नेपाल -भारतका मन्त्रीद्धारा संयुक्तरुपमा नेपालगन्ज आइसीपी शिलान्यास, १५ वर्षपछि काम शुरु


नेपालगन्ज । सम्झौता भएको १५ वर्षपछि नेपालगन्जस्थित नेपाल भारत सीमा क्षेत्रमा एकीकृत भन्सार जाँच चौकी (आइसीपी) निर्माण कार्य शुरु भएको छ ।

नेपालका शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र भारतका वाणिज्य एवं उद्योग मन्त्री पियुष गोयलले बिहिवार भिडियो कन्फ्रेन्स मार्फत आइसिपीको शिलान्यास गरेसंगै काम शुरु भएको हो ।

शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठ र गोयलले नेपाल र भारतको विकासका लागि आइसीपी कोशेढुंगा सावित हुने बताएका छन् ।

सहलामो समयको अन्योलपछि आइसीपी निर्माणका लागि राइट्स लिमिटेडलाई परामर्शदाता तोकिएको छ । सन् २००६ मा नेपाल र भारतबीच आइसीपी निर्माणको सम्झोता भएको थियो ।

यस्तै भारतको राजदीप बिल्डकन कम्पनीले निर्माणको जिम्मा पाएको छ । भारतको सहयोगमा विभिन्न नाकामा एकीकृत जाँच चौकी बनाउने सहमति अनुसार नेपालगञ्जमा बल्ल काम शुरु हुन लागेको हो ।

आइसीपीका लागि नेपाल सरकारले भारतको रुपैडिया नाकासँग जोडिएको साढे ९० बिघा जग्गा अधिग्रहण गरी तारवार गर्नुका साथै सुरक्षा पोष्ट समेत स्थापना गरिसकेको छ ।


आइसीपी निर्माणका लागि नेपाल सरकारले गर्नुपर्ने सम्पूर्ण काम पूरा गरेको पाँच वर्षपछि भारत सरकारले निर्माणको प्रकृया अघि बढाएको हो । भारत सरकारको सहयोगमा २ अर्ब ३५ करोड रुपैयाँ लागतमा आइसीपी निर्माण हुनेछ । निर्माण २ वर्षमा पुरा गर्ने लक्ष्य राखिएको छ ।

एकीकृत भन्सार जाँच चौकी परिसरमा भन्सार कार्यालयका साथै पशु क्वारेन्टाइन, अध्यागमन, बैंक, खाद्य प्रविधि, प्लान्ट क्वारेन्टाइन लगायत कार्यालयका साथै एक हजारभन्दा बढी मालबाहक ट्रक पार्किङ गर्ने याडसमेत निर्माण हुनेछन् ।

एकीकृत भन्सार जाँच चौकी निर्माण भएपछि मालवाहक सवारीसाधन जाँचपासमा सहज हुनुका साथै क्वारेन्टाइन, अध्यागमन, खाद्य प्रविधि लगायतका काम छिटो र व्यवस्थित हुनेछन् । आइसीपी निर्माणमा ढिलाइ हुँदा अहिले सडकको दुबै किनारामा मालबाहक गाडी राखेर भन्सार जाँच पास हुँदै आएको छ ।

जाँच चौकीका लागि सरकारले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ जयसपुरमा जग्गा अधिग्रहण गरी मुआब्जावापत नौ करोड चार लाख रुपैयाँ वितरण गरिसकेको छ । आइसीपी निर्माणपछि दुई देशको ब्यापार सहज र व्यवस्थित हुने नेपाली अधिकारीको विश्वास छ ।

भारतले नेपालगन्जसंग सीमा जोडिएको रुपैडियामा २०७५ पुस ३० गतेदेखि नै भन्सार जाँच चौकी निर्माण गरिरहेको छ । करिब २ अर्ब लागतमा सिमावर्ती भारतीय क्षेत्रमा अत्याधुनिक सुविधायुक्त जाँच चौकी निर्माण भइरहेको छ । नेपालतर्फको निर्माणमा भने भारतीय पक्षकै कारण ढिलाइ भएको छ । अब परामर्शदाता र निर्माण कम्पनीका प्रतिनिधि नेपालगन्ज आएर काम शुरु गर्ने तयारी गरेका छन् । शिलान्यास समारोहमा नेपालका प्रतिनिधि सभाका सांसद महेश्वर गहतराज अथक, प्रदेश सांसद बाबुराम गौतम, मोहमद याकुव अन्सारी, नेपालगन्जका मेयर धवल शम्सेर राणा लगायतको सहभागि थियो ।

प्रकाशित मितिः     २७ कार्तिक २०७७, बिहीबार १६:५२  |
error: Content is protected !!