सरकारले तोक्यो प्रिकास्ट निर्माण सामाग्रीको मापदण्ड


काठमाडौं। प्रिकास्ट कंक्रिटका निर्माण सामग्रीहरु उत्पादकले अब गुणस्तरको मापदण्ड समेत पूरा गर्नुपर्ने भएको छ ।

सरकारले यस्ता निर्माण सामग्री उत्पादनमा पहिलोपटक मापदण्ड निर्धारण गरेसँगै अब जथाभावी प्रिकास्ट कंक्रिटका सामान उत्पादन गर्न नपाइने भएको हो ।

नेपाल गुणस्तर तथा नापतौल विभागले प्रिकास्ट कंक्रिटका निर्माण सामग्रीहरुका लागि तय गरेको मापदण्डबाट यसका उपभोक्ताले गुणस्तरको लाभ पाउनेछन् ।

विभागले तयार पारेको उक्त मापदण्ड उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको अध्यक्षतामा गत कात्तिक २६ मा बसेको नेपाल गुणस्तर परिषद्को बैठकले पेभिङ, कर्भ स्टोनलगायतका विभिन्न कंक्रिट प्रिकास्ट प्रडक्टहरुको स्पेसिफिकेसन स्वीकृत गरेको हो।

स्थानको बनोट, सवारीसाधन आवतजावत संख्या र वजन लगायतका विविध पक्षलाई आधार बनाएर सरकारले प्रिकास्ट कंक्रिट स्पेसिफिकेसन तय गरेको छ। सरकारले प्रिकास्ट कंक्रिट अन्तर्गत पेभिङ ९ब्लक्स०, कर्भ्स, च्यानल्स्, एजिङ्स, क्वाड्रयान्ट्स र गट्टर एप्रोन्सको मापदण्ड तय गरेको हो।

यस्ता सामग्रीहरु नेपालमा ठूलो लगानीसहित एसियन कंक्रिटो, जगदम्बा कंक्रिटो, एरोब्रिक्स्, गोर्खा प्रिकास्टलगायतका कम्पनीहरुले उत्पादन गरिरहेका छन् । अन्य साना(ठूला गरि देशैभर सयौंको संख्यामा प्रिकास्ट कंक्रिटका सामाग्रीहरु उत्पादक छन्।

कंक्रिट प्रडक्टहरुको गुणस्तर तय गर्ने कुनै मापदण्ड नहुँदा कस्तो सामाग्रीको प्रयोग भइरहेको छ वा हुन्छ भन्नेबारे हालसम्म अन्योलकै अवस्था छ । ठूलो लगानीका पूर्वाधार निर्माणमा प्रयोग हुने यस्ता सामाग्रीहरुको मापदण्ड नहुँदा गुणस्तरहीन काम भएका थुप्रै उदाहरणहरु छन्। पूर्वाधार निर्माण गरेको छोटो समयमै ब्लकहरु फुस्किने, पानी लिकेज हुने, भारवहन क्षमता थेग्न नसकेर ब्लक फुट्नेलगायतका विविध समस्याका कारण बजेट खेर गइरहेको छ।

यिनै समस्याको निराकरण गर्ने उद्देश्यले सरकारले प्रिकास्ट कंक्रिट प्रडक्टका लागि स्पेसिफिकेसन निर्धारण गरेको जनाएको छ।

यी उत्पादनमा सरकारले मापदण्ड स्वीकृत गर्नु स्वागतयोग्य काम भएको प्रिकास्ट कंक्रिट उत्पादक कम्पनीहरुले जनाएका छन्। ुसरकारले तय गरेको मापदण्डले स्तरीय कंक्रिट प्रडक्टको प्रयोग बढ्ने देखिन्छ । यसले निर्माणको क्षेत्रमा परिवर्तन ल्याउँछ । यसकारण निकै आवश्यक मापदण्ड सरकारले स्वीकृत गरेको छ,ु प्रिकास्ट कंक्रिटका सामग्रीहरु उत्पादन गर्दै आएको कम्पनी एसियन कंक्रिटोका अध्यक्ष राजेशकुमार अग्रवाल भन्छन् ।

