नयाँदिल्ली। फुटवेयरको व्यापारमा निकै ख्याति कमाएको कम्पनी बाटा शु अर्गनाइजेसनले भारत हेर्ने प्रमुख कार्यकारी अधिकृत सन्दिप कटारियालाई वैश्विकस्तरको प्रमुख कार्यकारी घोषणा गरेको छ।
बाटाको वैश्विकस्तरमा काम गर्ने कटारिया पहिलो भारतीय हुन्।
उनले एलेक्सिस नसार्डको स्थान लिएका हुन्। नसार्डले पाँच वर्ष यो पदमा बिताएपछि छाड्दै छन्। कटारिया सन् २०१७ मा बाटा इण्डियाको प्रमुख कार्यकारीका रूपमा आएका थिए।
आइआइटी दिल्लीबाट इन्जिनियरिङ गरेका कटारियासँग २४ वर्ष काम गरेको अनुभव छ। उनले बाटा इण्डियाको प्रमुख कार्यकारी भएपछि कम्पनीका उत्पादनलाई नयाँ कलेवरमा ल्याएर युवा पुस्तालाई पनि ब्रान्डतर्फ आकार्षित गर्न पहल गरेका थिए। सन् २०१९र२० मा बाटा इण्डियाको खुद आम्दानी ३० अर्ब ५३ करोड भारु पुगेको थियो।
भारतमा निकै लामो समयदेखि जुत्ता बनाउने कम्पनीमध्ये बाटालाई राजा नै भने पनि हुन्छ। भनिन्छ बाटा बहुराष्ट्रिय कम्पनी भए पनि यसको मुटु भने पूर्णरूपमा ‘हिन्दुस्तानी’ छ। आजभन्दा करिब ९० वर्ष अगाडि बाटाले भारतमा पाइला राखेको थियो। बाटा ब्रान्डका जुत्ता चप्पल नेपालमा पनि आधिकारिक बिक्रेतामार्फत बिक्री हुन्छ।
बाटाले भारतमा पहिलो कारखाना पश्चिम बंगालको कोन्नागारमा खोलेको थियो। पछि यो बाटागञ्जमा सर्यो। बाटागञ्ज बिहारबाट यो फरिदाबाद हरियाणा, पिनया कर्नाटका र होसुर तमिलनाडुमा समेत कारखाना खोलेको छ। भारतमा बाटा यस्तो ब्रान्ड हो- जसको मध्यमवर्गीय ग्राहक धेरै छन्।
धेरैलाई यो भारतीय कम्पनी हो भन्ने बुझाइ रहिआएको छ। तर बाटा चेक रिपब्लिकनको कम्पनी हो। थोमस बाटाले सन् १८९४ मा यो कम्पनीको सुरुवात गरेका थिए। कम्पनी रबर र छालाको खोजीमा भारत आएको थियो। सन् १९३९ मा कम्पनीले कोलकाताबाट कारोबार सुरु गरेको थियो। बाटानगरमा कम्पनीको पहिलो मेसिन सञ्चालनमा ल्याइएको थियो।
आजको दिनमा बाटाका लागि भारत दोस्रो ठूलो बजार हो। बाटाको सेयर सन् १९७३ मा सूचीकरण भएको थियो। त्यस बेला अंकित मूल्य ३० रुपैयाँका दरमा बाटाको सेयर निष्कासन गरिएको थियो। बाटाको भारतभरी १३ सय ७५ वटा खुद्रा स्टोर छन्, जसमा ८ हजार ५०० जना कर्मचारी काम गर्छन्। गत वर्ष कम्पनीले ५ करोड जोडी जुत्ता बिक्री गरेको थियो।

कम्पनीका उत्पादनहरु ९० देशमा बिक्री हुन्छन्। यसमा कुल ३० हजार कर्मचारी र ५ हजार स्टोर छन्। दैनिक १० लाख ग्राहक कम्पनीको स्टोरमा पुग्छन्।
युरोपेली देश चेकोस्लाभियाको एउटा सानो जिल्ला कस्बे ज्लिनमा बाटा परिवार बस्थ्यो। यो परिवार जुत्ता बनाएर आफ्नो दैनिक रोजीरोटी जोहो गर्थ्यो। सन् १८९४ मा परिवारको जेठो छोरो थोमस बाटाले ठूलो सपना देखेपछि परिवारको भाग्य नै परिवर्तन भयो।
उनले जुत्ता उद्योग स्थापनाका लागि आफ्ना भाइ एन्टोनिन र बहिनी एन्नालाई सहयोगी बनाए। सबै जना मिलेर आमालाई फकाएपछि ३२० डलर उनीहरुले हात पारे। त्यसपछि उनीहरुले गाउँमै दुई वटा कोठा भाडामा लिए र जुत्ता सिउने मेसिन सञ्चालन गर्न थाले। ऋण काढेर कच्चा पदार्थ किनेर जुत्ता बनाउन थाले।
कारोबार बढाउन थोमसले थुप्रै ऋण लिएका थिए। ऋणको बोझमा उनी थलिएका थिए। त्यसबीचमा थोमस र उनका सहयोगी कर्मचारीले न्यू इङल्याण्डमा जुत्ता सिलाउने उद्योगमा मजदुर बनेर काम सिके। त्यहाँबाट सबै कुरा सिकेपछि उनीहरु आफ्नो कारोबारमा फर्किए।
यहाँ उनीहरुले नयाँ ढंगबाट जुत्ता बनाउन थाले। ब्यवस्थापन पनि राम्रोसँग गर्न थाले। सन् १९१२ सम्म आइसक्दा थोमससँग ६०० जना कर्मचारी पुगिसकेका थिए। उत्पादनसँगै उनले एक्सक्लुसिभ स्टोर्सहरु स्थापना गर्न थाले।
विश्व युद्धपछि बाटाको उत्पादन धेरैतिर बिक्री हुन थाल्यो। त्यसबेला उत्पादन १५ गुणा बढयो भने २७ देशमा उत्पादन बिक्री हुन थाल्यो। त्यसैमध्येको एक भारत पनि थियो।