि कम्तीमा एक हजार ३ सय ८० रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेछ ।

खानी विभागले उद्योग अनुमति पत्रको म्याद पटक–पटक थप्दै आएको छ । सुर्खेतका व्यवसायी, दलका नेताले मुक्तिश्रीले चौकुने खानी क्षेत्र कब्जा गरेको भन्दै पटक–पटक प्रदेश र सङ्घीय सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

अनुमति पाएको १० वर्ष बितिसक्दासम्म प्रगति शून्य भएपछि विभागले पहिलोपटक विसं २०७४ मा लाइसेन्स रद्द गरेको थियो । लाइसेन्स रद्द भएपछि उच्च अदालत पाटनको आदेशमा पुनः नवीकरण गर्न विभाग बाध्य भएको थियो ।

कम्पनीका प्रोजेक्ट को–अर्डिनेटर लोकबहादुर अधिकारीले यसै वर्ष जग्गा अधिग्रहणको काम सम्पन्न गर्ने तयारी भइरहेको बताए ।

कम्पनीका अनुसार प्लान्ट सञ्चालन गर्न १४ मेगावाट विद्युत् आवश्यक पर्दछ ।

खानी विभागले २०३५ देखि २०३९ सालसम्म यहाँको चुनढुङ्गा परीक्षण गरेर सिमेन्ट उत्पादन गर्न योग्य प्रमाणित गरेको थियो ।

कारखाना सञ्चालन गर्न करिब आठ अर्ब लागत लाग्ने अनुमान गरिएको छ । मुक्तिश्रीले दैनिक एक हजार ५ सय देखि पाँच हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको छ । रासस

प्रकाशित मितिः     १८ कार्तिक २०७७, मंगलवार १४:०५  |