सबैभन्दा बढी कर तिर्नेमा मदिरा व्यवसायी विजयबहादुर शाह, संस्थामा सूर्य नेपाल


काठमाडौं । सरकारले गत आर्थिक वर्षमा बढी कर तिर्नेको सूची सार्वजनिक गरेको छ । आन्तरिक राजस्व विभागले सार्वजनिक गरेको विवरणअनुसार व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्नेमा मदिरा व्यवसायी विजयबहादुर शाह परेका छन् ।

गत आर्थिक वर्ष उनले व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिरेका थिए। उनको लगानीमा जावलाखेल डिस्टिलरी, हिमालयन डिस्टिलरी, राज ब्रुअरी, एसियन डिस्टिलरी र विजय डिस्टिलरी सञ्चालनमा छन् ।

संस्थातर्फ बढी कर तिर्ने बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालि रहेको छ । सूर्य नेपाल प्रालिले चुरोट लगायत बस्तु उत्पादन गर्छ । सूर्य नेपालले गत आर्थिक वर्ष ५ अर्ब ३१ करोड रुपैयाँ आयकर तिरेको थियो । यस्तै ३ अर्ब ८७ करोड रुपैयाँ मूल्य अभिबृद्धि कर ९भ्याट० सरकारलाई बुझाएको थियो ।

निर्यातकर्ताहरुमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदातामा अर्को बहुराष्ट्रिय कम्पनी डाबर नेपाल प्रालि परेको छ । यसैगरी सबैभन्दा बढी आयकर तिर्ने विशेष उद्योगमा हिमाल पावर लिमिटेड परेको छ ।

कृषि एवम् पशुपंछीजन्य उद्योगमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदातामा अन्नपूर्ण एग्रो इन्डष्ट्रिज प्रालि, बैंक वित्तीय संस्थामध्ये सबैभन्दा बढी आयकर तिर्ने करदातामा नबिल बैंक, लघुवित्तमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदातामा छिमेक लघुवित्त वित्तीय संस्था, र बिमामा नेपाल पुनर्बीमा कम्पनी परेको विभागले जनाएको छ ।

शिक्षा सेवामध्ये सबैभन्दा बढी आयकर तिर्ने करदातामा मनिपाल एजुकेसन एण्ड मेडिकल ग्रुप, विप्रेषण कारोबार गर्नेमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदातामा आईएमई लिमिटेड, व्यापार व्यवसायमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदातामा अग्नी इन्कर्पोरेट प्रालि, पर्यटन व्यवसायमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदातामा तारागाउँ रिजेनसी होटल्स लिमिटेड परेको विभागले जानकारी दिएको छ ।

यसैगरी मध्यमस्तरीय करदाता कार्यालयको कार्यक्षेत्रभित्र पर्ने करदाताहरुमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदातामा कामना सेवा विकास बैंक परेका छन् ।

विभागका अनुसार आन्तरिक राजस्व कार्यालयहरुको कार्य क्षेत्रभित्रबाट सबैभन्दा बढी आयकर तिर्ने करदातामा भिएफ सर्भिसेज प्रालि र मूल्य अभिबृद्धि कर तिर्ने करदातामा घोराई सिमेन्ट इनडष्ट्री प्रालि परेका छन् ।

आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा सबैभन्दा बढी कर तिर्ने १५ करदाताको सूची सार्वजनिक गरेको छ । मंसिर १ गते कर दिवस मनाउने गरिएकोमा यो पटक तिहार र कोरोना भाइरस महामारीका कारण औपचारिक कार्यक्रम भने हुन सकेन।

प्रकाशित मितिः     ८ मंसिर २०७७, सोमबार ०८:०६  |