मेलम्चीपछिकै ठूलो खानेपानी आयोजना सुर्खेतमा


  • यज्ञ खत्री

३० मंसिर, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भेरी नदीको पानी तानेर खानेपानी आपूर्ति गर्ने योजना अगाडि बढाइएको छ ।

खानेपानीको दीर्घकालीन आपूर्ति गर्न वीरेन्द्रनगरमा ‘भेरी पम्पिङ’ आयोजना निर्माण गर्ने तयारी थालिएको हो । त्यसको लागि करिब साढे सात अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । तीन वर्षभित्र निर्माण गरिसक्ने भनिएको यो ‘भेरी पम्पिङ’ आयोजनालाई मेलम्चीपछिकै ठूलो मानिएको छ ।

प्रदेश राजधानी भएसँगै वीरेन्द्रनगरको जनसंख्या दिनहुँ बढ्दो छ । आगामी ३० वर्षपछिको जनसंख्यालाई ध्यानमा राखेर ‘भेरी पम्पिङ’ आयोजना शुरु गर्न लागिएको कर्णाली सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताए ।

मन्त्री ज्वालाका अनुसार प्रदेश सरकार र संघीय सरकारको समन्वयमा आयोजनाको काम अगाडि बढाइने छ । हाल खानेपानी तथा ढल व्यवस्थापन विभागको प्राविधिक टोलीले आयोजना निर्माण र वितरणबारे डिजाइन बनाउन थालेको छ ।

अबको ३० वर्षपछि उपत्यकामा बसोबास गर्ने जनसंख्या ३ लाख ८४ हजार पुग्ने अनुमान गरिएको छ । त्यो जनसंख्यालाई नियमित खानेपानीको आपूर्ति गर्न दैनिक ४७ हजार क्युविक मिटर ९प्रति सेकेण्ड ५६० लिटर० पानी आवश्यक पर्ने आयोजना अध्ययन टोलीका एक सदस्य प्रशान्त मल्लले बताए ।

‘हामीले उपत्यकाको आगामी ३० वर्षपछिको जनसंख्यालाई लक्षित गरेका छौं । सोही अनुसार तलमाथि नपर्ने गरी आयोजना निर्माण गर्न आवश्यक देखिन्छ,’ मल्लले भने ।

‘भेरी पम्पिङ’ खानेपानी आयोजना निर्माणको लागि ठेक्का प्रक्रिया पनि छिट्टै अगाडि बढाउने गरी अध्ययन भइरहेको खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक सूर्यराज कँडेलले बताए ।

‘बजेट र कामको विषयमा अब तीनै तहबीच समन्वय गरेर जिम्मेवारी बाँडफाँट गरी टेन्डर प्रक्रिया अगाडि बढाइने छ,’ उपमहानिर्देशक कँडेलले भने, ‘आयोजना निर्माणका लागि हामी बहुवर्षीय ठेक्का दिएर एकमुष्ट रुपमा जान्छौं ।’ बढीमा अबको तीन वर्षभित्र भेरीको पानी उपत्यकासम्म ल्याइने उनको दाबी छ ।

यसरी ल्याइने छ भेरीको पानी

वीरेन्द्रनगरस्थित झुप्रा खोला मिसिने भेरी किनारको दोभानमा यसअघि पम्पिङ मेसिन राख्नेगरी अध्ययन सुरू गरिएको थियो । उक्त स्थानमा इन्टेक निर्माण गर्दा पानी कम आउने सम्भावना देखेपछि स्थान परिवर्तन गरिएको छ ।

खानेपानी तथा ढल व्यवस्थापन विभागमार्फत् खटिएको प्राविधिक टोलीले गरेको अध्ययनपश्चात उक्त दोभानदेखि ५ सय ७४ मिटर माथि पूर्वतर्फ भेरी नदीको किनारमा पम्पिङ मेसिन राखिने छ ।

‘त्यहाँबाट ३०० मिटरसम्म पानी पम्पिङ गरिसकेपछि बीचमा अर्को पम्पिङ मेसिन राखिनेछ,’ अध्ययन टोलीका सदस्य मल्लले भने, ‘कति मेसिन राख्ने भनेर अध्ययन हुँदैछ ।’

भेरीको पानी ३–४ सय मिटरमाथि प्रशोधन गर्ने ट्यांकीमा खसालेपछि त्यहाँबाट ५५० मिलिमिटरको पाइपमार्फत् सात किलोमिटर टाढा रहेको अमृत डाँडामा पानी पुर्याइने छ । भेरीबाट पम्पिङ गरी ल्याइएको पानी अमृत डाँडामा जम्मा गर्न १२ हजार क्युबिक मिटरको ट्यांकी बनाइने छ । सो ट्यांकीबाट सुर्खेत सदरमुकाम वीरेन्द्रनगर उपत्यकाभित्रका सबै घरमा जडित धारामा पानी पठाइने छ ।

एउटा कोठामा बसेर विद्युतीय प्रणालीमार्फत कन्ट्रोल गर्न सकिने गरी आयोजना बनाइने छ ।

आयोजनाको विस्तृत अध्ययनका क्रममा ‘भेरी पम्पिङ’ आयोजना निर्माणका लागि मोटामोटी साढे ७ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । यसमा घटबढ पनि हुन सक्ने विभागका उपमहानिर्देशक कँडेलले बताए ।

