पाँच दिन बैंकहरुका सबै शाखाहरु बन्द हुने,एटीएम पनि सञ्चालन हुने


काठमाडौं। नेपाल बैंकर्स संघले तिहारमा पाँच दिन बैंकहरुका सबै शाखाहरु बन्द हुने जनाएको छ। हरेक दिन कोभिड संक्रमित कर्मचारी बढिरहेको सन्दर्भमा संघले सदस्य बैंकहरुसँग तिहार बिदाका बेला शाखा कार्यालय बन्द गर्ने निर्णय गरेको हो।

सरकारले पनि तीन दिन बिदा दिएको छ। संघले कात्तिक २९ देखि मंसिर १ गतेसम्म बिदा दिने जनाएको छ। यसअघि बैंकहरुले ३६५ दिने काउन्टरबाट सेवा दिँदै आएका थिए। निश्चित अवधिका लागि तिहार बिदाका बेला पनि शाखा खुल्थ्यो।

दसैंमा पनि बैंकहरुले यसैगरी ५ दिन बिदा दिएको थियो। संघका अनुसार, वाणिज्य बैंकहरुका करिब ६ हजार कर्मचारी संक्रमित छन्। संघले डिजिटल बैंकिङ सेवा निरन्तर हुने जनाएको छ। साथै एटीएम पनि सञ्चालन हुनेछ।

संघले संक्रमणबाट जोगिन सर्वसाधारणलाई डिजिटल बैंकिङको प्रयोग गर्न पनि अपिल गरेको छ।

प्रकाशित मितिः     २५ कार्तिक २०७७, मंगलवार १२:५२  |