सिक्टामा लापरवाही गर्ने पप्पु सहित तीनवटा ठेकेदार कम्पनी माथि कारवाही थालियो


तस्विर : माउण्टेन टिभी

नेपालगन्ज। बाँकेमा डेढ दशकदेखि निर्माणाधीन राष्ट्रिय गौरवको आयोजनामध्येको सिक्टा सिँचाइ आयोजनाका बिभिन्न काम प्याकेजमा ठेक्का लिएर सम्झौताअनुसार कार्य सम्पादन नगर्ने कम्पनी कारबाहीमा पर्ने भएका छन्।

२५ अर्बको लागतमा २०६३ देखि निर्माणाधीन यो मुलुककै सबैभन्दा ठूलो सिँचाइ आयोजना हो।

डेढ दशकमा निर्माण प्रगति करिब ७० प्रतिशत पुगेको छ। आयोजनाले शनिबार सूचना जारी गर्दै ठेक्का लिएका कम्पनीले आफ्नो व्यवसायिक ख्याति र सामाजिक प्रतिष्ठाको ख्याल नै नराखी लापरवाही गरेको उल्लेख गरेको छ।

सात दिनभित्र सम्पर्कमा आउन आयोजनाले काठमाडौंका पप्पु कन्स्ट्रक्सन, बज्रगुरु कन्स्ट्रक्सन र वीरेन्द्रनगरको अमर-मजदुर जेभीलाई चेतावनी दिएको हो।

निर्माण कम्पनीहरूले सम्झौताको सर्तअनुसार काम नगरेको आयोजनाको सूचनामा जनाइएको छ। निर्धारित अवधिभित्र काम पूरा नगरे नेपाल सरकारको कारबाहीबाट हुने परिणामलाई ध्यानमा राख्न पनि कम्पनीहरूलाई भनिएको छ।

गत आर्थिक वर्ष २०७६र७७ मा पूरा गर्ने लक्ष्य रहेको आयोजना निर्माण कम्पनीहरूको ढिलासुस्तीकै कारण पूरा हुन नपाएको आरोप सरकारी अधिकारीहरूको छ।

४५.२५ किमि लामो पश्चिमी र ५३ किमिको पूर्वी नहरले बाँकेका ४२ हजार हेक्टर जमिनमा सिंचाइका लागि आयोजना निर्माण अघि बढाइएको हो। अहिलेसम्म मूल नहरकै काम पूरा हुन सकेको छैन।

प्रकाशित मितिः     २२ कार्तिक २०७७, शनिबार १६:२६  |