साउनयता ८१ उद्योग दर्ता, साढे ५७ अर्ब लगानीको प्रतिवद्धता


काठमाडौं। चालु आर्थिक वर्षको चार महिनामा उद्योग विभागमा जम्मा ८१ वटा उद्योग दर्ता भएका छन्।

कोभिड-१९ को असरले नयाँ लगानीको वातावरण प्रतिकुल बन्दा यो वर्ष अघिल्लो आर्थिक वर्षको समान अवधिको तुलनामा झन्डै ३७ प्रतिशतले कम संख्यामा उद्योग दर्ता विभाग भएको छ । गत आवको पहिलो चार महिना (कात्तिक मसान्तसम्म) मा एक सय २८ उद्योग दर्ता भएको विभागको आँकडा छ ।

गत वर्ष फागुनदेखि कोभिड-१९ संक्रमण बढ्न थालेपछि नयाँ लगानीमा प्रतिकुलताको स्थितीले थपिने उद्योगको संख्या पनि न्यून देखिएको विभागले जनाएको छ ।

चालु वर्षको कात्तिक मसान्तसम्ममा १५ वटा ठूला उद्योग दर्ता भएका छन्। यस्तै, मध्यम स्तरका १६ वटा र ५० वटा साना उद्योग दर्ता भएको देखिएको छ। यी उद्योगहरुमा कुल ५७ अर्ब ६१ करोड लगानीको प्रतिवद्धता आएको विभागको रेकर्डबाट देखिएको छ ।

यो लगानी प्रतिवद्धता गत वर्षको पहिलो चार महिनाको भन्दा ३९ अर्ब रुपैयाँले बढी हो । गत वर्ष समान अवधिमा १८ अर्ब ६६ करोड रुपैयाँबराबरको मात्र लगानी प्रतिवद्धता आएको थियो । यद्यपि, ठूलो लगानी आवश्यक पर्ने १२ जलविद्युत कम्पनी दर्ता भएकाले लगानी प्रतिवद्धता रकम बढेको देखिए पनि यो अवधिमा उद्योग संख्या भने ४७ वटाले कम दर्ता भएको छ ।

यो अवधिमा ३१ वटा विदेशी लगानी स्वीकृत भएका छन् भने स्वदेशी र विदेशी संयुक्त लगानीका ६ उद्योग छन्। यस्तै, स्वदेशी ४४ वटा स्वदेशी लगानी स्वीकृत भएका छन्।

यस्तै, पछिल्लो चार महिनामा दर्ता भएका सबै उद्योगले गरी कुल ४९७९ जनालाई रोजगारी दिने जनाएका छन् । पोहोर यही अवधिमा दर्ता १२८ उद्योगले ७९५३ जनालाई रोजगारी दिने उल्लेख गरेका थिए ।

चालु वर्षको चार महिनामा दर्ता भएका ठूला उद्योगमा अधिकांश ऊर्जा क्षेत्रका छन्। १५ ठूलामध्ये १२ उद्योग जलविद्युत क्षेत्रका नै रहेका छन् । बाँकी तीनमध्ये दुईवटा उत्पादनमूलक क्षेत्रका र एउटा पर्यटन क्षेत्रको रहेको छ ।

विभागको रेकर्डअनुसार, संखुवासभा जिल्लामा ९७।२ मेगावाट क्षमताको जलविद्युत आयोजना विकास गर्नेगरी दर्ता भएको केविएनआर इस्वा पावर लिमिटेड यीमध्ये सबैभन्दा ठूलो लगानीको रहेको छ । केवीएनआर इस्वा पावरले १३ अर्ब ५७ करोड रुपैयाँ लगानी गर्दै एक सय १३ जनालाई रोजगारी दिने प्रतिवद्धता जनाएको छ ।

यस्तै, १० अर्ब ३१ करोड लगानी गर्नेगरी हाइड्रो भिलेज प्रालि दर्ता भएको छ । जसले म्याग्दी जिल्लामा ५७।३० मेगावाटको जलविद्युत आयोजना बनाउने उल्लेख छ । स्वदेशी लगानीको यो उद्योगले ६४ जनालाई रोजगारी दिने जनाइएको छ ।

जलविद्युततर्फकै सुस्मित इनर्जी प्रालि यो वर्ष विभागमा दर्ता भएको तेस्रो ठूलो लगानीको उद्योग हो । म्यादी जिल्लाको धवलागिरी गाउँपालिकामा यसले २० मेगावाट क्षमताको जलविदुत् आयोजना विकास गर्ने जनाइएको छ । उद्योगले ४७ जनालाई रोजगारी दिने उल्लेख गरेको छ।

यस्तै, मोक्सो टाइल्स कम्पनीले पनि ६६ करोड ७८ लाख लगानी गर्दै ११४ जनालाई रोजगारी दिने जनाएको छ। यो कम्पनीले वार्षिक एक करोड ६० लाख फ्लोर टाइल्स र एक करोड २५ लाख वाल टायल्स उत्पादन गर्ने लक्ष्य लिएको छ।

पर्यटन क्षेत्रतर्फ पनि ६६ करोड लगानी गर्नेगरी एउटा ठूलो उद्योग दर्ता भएको छ । काठमाडौंको नागार्जुनमा केबलकार निर्माण तथा संचालन गर्नेगरी विभागमा दर्ता भएको भ्यु नागार्जुन केबलकार प्रालि ले उक्त लगानी प्रतिवद्धता जनाएको हो ।

यसले वार्षिक ११ लाख २० हजार यात्रुलाई सेवा दिने र यसबाट कम्तिमा ६८ जनाले प्रत्यक्ष रोजगारी पाउने विभागको रेकर्डमा उल्लेख छ । उक्क केबलकारको बटम स्टेशन र टप स्टेशन दुवै काठमाडौंको नागार्जुन नगरपालिकामा नै हुनेछ ।

दर्ता भएका ठूला उद्योगमध्ये लाइफस्टार फर्मास्युटिकल्स प्रालि पनि रहेको छ । यसले ३८ करोड रुपैयाँ लगानी गरेर पर्सा जिल्लामा विभिन्न प्रकारका औषधि उत्पादनका लागि उद्योग स्थापना गर्ने विभागले जनाएको छ। यसबाट ६८ जनालाई रोजगारी पाउने लाइफस्टारले विभागलाई जानकारी दिएको छ।

कृषिमा समेत २२ करोड लगानी गर्नेगरी उद्योग आएको छ । यसै आवको पछिल्लो चार महिनाको अवधिमा अरिहन्त एग्रो फर्म एन्ड रिसर्च सेन्टर प्रालि २२ करोड लगानी गर्ने र २६४ जनालाई रोजगारी दिनेगरी विभागमा दर्ता भएको हो ।

सुनसरी जिल्लामा स्थापना हुने शतप्रतिशत स्वदेशी लगानीको यो उद्योगले हरियो तरकारी, फलफूल, चामल, तोरी, उखु लगायतका कृषि उपज उत्पादन गर्ने जनाएको छ । यसले वार्षिक हरियो तरकारी ५० मेट्रिक टन, फलफूल १०० टन, चामल ५०० टन, तोरी २०० टन र उखु २५०० टन उत्पादन गर्ने जानकारी विभागलाई दिएको छ ।

खेमराज श्रेष्ठ(बिजमाण्डुबाट)

प्रकाशित मितिः     ६ मंसिर २०७७, शनिबार ०६:५६  |