शहर कब्जा गरेर बैंक लुट


ब्राजिलको सान्टा काटारिना राज्यको क्रिस्युमा शहरमा नाटकीय रूपमा बैंक डकैती भएको छ। करिब ३० जना हतियारधारी लुटेराहरुले दक्षिणी ब्राजिलको उक्त शहरलाई पूरै नियन्त्रणमा लिइ बैक लुटेका हुन्।

उनीहरुले लुटपाटका क्रममा प्रहरीसँग मुठभेड सुरु भएपछि सडकमा पैसा छरेर भागेका थिए। पैसा छरिदिएपछि स्थानीयहरु घर बाहिर निस्केर पैसा टिप्न थाल्ने र प्रहरीबाट उनीहरु उम्किन सजिलो हुने रणनीति अनुसार उनीहरुले ठूलो परिमाणमा पैसा बाटोमा छरेका हुन्।
१० वटा कार लिएर मध्यरातमा शहर पसेका नकाबधारी लुटेराहरुले बैंको दो ब्राजिल लगायतका बिभिन्न बैंकहरु लुट्ने उद्देश्य राखेको प्रहरीले जनाएको छ।

शहरका मेयर स्लेसियो सालभारोले उक्त आक्रमणको जानकारी पाए लगत्तै स्थानीय बासिन्दालाई घरबाट बाहिर ननिस्किन चेतावनी दिएका थिए। उनले ट्विटरमार्फत भिडियोबाट शहरमा आक्रमण भएको जानकारी दिँदै शहरमा लुटपाट मच्चिएकोले आफू र आफ्ना परिवारजन तथा साथीभाईहरु कसैलाई पनि घर बाहिर नजान भन्न समेत अह्राएका थिए। प्रहरीलाई लुटेराहरु नियन्त्रणमा लिन सहज होस् भन्नाका लागि सर्वसाधारणहरुलाई घर भित्रै बस्न भनिएको थियो।

डेढ लाख नागरिक रहेको उक्त शहरका बासिन्दाका लागि रातको समय निकै त्रासदीपूर्ण बन्यो। मध्यरातदेखि लुटेराहरु र प्रहरीबीच दोहोरो गोली हानाहान भएको थियो। लुटेराहरुले शहरको केन्द्रमा जाने टनेलमा समेत आगो लगाइदिएका थिए।

लुटराहरुले ६ जना सर्वसाधारणलाई मानव ढालका रूपमा प्रयोग गर्दै सडकमा हिँडिरहेको भिडियो फुटेजहरु पनि सामाजिक सञ्जालमा राखिएका छन्। स्थानीय मिडियाका अनुसार लुटेराहरुले ती ६ जना सर्वसाधारणलाई सडकको मध्यभागमा बस्न लगाइ बैंकसम्म प्रहरीको कार पुग्न नसकोस् भनि मानव ढालका रूपमा राखेका थिए। दोहोरो गोली हानाहानमा दुई जनामात्र घाइते भएको बताइएको छ। बैंकका एक सुरक्षा गार्ड र एक जना प्रहरी अधिकारी यस क्रममा घाइते भएका थिए।

लुटेराहरुले लुटपाटपछि एउटा बैंकमा विस्फोटसमेत गराएको बताइएको छ।

यसअघि हामीले यति खराब अवस्था सामना गरेका थिएनौं। मेयर सालभारोले लुटपाटपछि भनेका छन् हामीलाई अहिलेसम्म उनीहरु कहाँबाट कसरी आए भन्ने थाहा छैन तर यति भन्न सकिन्छ कि उनीहरु असाध्यै पेसेवर लुटेराजस्ता देखिन्छन्।


बैंक लुटपाट सकेपछि लुटेराहरुले चुपचाप शहर छोडेको भिडियो फुटेजहरु पनि देखिएका छन्। उनीहरुको कारको लस्कर शान्तिपूर्ण शहरबाट बाहिरिएको र सडकमा भने टन्नै पैसा छरिएको देखिएको थियो। उनीहरुले सर्वसाधारण बाहिर निस्केर पैसा टिप्न थाल्दा प्रहरीले आफूहरुमाथि गोली चलाउन अवरोध होस् भनेर उक्त पैसा फालेको अनुमान गरिएको छ।

भिडियोमा स्थानीयहरुले घर बाहिर दौडदै पैसा टिपेको पनि देखिएको छ। लुटपाटले त्रासपूर्ण अवस्था आएको भएपनि सडकमा फालिएको पैसा टिप्न पाएका सर्वसाधारणको यसपालीको क्रिसमस चाड राम्रो हुने टिप्पणी समेत केहीले गरेका छन्।

प्रहरीले सडकबाट एक लाख १२ हजार यूरोभन्दा बढी पैसा टिप्ने चार जना सर्वसाधारणलाई पक्राउ समेत गरेको छ। बैंको दो ब्राजिललाई मुख्य निशाना बनाएका लुटेराहरुले आफूसँग कति रकम लगे भन्ने बारे भने अझै यकिन हुन सकेको छैन।

ब्राजिलियन फोरम अफ पब्लिक सेफ्टीका कार्यकारी निर्देशक समिरा बुइनोले यो लुटपाटलाई चलचित्रको शैलीमा योजनाबद्ध ढंगले गराइएको लुटपाट भएको बताएकी छन्। उनीहरुले योजना अनुसार नै सानो शहरलाई आफ्नो निशाना बनाएको उनको भनाइ छ। साना शहरका सुरक्षा अधिकारीहरुको कमजोर तयारीका कारण ठूलो संख्यामा रहेका लुटेराहरुलाई नियन्त्रणमा लिन नसकिएको उनको विश्लेषण छ।

उनी भन्छिन् –यो घटना हुँदा अवस्थालाई नियन्त्रणमा लिन सुरक्षाकर्मीको तयारी निकै फितलो देखियो। स्पष्ट रुपमा के भन्न सकिन्छ भने निकै संगठित र ब्यवस्थित रूपमा आएका लुटेराहरुले योजनाबद्ध रुपमा शहरमा लुटपाट मच्चाएको हो।ु

प्रहरी निरीक्षक आन्सेल्मो क्रुजले सान्टा क्याटारिनामा यस्ता प्रकृतिका लुटेरा हुनै नसक्ने भन्दै उनीहरु शहर बाहिरबाट आएको दाबी गरे। उनले भने-अपराधीहरु योजनाबद्ध र पूर्ण तयारीका साथ आएका थिए।

प्रहरीले कतिजना लुटेराहरुलाई समात्न सफल भयो भन्ने बारे भने केही बताइएको छैन। अधिकारीहरुले ब्राजिलका बिभिन्न स्थानमा अनुसन्धान सुरु गरिसकेका छन्। लुटेराहरुको ठूलो संजाल भएको अनुमान गर्दै उनीहरुबारे पत्ता लगाउनका लागि प्रहरीले कारवाही थालेको बताइएको छ।

प्रकाशित मितिः     7:33:04 AM  |