डोल्पा जान अनिवार्य पिसिआर, आन्तरिक पर्यटकलाई हैरानी


कोरोना भाइरसको संक्रमण फैलिन नदिन डोल्पा प्रवेशका लागि पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ । पिसिआर रिपोर्ट नभएका आन्तरिक पर्यटकलाई सीमानाकाबाटै फर्काउन थालिएको छ ।

डोल्पामा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रवेशमा कडाइ गरिएको छ । यसका लागि डोल्पा प्रवेश गर्ने सबै नाकामा प्रहरी परिचालन गरिएको छ । प्रहरीले पिसिआर रिपोर्ट नभएका आन्तरिक पर्यटकलाई सीमानाकाबाटै फिर्ता गरिएको छ । केही दिनयता मात्रै खदाङ नाकाबाट २५ जनालाई फर्काएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लाका विभिन्न पर्यटकीय क्षेत्रको अवलोकनका लागि नाकामा पुगेका कतिपय पर्यटक कोरोना परीक्षण रिपोर्टविना नै आउने गरेकाले त्यस्तालाई पर्यटकलाई जिल्ला प्रवेशमा रोक लगाइएको इलाका प्रहरी चौकी करोपगाडले जानकारी दिएको छ ।

देशका प्रायः सबै जिल्लामा कोरोना संक्रमण भए पनि सबैको प्रयासले डोल्पालाई अझैसम्म पनि सुरक्षित राख्न सफल भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए ।

‘जिल्लालाई कोरोनाबाट जोगाउन सीमावर्ती नाकामा कडाइ गरेका छौँ । कोरोना परीक्षण रिपोर्ट नल्याएका पर्यटकलाई फर्काउने गरिएको छ,’ प्रजिअ सुनारले भने, ‘जिल्लाका नागरिकलाई पनि कोरोना परीक्षण रिपोर्टसहित होम क्वारेन्टाइनमा बस्ने सर्तमा मात्रै प्रवेश गर्न दिएका छौँ ।’ त्यस्तै, डोल्पा घुम्न आउने आन्तरिक पर्यटकलाई पनि ७२ घन्टाअघिको कोरोना परीक्षण रिपोर्ट अनिवार्य गरिएको छ ।

‘आफ्नै खर्चमा क्वारेन्टाइनमा बस्ने सर्तमा जिल्ला प्रवेश गर्न दिन सकिन्छ,’ प्रजिअ सुनारले भने, ‘सकभर कोरोना कहरमा आफू पनि सुरक्षित हुने र अरूलाई पनि सुरक्षित राख्नुपर्ने भएकाले यस्तो वेला डोल्पा नआउन आग्रह गर्दछौँ ।’ सडकमार्गबाट मात्रै नभई हवाईमार्गबाट डोल्पा आउने नागरिकलाई समेत सुरक्षाकर्मीको निगरानीमा स्थानीय जनप्रतिनिधिसँग समन्वय गरेर अनिवार्य होम क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको प्रजिअ सुनारले बताए ।

असोज पहिलो साता बसेको सरोकारवालाहरूको बैठकले जिल्ला प्रवेशमा रोक लगाउने निर्णय गरेको थियो । तैपनि, आउने क्रम नरोकिएकाले कोरोना परीक्षण रिपोर्ट अनिवार्य गरिएको हो । पछिल्लो समय आफ्ना मान्छेलाई जिल्ला प्रवेश गराउन मन्त्री, सांसद तथा उच्चपदस्थ व्यक्तिहरूले समेत फोन गर्न थालेपछि नाकामै कडाइ गरिएको जनाएको छ ।

त्यस्तै, केहीले नक्कली रिपोर्ट ल्याएको पनि पाइएको प्रहरीले जनाएको छ । त्यसैले पछिल्लो समय ताजा रिपोर्ट माग्ने, स्वाब दिँदा काटेको रसिद हेर्ने र सम्बन्धित प्रयोगशालामा फोनसमेत गर्न थालिएको छ । पर्यटकीय गन्तव्य डोल्पामा पर्यटकको आगमन बढ्न थालेको छ । विशेष गरेर से–फोक्सुन्डो ताल, फोक्सुन्डो झरना, त्रिपुरासुन्दरी मन्दिर, उपल्लो डोल्पालगायतका ठाउँको अवलोकनका लागि काठमाडौं, पोखरा, नेपालगन्जलगायत देशका विभिन्न सहरबाट सर्वसाधारण आउने गरेका छन् ।

रामचन्द्र न्यौपाने(नयाँपत्रिकाबाट)

प्रकाशित मितिः     २० कार्तिक २०७७, बिहीबार ०७:४२  |