नेपालगन्ज । कोभिड-१९ महामारीबीच निर्माणको सिजन लागेको गलत फाइदा उठाउँदै निर्माण सामग्रीहरुमा मूल्यवृद्धिले मारमा परेको निर्माण व्यवसायीहरुले बताएका छन्।
नेपाल निर्माण व्यवसायी महासंघले एक विज्ञप्ति जारी गर्दै कार्टेलिङ गरेर निर्माण सामग्रीमा अत्यधिकरूपले मूल्यवृद्धि गरिएको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
फलामजन्य विभिन्न साइजका डण्डी, पाता, पत्ती, जीआई तार, ग्याव्लिन तार उत्पादक कम्पनीहरुले र नदीजन्य निर्माण सामग्री ढुंगा, बालुवा गिट्टीमा विभिन्न व्यवसायीहरुले अत्यधिक मूल्यवृद्धि गरेको महासंघको भनाइ छ।
फलामजन्य निर्माण सामाग्री उत्पादक कम्पनीहरुले अन्तर्राष्ट्रिय मुद्रा डलरको दरमा र फलाम ब्लेडको मूल्य थोरै मात्रामा बढेको अवस्थामा पनि अनुपातभन्दा अत्यधिक रूपले मिलोमतोमा मूल्यवृद्धि गरेको देखिएको छ,- जारी विज्ञप्तिमा उल्लेख छ।
अहिलेको मुल्यवृद्धि कुनै पनि दृष्टिकोणबाट व्यवहारिक तथा वैज्ञानिक नदेखिएको महासंघले जनाएको छ। त्यसैगरी देशको कुनै पनि स्थानबाट नदीजन्य सामाग्रीको उत्खनन र बिक्री वितरण गर्न नपाइने गृह मन्त्रालयको हालैको निर्णयप्रति पनि महासंघले असन्तुष्टि जनाएको छ।
गृहको निर्णय बमोजिम निर्माणाधीन परियोजनाहरुमा ढुंगा, गिट्टी, बालुवाको चरम अभाव भई परियोजना नै ठप्प हुन सक्ने अवस्था देखिएको प्रति महासंघले सरोकारवाला सबै निकायको ध्यानाकर्षण गराएको छ। उक्त निर्णयबाट आग्रह र पूर्वाग्रहरूपले क्रसरहरु बन्द हुन गएको र यसबाट अभाव र्सिजना हुन गई खानीजन्य निर्माण सामग्रीहरुमा सीमित व्यवसायीहरुको मिलोमतोमा अत्यधिक मूल्यवृद्धि गराई कालोबजारी गरेको गुनासो महासंघलाई प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ।
केही महिना अगाडिको मूल्य र हालको मूल्यमा डण्डी प्रति केजी मा र १५ रुपैयाँदेखि देखि २० रुपैयासम्म मूल्यवृद्धि भएको र ढुंगा, गिट्टी, बालुवाको स्रोतदरको मूल्यमा दोब्बर मूल्यवृद्धि भएको महासंघले जनाएको छ।
महासंघका अनुसार कोभिड१९ का कारण सिर्जित समस्या भइरहेको छ। अत्यधिक मूल्यवृद्धि गरी कालोबजारी हुँदा साना निर्माण व्यवसायीहरु बाह्र महिनाभन्दा कम अवधि भएका निर्माण आयोजनाहरुको मूल्य समायोजन नहुँदा थप समस्यामा परेका छन्।
विषम परिस्थितिबीच निर्माण कार्य गर्ने सिजनको मौका छोपी गरिएको कालोबजारीलाई तत्काल रोक्न महासंघले आग्रह गरेको छ। सरकारले प्रभावकारीरूपले अनुगमन गरी मूल्यवृद्धि नियन्त्रणका लागि ठोस तथा सार्थक पहल गरिदिन पनि माग गरेको छ।