२० पुस, काठमाडौं । गत शुक्रबार पर्साको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सारमा पेस भएको मेशनरी पार्टस् आयातको प्रज्ञापन पत्रमा वस्तुको दरबन्दी घोषणा गरिएअनुसारको मूल्यांकन (खरिद गरेको भनी दाबी गरेको मूल्य) १० सेन्टभन्दा तल थियो । जबकि उक्त वस्तुको भन्सार मूल्यांकन ४० सेन्टदेखि ५० सेन्ट हुनु पर्थ्यो ।
भन्सार एजेन्ट वा व्यवसायीको मिलोमतोमा भन्सारलाई झुक्याउने गरी भएको उक्त वस्तु घोषणाबारे तलको भन्सार कार्यालयको प्रणालीमा इन्ट्री भए पनि फाइलको काम सुरु भएकै थिएन । केन्द्रीय भन्सार कार्यालय त्रिपुरेश्वरमा रहेको प्रणालीमा उक्त घोषणाको मूल्यांकन सुरु हुनासाथ गल्ती देखियो ।
त्यसपछि तुरुन्तै फोन गरेर गल्ती सच्याउँदै ती सामानको मूल्यांकन ४० सेन्टभन्दा माथि बनाएको भन्सार विभागका प्रवक्ता शिशिर घिमिरे बताउँछन् ।
गत साता भैरहवा नाका भएर आयात भएको प्लास्टिकको सीटमा पनि यस्तै समस्या देखिएको थियो । १५ प्रतिशत मात्रै भन्सार लाग्ने तयार प्लाष्टिकको सामान भनेर प्रज्ञापन पत्र पेश भएको थियो, तर केन्द्रीय भन्सार कार्यालयको प्रणालीमा उक्त वस्तुको भन्सार ३० प्रतिशत हुनुपर्ने देखियो । त्यसपछि तत्कालै फोन गरेर भन्सार घोषणा र भन्सार दर परिवर्तन गर्न लगाएको केन्द्रीय नियमन विभाग प्रमुख पुण्यविक्रम खड्काले बताए ।
एकीकृत भन्सार अटोमेशन प्रणाली (आसिकोडा वर्ल्ड) बाट तथ्यांक र सेन्ट्रल सर्भिलेन्स सिस्टमबाट भिडिओ अनुगमनमा प्रवेश गरेपछि यस्ता समस्या हट्न थालेको विभागले जनाएको छ । भन्सारका तल्लो कार्यालयहरुमा कसैले बदमासी गरे वा गर्न खोजे केन्द्रमा र माथि मन्त्रीले समेत हेर्न सक्नेगरी प्रणाली प्रयोगमा आएको प्रवक्ता घिमिरे बताउँछन् ।
यसरी पुनर्मूल्यांकन र तल्ला कार्यालयमा हुनसक्ने कैफियत नियन्त्रण गरेर राजश्व चुहावट रोक्न सफल भएको उनले बताए । देशभरका भन्सार कार्यालयहरुमा हुने यस्ता गतिविधि नियन्त्रण गर्न विभागले केन्द्रीय कार्यालयमा निर्देशकको नेतृत्वमा आधा दर्जन जनशक्ति खटाएको छ ।
विमानस्थलको रमाइलो
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आउने यात्रुले ल्याउने सामानका विषयमा सधैंको लफडापछि केन्द्रीय भन्सारले सिधै निगरानी गर्न मिल्नेगरी यात्रु प्रवेशद्वारमा क्यामेरा राखेको छ । त्यो क्यामेराले केन्द्रीय भन्सार कार्यालय त्रिपुरेश्वर र अर्थमन्त्रालयमा प्रत्यक्ष दृश्य देखाउँछ ।
ह्याण्डक्यारीमा ल्याउने मदिरा, मोबाइल फोनजस्ता साना सामान लुकाउन यात्रुले गर्ने क्रियाकलाप भन्सारको केन्द्रीय निरानी सेन्टरमा प्रत्यक्ष देखिन्छ । ‘यात्रुले विमानस्थलमा रमाइला पारा देखाउँछन्’, निगरानीमा खटिएका एक कर्मचारी भन्छन्, ‘कहिलेकाहिँ फोन गरेर अवस्था सम्हाल्नु पर्छ ।’
भन्सार वा अन्य अधिकारीले यात्रुको मदिरा, मोबाइल लगायतका सामान गायब पारेको वा लिएको भन्ने जस्ता आरोपहरु अब सुन्न नपर्ने उनले बताए । त्यस्ता गतिविधि भिडिओमा रेकर्ड हुने भएकाले कसैको गुनासो भए हेर्न सक्ने उनी बताउँछन् ।
अवान्छित गतिविधि नियन्त्रण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार, अध्यागमन, काँकडभिट्टा, विराटनगर, वीरगन्ज सुक्खा बन्दरगाह र आईसीसीपी, भैरहवा, नेपालगन्ज, कृष्णनगर, कैलाली, तातोपानी, रसुवागढीसहितका भन्सार कार्यालयको प्रत्यक्ष भिडिओ निगरानी हुन थालेको भन्सार विभागका महानिर्देशक सुमन दाहाल बताउँछन् ।
भन्सारमा कर्मचारी, व्यापारी वा व्यक्ति कसैले कुनै बदमासी गरेको वा नगरेको भिडिओ रेकर्ड रहने उनले बताए । ‘भन्सार अब पूर्ण अटोमेसनमा गएको छ, कसैको बदमासी छिप्दैन,’ उनले भने, ‘बदमासी गर्न भन्सार आउन चाहने कर्मचारी पनि हतोत्साही भएका छन् ।’
केन्द्रीय निगरानीबाट राजश्व वृद्धि
केन्द्रीय नियमन विभाग प्रमुख खड्काका अनुसार, यात्रुले ल्याएका सा-साना पोकाहरु कतिपय अवस्थामा भन्सारले निर्बाध छोड्न सक्छन् । तर, प्रत्यक्ष भिडिओ दृष्य हेर्दा शंकास्पद लागे सम्बन्धित कार्यालयलाई पोका खोलेर देखाउन लगाउन सकिने उनले बताए ।
केन्द्रीय निगरानी बढाउँदा भन्सार कार्यालयहरुबाट एक महिनामा दुई करोड राजश्व वृद्धि भएको खड्काले बताए । ‘वस्तुको मूल्यांकनमा हुने समस्या समाधान गर्न पनि भिडिओ निगरानी उपयोगी देखियो’, उनले भने, ‘मूल्यांकन गर्न अप्ठ्यारो हुँदा तल्ला भन्सार कार्यालयहरुले भिडिओमा वस्तु देखाएर केन्द्रबाट टुंगो लगाउँछन् ।’
कागजात पूर्णरुपमा अटोमेसन (आसीकुंडा प्रणाली) मा गएको तर प्रत्यक्ष भिडिओ निगरानी सेवा सुरु नभएका बाँकी १२ भन्सार कार्यालयमा पनि छिट्टै यो प्रविधि जडान हुने विभागले जनाएको छ ।
नवीन ढुंगाना, अनलाइनखबरबाट