नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको सद्भाव झल्काउँने तिहार


नेपालगन्ज सद्भावको शहर हो । हिन्दु, मुस्लिम, बौद्ध तथा इसाई धर्म मान्ने धर्मावलम्बीहरु नेपालगन्जमा मिलेर बसेका छन । सबैको राम्रो भाइचारा सम्बन्ध छ ।

सबै धर्म मान्ने धर्मावलम्बीहरुले एक अर्काका चाडपर्वहरु मिलेर मनाउने गरेका छन । धर्म विशेष पर्वमा अन्य धर्म मान्नेहरु सरिक भएर धुमधामका साथ रमाइलोका साथ पर्व मनाउने गर्दछन ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी मुस्लिम धर्मावलम्बी हुन । तर, उनले बर्षौदेखि हिन्दुहरुको चाड तिहारमा भाइटीका लगाउँदै आएका छन । यसबर्ष पनि उनले धर्म बैनीको हातबाट भाइटीका लगाए । बैनीको हातबाट भाइटीका लगाए पश्चात् उनले आफ्नो फेसबुकमा टीका लगाउँदै गरेका तस्वीरहरु पोष्ट गरेका छन ।

‘सबै धर्म र समुदायको सम्मान गर्नुपर्छ, एक अर्काका चाडवाड सबैले मिलेर मनाउँदा आत्मसन्तुष्टि मिल्छ, आत्मीयता र बिश्वास बढ्छ । भाइचारा सम्बन्ध अझ गढिलो हुन्छ ।’ उनले भने,’ मैले २०औं बर्ष अघिदेखि भाइटिका लगाउँदै आएको छु ।’

तिहारमा मात्र नभएर उनले धर्म बैनीको परिवारसङ्ग हरेक बर्ष दशैमा टीका समेत लगाउँदै आएका छन । अन्य धर्म समुदायको चाडपर्व मिलेर मनाउँदा उनिहरुको धर्म, संस्कार, रितिरिवाज तथा संस्कृति बुझ्ने मौका मिल्ने उनको बुझाई छ ।

नेपालगन्जमा मुस्लिम समुदायले हिन्दुको चाड मात्र मनाउने नभएर हिन्दु समुदायले पनि मुस्लिमको चाड मनाउने गर्दै आएका छन । मुस्लिम समुदायको चाड मोहर्रम पर्वमा हिन्दु समुदायले व्रत बसेर ताहजिया राखेर चाड मनाउँदै आएका छन ।

पछिल्लो समयमा नेपालगन्जमा हिन्दु र मुस्लिम लगायतका समुदायका चाडपर्वहरु सबैले मिलेर मनाउँदै आएको पाइएको छ । यी पर्वहरु सद्भावको पर्वको रुपमा स्थापित हुँदै गएका छन ।

प्रकाशित मितिः     १ मंसिर २०७७, सोमबार २०:३४  |