कुपन प्रणालीबाट धान खरिद गर्दा अधियाँ लगाउनेलाई समस्या


नेपालगन्ज। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले नेपालगंजबाट कुपन प्रणालीबाट धान खरिद कार्य सुरु गरेको छ। कम्पनीले किसानलाई सहज तुल्याउन कुपन वितरण गरी सरकारले तोकेको समर्थन मूल्यमा धान खरिद गर्न सुरु गरेको हो।

तर कुपन लिनका लागि लालपुर्जा देखाउनुपर्ने व्यवस्था गरिएपछि भने अधियाँ गरेर धान उत्पादन गरेका किसानहरु चिन्तित देखिन्छन्। कुपन अनुसार दैनिक ५० क्विन्टल सम्म धान विक्री गर्न पाउने व्यवस्था गरिएको छ। सोही व्यवस्थाका कारण किसानहरु दैनिक रुपमा आफ्नो कुपन अनुसार धान लिएर कार्यालय सम्म पुग्ने गर्छन्।

कम्पनीका मुख्य शाखा प्रमुख निर्मल थापाले किसानलाई वितरण गरिएको कुपनमा किसानको विवरण सहित धानको अनुमानित परिमाण र धान लिएर आउने दिन तोकिएकोले किसानलाई सहज भएको बताए।


स्थानीय किसान सिराज अहमदले ५० क्विन्टल धान विक्री गर्न २५ कठ्ठा जग्गाको लालपुर्जा देखाउनुपर्ने भएकाले समस्या भएको बताए। कम्पनीको मुख्य शाखा कार्यालय नेपालगन्जले यस वर्ष पहिलो चरणमा ४० हजार क्विन्टल मोटा र मध्यम धान खरिद गर्ने लक्ष्य राखेको छ। सरकारले मोटा धान प्रति क्विन्टल २ हजार ७ सय ३५ रुपैयाँ र मध्यम धानको २ हजार ८ सय ८५ रुपैयाँ समर्थन मुल्य तोकेको छ।

बिजमाण्डुडटकमबाट

प्रकाशित मितिः     5:35:33 PM  |