भेरीको पानी अमृतडाँडामा ल्याइसकेपछि उपत्यकामा वितरण गर्नका लागि मात्र ४ अर्ब ६३ करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको अध्ययन टोलीका सदस्य मल्ल बताउँछन् । उनका अनुसार उपत्यकाभित्र थप गर्नुपर्ने ट्यांकी, पाइप खरीद तथा विस्तार, धारा जडानलगायततका काममा उक्त रकम खर्च हुने छ ।

अध्ययन टोलीले भेरीको पानी अमृत डाँडा (मुख्य ट्यांकी)सम्म पुर्याउन मात्रै तीन अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको छ ।

उपत्यकामा अहिलेको अवस्था के छ ?

अहिले पनि उपत्यकाको जनसंख्या दुई लाख बढी छ । वीरेन्द्रनगरमा खानेपानी आपूर्ति गर्दै आएको सुर्खेत खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणी देवकोटाका अनुसार हाल वीरेन्द्रनगरमा प्रतिसेकेण्ड २७८ लिटर पानी आवश्यक पर्छ । तर, आपूर्ति भने १५७ लिटर प्रतिसेकण्ड छ । खडेरीको समयमा उक्त आपूर्ति ५० प्रतिशतले घट्छ ।

‘हाल उपत्यकामा रहेका ५ वटा खोलाबाट पानी आपूर्ति गर्दै आएका छौं,’ अध्यक्ष देवकोटाले भने, ‘वर्षाको समयमा त खासै समस्या हुँदैन । तर, खडेरीको समयमा आधा पानि घट्छ । ९६ घण्टा लोडसेडिङ गरेर पनि पानी दिनुपरेको समस्या हामीसँग छ ।’

वीरेन्खद्रनगर उपत्यकामा हाल १८ हजार ८५० वटा खानेपानीका धारा जडान गरिएको छ । अझै १ हजार ४०७ वटा धारा जडान गर्न बाँकी नै छ । बाँकी धारा जडानका लागि आवेदन दिएर भुक्तानी समेत भइसकेको छ । यस्तै धारा जडानका लागि परेका ३ हजार ७३९ आवेदन अहिले पनि होल्डमा रहेको संस्थाले जनाएको छ ।

पछिल्लो समय वीरेन्द्रनगरमा प्रतिवर्ष ८०० देखि १ हजारसम्म नयाँ घरहरु नक्सापास नै गरेर बन्न थालेको वीरेन्द्रनगर नगरपालिकाको तथ्यांकमा उल्लेख छ ।

आयोजना पहिलो प्राथमिकतामा : मन्त्री ज्वाला

कर्णाली प्रदेश सरकारले प्रदेश राजधानीको एकीकृत विकासको लागि योजना अगाडि बढाएको छ । जसभित्र भेरी पम्पिङ योजना पनि पर्छ । एकीकृत विकास योजनाका लागि प्रदेश सरकारको यो आर्थिक वर्षको बजेटमध्ये एक अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

उक्त आयोजना प्रदेश सरकारकै पहिलो प्राथमिकतामा परेको प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताए । ‘विगतका वर्षहरुमा बजेट छुट्याए पनि काम हुन सकेन । बजेट फ्रिज भयो,’ मन्त्री ज्वालाले भने, ‘अब आफैं स्रोत जुटाएर भए पनि काम अघि बढाउछौं ।’

तीनै तहका सरकारको समन्वयमा आयोजनाको कामलाई तीव्रताका साथ अगाडि बढाउनु पर्ने मन्त्री मन्त्री ज्वालाको भनाइ छ । ‘कुराले चिउरा भिज्दैन । अब काम गरौं,’ विभागको टोलीलाई लक्षित गर्दै मन्त्री ज्वालाले भने, ‘तपाईंहरु फाइल अर्थ मन्त्रालयको टेबुलमा पुर्याउनुहोस् । म पाँच दिन धर्ना बसेर भए पनि काम अगाडि बढाउन लगाउछु ।’

संघ सरकारले सहयोग नगरेको खण्डमा प्रदेश आफैंले स्रोत जुटाएर भए पनि यो आयोजना निर्माण गर्ने योजनामा रहेको मन्त्री ज्वालाले बताए । ‘हामीले संघ सरकारलाई यसअघि पनि आयोजनाको काम अगाडि बढाउने आग्रह गर्यौं,’ मन्त्री ज्वालाले भने, ‘हाम्रो निरन्तर आग्रहपछि अहिले संघ पनि लागेको छ । यसले गर्दा अब आयोजनाको काम अगाडि बढ्छ ।’

यसअघि संघीय सरकारले आर्थिक वर्ष ०७५र०७६ मा दुई करोड र गत आर्थिक वर्षमा ६ करोड छुट्याएको थियो । तर काम हुन नसक्दा बजेट फ्रिज भएको थियो । प्रदेश सरकारले पनि गत आर्थिक वर्ष यही आयोजनाको लागि ५० करोड रुपैयाँ छुट्याएको थियो । तर काम हुन नसक्दा बजेट फ्रिज भएको छ ।

 

प्रकाशित मितिः     ३० मंसिर २०७७, मंगलवार १०:२७  |