नेपालगन्ज २ पुष : कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि भन्दै बैंकले अपनाएको सेवा दिने अव्यवहारिक शैलीका कारण सेवाग्राहीले सास्ती व्यहोर्नुपरेको छ ।
टन्टलापुर घामदेखि पुषको चिसो मौसममा सेवाग्राही घण्टौसम्म बैंकको बाहिर लाइनमा लागेर सेवा लिन बाध्य भइरहेका छन् ।
अझ सामाजिक सुरक्षा भत्ताका बुझ्ने बृद्धबृद्धाको बिजोग त हेरि साध्य छैन । बैंकहरुले सेवाग्राहीलाई कसरी सहज र सरल तरिकाले सेवा दिन सकिन्छ भन्ने विषयमा फिटिक्कै सोचेका छैनन् ।
अझ कर्मचारी कटौतीदेखि जोखिम नियन्त्रणका लागि अपनाएका तरिकाले सेवा प्रवाहमा चरम ढिलासुस्ती भइरहेको छ ।
त्रिभुवनचोकको एउटा निजी बैंक पुगेका सेवाग्राहीले भने. गर्मीमा यस्तै गरी लाइन लाग्नुपरेको थियो । चिसोमा पनि त्यस्तै अवस्था छ । बैंकमा आफ्नो पैसा झिक्न र जम्मा गर्न महाभारत युद्ध जिते जस्तै भइरहेको छ ।
सेवाग्राहीलाई बाहिर घण्टौ लाइनमा उभ्याएका बैंकले भित्र भने आफु पूर्णरुपमा सुरक्षित राखेका छन् । उनीहरुले आफुहरुलाई सुरक्षित बनाउन भरपुर तरिका अपनाए पनि बाहिर सेवाग्राहीका हकमा भने कुनै सोचविचार नगरेको पाइएको छ ।
कोरोना संक्रमणका कारण बाँकेमा धेरै बैंकहरु बन्द नभएका होइन । उनीहरुलाई कोरोना संक्रमण हुँदा पुरै बैकिग प्रणाली नै प्रभावित हुने भएकाले उनीहरुले अपनाएको तौरतरिका ठिकै मानिए पनि सेवाग्राहीलाई लाइनमा उभ्याएर दुःख दिने कामको बिकल्प भने खोज्न सकिरहेका छैनन् ।