मापदण्डको अभावमा ठेकेदारहरुले गुणस्तरहीन सामाग्री प्रयोग गर्नेदेखि आकार नमिलेका ब्लक प्रयोग गर्ने गरेका छन्। तर, अब मापदण्डविपरित सामाग्री उत्पादनदेखि प्रयोग गर्नेमाथि सरकारले कारबाही गर्ने ढोका खुलेको छ।

यसले गर्दा गुणस्तरीय सामाग्रीको प्रयोगले विकासका काम टिकाउ र स्तरीय हुने स्वयम् उत्पादकहरुको भनाइ छ। मापदण्ड कायम नगरेका उद्योगहरुले अब उत्पादन अपग्रेड गर्नु वा बन्द गर्नुबाहेकको विकल्प नरहेको विभागले जनाएको छ।

नेपालमा विगत चार दशकदेखि निर्माणमा कंक्रिट प्रडक्टहरु प्रयोग भइरहेका छन्। कंक्रिट प्रडक्टहरुको मापदण्ड विगत छ दशकअघि नै युरोपेली देशहरुले कार्यान्वयनमा ल्याइसकेको सम्बद्ध जानकारहरुले बताएका छन्। तर नेपालमा भने यो आइसकेको थिएन ।

नेपाल सरकार एक्लैले सडक पूर्वाधारमा न्यूनतम वार्षिक तीन लाख मेट्रिट टनभन्दा बढी प्रिकास्ट कंक्रिटका सामाग्री खपत गर्ने उत्पादकहरुले बताएका छन्। अन्य परियोजना साथै निजी क्षेत्रबाट हुने खपतको एकीकृत तथ्यांक भने कुनैपनि निकायसँग उपलब्ध छैन।

मापदण्डले प्रिकास्ट कंक्रिटका सामाग्रीहरुमा तोकेको मापदण्ड यस्तो छः


पेभरको स्ट्रेन्थ एम३० देखि एम५५ कायम
सरकारले बनाएको मापदण्डमा पाँचदेखि १२ सेन्टिमिटर मोटाइसम्मको इन्टरलक पेभर उत्पादन र प्रयोग गर्न सकिने प्रावधान बनाइएको छ। पाँच सेन्टिमिटर मोटाइ भएको इन्टरलक पेभरको स्ट्रेन्थ ९भारवहन क्षमता० एम३० र १२ एमएमको स्ट्रेन्थ एम५५ सम्म हुनुपर्ने मापदण्ड तय गरिएको छ। यही मापदण्ड भारतका साथै युरोपेली देशहरुमा कार्यान्वयनमा रहेकाले नेपाल सरकारले तय गरेको मापदण्ड यी देशहरुकै अनुभवलाई आधार बनाएर ड्राफ्ट गरिएको जानकारको भनाइ छ।

कंक्रिटिङ गर्नु साटो फुटपाथ एवम् पैदलयात्री हिँड्ने बाटोमा पाँच सेन्टिमिटर र बस टर्मिनल, सुख्खा बन्दरगाहलगायतका क्षेत्रमा १० सेन्टिमिटरको मोटाइको पेभमेन्ट प्रयोग गर्न सकिने एसियन कंक्रिटोका उपाध्यक्ष श्यामल झाले जानकारी दिए। ब्लकहरुको मोटाइले त्यसको भारवहन क्षमता तय गर्छ। सामाग्रीको प्रयोग त्यसको मोटाइअनुसार निश्चित स्थान लागि उपयुक्त हो वा होइन यकिन गर्नुपर्नेमा झाको जोड छ।

ठेकेदारले साइटमै सामाग्री बनाउने प्रवृत्ति हट्ने
कुनै मापदण्ड नहुँदा ठेकेदारहरुले साइटमै कंक्रिटका सामाग्री तयार गर्ने गरेका छन्। कुनै प्राविधिक ज्ञान र प्रविधिविना बन्ने त्यस्ता कंक्रिट सामाग्रीको प्रयोग हट्ने अपेक्षा गरिएको छ।

ठूला परियोजनालाई आवश्यक पर्ने कंक्रिटका गुणस्तरीय सामाग्रीलाई पन्छाउँदै ठेकेदारहरुले साना तथा मझौला उद्योगबाट ल्याएर वा आफैं उत्पादन गरी प्रयोग गर्ने गरेका छन्। यसरी प्रयोग गरिने कंक्रिटका सामाग्रीको गुणस्तर न्यून हुनुका साथै प्रयोजन सुहाउँदो नहुने भएकाले चाँडै फुट्ने र बिग्रिने गरेका छन्।

