पाँच वर्षमा देशभर ३७ सिमेन्ट उद्योग दर्ता, अधिकांस लुम्विनी प्रदेशमा


  • नविन अर्याल(नयाँ पत्रिकाबाट)

नेपालगन्ज :  गत वर्ष आरएमसी समूहले साढे ७ अर्ब लगानीमा नवलपरासीको सिसियानीमा १८ सय टन क्लिंकर उत्पादन क्षमता भएको पाल्पा सिमेन्ट उद्योग सञ्चालनमा ल्याएको छ । नवलपुरमा मुलुककै ठूलो सिमेन्ट उद्योग सञ्चालनमा ल्याएको होङ्सी होल्डिङ ग्रुपले दाङमा पनि अत्याधुनिक उद्योग सञ्चालनमा ल्याउँदै छ । होङ्सीले नेपाली उद्यमीसँगको साझेदारीमा दाङ सिमेन्ट उद्योग किनेर सञ्चालन गर्न लागेको हो । नेपाल लगानी बोर्डले दाङ सिमेन्टका लागि ३२ अर्ब ५० करोड लगानी स्वीकृति गर्ने निर्णय गरेको छ ।

चिनियाँ कम्पनी हुवासिङले धादिङको महादेवस्थानमा १५ अर्ब लगानी गरेर ठूलो सिमेन्ट उद्योग लगाइरहेको छ । हुवासिङ उद्योग विभागमा गरेको प्रस्तावअनुसार वार्षिक ८ लाख टन सिमेन्ट र १० लाख ९५ हजार टन क्लिंकर उत्पादन गर्ने लक्ष्य छ । चौधरी समूहले रैनादेवी छहरा गाउँपालिका–२, सोमादीमा सिमेन्ट उद्योग निर्माण गरिरहेको छ । यस उद्योगबाट पनि वार्षिक ६ लाख टनभन्दा बढी सिमेन्ट उत्पादन हुनेछ ।

पछिल्लो पाँच वर्षमा मुलुकमा ३७ सिमेन्ट उद्योग दर्ता भइसकेको उद्योग विभागको तथ्यांक छ । जसमा १ खर्ब ८० अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता छ । विभागमा दर्ता भएमध्ये कतिपय सञ्चालनमा रहेका उद्योगले पनि क्षमता विस्तार गर्न लागेका छन् । अर्घाखाँची, मारुती, सम्राट, घोराहीलगायतका उद्योगले क्षमता विस्तार गर्न विभागमा लगानी थप्ने प्रस्ताव गरेका छन् ।

निर्माणले तीव्रता पाउने आशामा ओइरियो लगानी

भूकम्पपछि पुनर्निर्माण र विकास निर्माणले तीव्रता पाउने आशाले सिमेन्ट उद्योगमा लगानी ओइरिएको नेपाल सिमेन्ट उत्पादन संघका अध्यक्ष ध्रुव थापाले बताए । भूकम्पपछि भव्य पुनर्निर्माण हुने उद्योगीहरूको अनुमान रह्यो । लगत्तै ०७२ असोजमा मुलुकले नयाँ संविधान पायो । राजनीतिक दलहरूले राजनीतिक मुद्दा सकिएको बताउँदै विकास निर्माण र समृद्धिको रटान दिन थाले । नयाँ संविधान बनेपछि मुलुकमा विकास निर्माणले तीव्रता पाउनेमा लगानीकर्ताले विश्वास गरे । ०७४ चुनाव भएपछि नेकपाको नेतृत्वमा दुईतिहाइ बहुमतको सरकार बन्यो । दुईतिहाइ बहुमतको सरकार बनेपछि दशकौँपछि स्थिर सरकार आउने विश्वास भयो ।

‘लगानीकर्तालाई राजनीतिक दल र सरकारको एक मात्र मुद्दा विकास निर्माण हो भन्ने भयो, विकास र समृद्धि ल्याउन व्यापक पूर्वाधार निर्माण हुनुपर्‍यो, पूर्वाधार निर्माण गर्दा डन्डी र सिमेन्ट नभई भएन,’ थापा भन्छन्, ‘डन्डी र सिमेन्ट उद्योगमा व्यापक लगानी त ओइरियो, तर पुनर्निर्माणमा पनि आलटाल भयो, सरकारको प्राथमिकतामा विकास निर्माण पनि परेन, विकास बजेटको खर्च पनि घट्दै गयो, सरकार पनि स्थिर भएन, जहिल्यै किचलो भइरह्यो ।’ विकास निर्माणले गति समात्ला र सिमेन्टको माग बढ्ला भनेर लगानी विस्तार गरेकाहरूलाई अहिले टिक्न कठिन हुने अवस्था सिर्जना भएको छ ।