अब भने ठेकेदारहरुले सरकारले तोकेको मापदण्डअनुसारकै सामाग्री प्रयोग गर्नुपर्ने भएकाले गुणस्तरीय प्रडक्ट प्रयोग हुने सम्भावना बढेको छ।

सात मिटरभन्दा कम चौडाइका सडकमा उपयुक्त
कालोपत्रे वा ढलानको साटो कंक्रिट ब्लकहरुको प्रयोग गर्न सकिने उत्पादकहरुको भनाइ छ। चितवनको भरतपुर महानगरभित्रका सामुदायिक सडकको उदाहरण दिँदै झाले भने, त्यहाँको सडकमा ढलान वा कालोपत्रे नगरी सधैं प्रिकास्ट कंक्रिट ब्लकको प्रयोग हुने गरेको छ।

ढल, खानेपानीका पाइप, टेलिफोनलगायतका तार जडान र मर्मतसम्भार भन्दै पटक पटक सग्लो सडक खन्ने प्रवृत्तिका कारण साना तथा सामुदायिक सडकहरुमा प्रिकास्ट कंक्रिट ब्लकहरुको प्रयोग किफायती हुने झाले दाबी गरे। यस्ता निर्माण सामाग्री सात मिटरभन्दा कम चौडाइका सडकमा प्रयोग गर्न सके खर्च र समय दुवैको वचत हुने उनले बताए।

भरतपुरसँगै लुम्बिनी विकास कोष परिसर, बुटवल उपमहानगर, पोखरा महानगर, काठमाडौं उपत्यका भित्रका स्थानीय तहमा इन्टरलक कंक्रिट ब्लकको प्रयोगले सडक निर्माण गरिएका छन्। तर अहिलेसम्म मापदण्ड नहुँदा यी स्थानहरुमा कस्तो गुणस्तरका सामाग्रीको प्रयोग भयो भन्ने स्पष्ट लेखाजोखा छैन।

ढुवानी खर्च र चर्को भन्सार दरका कारण भारत वा अन्य देशहरुबाट प्रिकास्ट कंक्रिटका सामाग्रीहरुको आयात निकै महँगो र अव्यवहारिक हुने पनि स्वदेशी उत्पादकहरुले बताएका छन् । भारतबाट एक सय रुपैयाँको प्रडक्ट नेपाली बजारमा ल्याउनु पर्दा ढुवानी खर्च र भन्सार जोड्दा मूल्य झण्डै दोब्बर हाराहारी पुग्ने अनुमान छ ।

भारतमा कम संख्यामा मात्रै प्रिकास्ट कंक्रिट उद्योगहरु रहेका कारण नेपाली उत्पादकहरुले सीमा नजिकका भारतीय बजारहरुमा उत्पादन निर्यात गर्न सक्ने अवसर रहेको एशियन कंक्रिटोका झाले बताए।

औद्योगिक क्षेत्र, वेयर हाउस, पार्किङ एरिया तथा भारवहन क्षमता बढी चाहिने अन्य स्थानहरूमा प्रयोगका लागि पेभिङ ब्लक उपयुक्त मानिन्छ। कंक्रिट प्रिकास्ट पेभिङ र कर्ब ब्लक को प्रयोग सडक, फुटपाथ, आँगन, पार्क, पार्किङस्थल इत्यादि स्थानहरुमा प्रयोग हुने गरेको छ।

यस्तै, प्रिकास्ट च्यानल ड्रेनेज निकासमा प्रयोग हुने गरेको छ। एजिङ्सले पेभमेन्टको किनारलाई सपोर्ट दिन्छ। क्वाड्रयान्ट्सले एजिङलाई चिटिक्क फिनिस दिने काम गर्छ भने गट्टर एप्रोनबाट सडकमा जमेको पानी ढलमा पठाइन प्रयोग गरिन्छ।

प्रकाशित मितिः     २८ कार्तिक २०७७, शुक्रबार १६:२४  |
error: Content is protected !!