बजारमा मागभन्दा आपूर्ति दोब्बर

अहिले मुलुकभर ग्राइन्डिङ र क्लिंकर गरी ६४ उद्योग सञ्चालनमा छन् । यी उद्योगको वार्षिक उत्पादन क्षमता २ करोड टन नाघिसकेको छ । तर, बजारमा सिमेन्टको माग आधाभन्दा पनि कम छ । आर्थिक वर्ष ०७५र७६ मा सिमेन्टको माग १ करोड टन थियो । ‘आव ०७६र७७ मा सिमेन्टको माग १० प्रतिशतले बढेर १ करोड १० लाख टन खपत हुनुपर्थ्यो, तर दुर्भाग्य १ उल्टै १० प्रतिशत माग घट्यो,’ थापा भन्छन्, ‘कोभिड महामारीका कारण यस वर्ष सिमेन्टको माग घटेर ८० लाख टनमा सीमित हुने देखिन्छ ।’

अध्यक्ष थापाका अनुसार धेरै उद्योगहरूले अहिले परल मूल्यभन्दा पनि कममा सिमेन्ट बिक्री गरिरहेका छन् । विकास निर्माण ठप्प भएर सिमेन्टको माग घटेपछि पछिल्लो समय सिमेन्टको भाउ बोरामा १ सय २५ रुपैयाँसम्म घटेको बताइन्छ । उनी भन्छन्, ‘चार वर्षअघिको तुलनामा अहिले सिमेन्टको भाउ बोरामा ३ सय रुपैयाँ घटिसकेको छ ।’ उद्योगमा सिमेन्ट स्टक राख्न मिल्दैन । उत्पादन गरेको दुई–तीन दिनभित्र बजारमा पठाइसक्नुपर्छ । तर, बजारमा सिमेन्टको माग छैन । त्यसैले अहिले सिमेन्ट उद्योगहरू सिजनमै ३५–४० प्रतिशत क्षमतामा मात्र चलिरहेको उनले बताए ।

ठूलो क्षमता थपिँदै

डेढ दशकदेखि रोकिएको दाङ सिमेन्ट इन्डस्ट्रिज चिनियाँ कम्पनी होङ्सी होल्डिङ ग्रुपले नेपाली साझेदारसँग मिलेर चलाउँदै छ । होङ्सी होल्डिङ्सको सहायक कम्पनी हङकङ रेडलायन र नेपालका सारडा, गोयल र लक्की ग्रुपको साझेदारीमा दुई वर्षअअघि होङ्सी शिवम् सिमेन्टले उत्पादन सुरु गरेको थियो । ठूलो क्षमताको होङ्सी शिवम् सिमेन्ट उद्योग सञ्चालनमा आएपछि बजारमा सिमेन्टको भाउ घट्न थालेको बताइन्छ । दाङमा पनि दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्ने गरी उद्योग चलाउन थालेको एक सञ्चालकले बताए । दाङ सिमेन्टको मुख्य साझेदार भारतीय कम्पनी अम्बुजा सिमेन्टको सेयर स्वामित्व खरिद गरेर नयाँ लगानीकर्ताले उद्योग चलाउन थालेका हुन् । पाल्पामा निर्माण भइरहेको सिजी सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता दैनिक ६ हजार टन छ ।

धादिङमा निर्माण भइरहेको हुवासिन सिमेन्ट उद्योगमा पनि सिमेन्ट ८ लाख टन र क्लिंकर १० लाख ९५ हजार टन उत्पादन गर्ने उद्योग विभागमा पेस गरेको विवरणमा उल्लेख छ । यो उद्योगमा झन्डै १३ करोड लगानी हुँदै छ । ५ अर्ब लगानीमा काठमाडौंमा खोल्न लागिएको गरुड सिमेन्ट उद्योगले वार्षिक ८ लाख ९१ हजार टन सिमेन्ट उत्पादन गर्ने बताएको छ । विभागमा दर्ता भएको सिनर्जी सिमेन्ट उद्योगको वार्षिक क्लिंकर साढे ८ लाख टन र सिमेन्ट १० लाख टन उत्पादन गर्ने उल्लेख छ ।

 

प्रकाशित मितिः     ३ माघ २०७७, शनिबार ११:०७  |
error: Content is protected !!