दिनेशचन्द्र यादवको निधनमा नरैनापुरमा आईतवार सार्वजनिक विदा


  • जिएम यादव

बाँके,३ माघ । नरैनापुर गाउँपालिकाले भोली आईतवार सार्वजनिक बिदा गर्ने भएको छ ।

गाउँपालिकाको वडा नम्बर २ का स्थानिय बासिन्दा समेत रहेका भूमि व्यवस्थापन तथा सुकुमबासी समस्या समाधान आयोगका सदस्य एवम् पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री र संविधानसभाका सदस्य दिनेश चन्द्र यादवको निधन भएकोमा दुख ब्यक्त गर्दै गाउँपालिकाले एक दिनको लागि सार्वजनिक बिदा गर्न लागेको होे ।

गाउँपालिकाकी उपाध्यक्ष जयन्ती देबी श्रीवास्तवको अध्यक्षतामा शनिवार बसेको बैठकको निर्णय अनुसार यादवको निधन प्रति हार्दिक श्रदान्जली अर्पण र गहिरो सम्बेदना ब्यक्त गर्दै माघ ४ गते आकस्मिक स्वास्थ्य सेवा बाहेक सबै कार्यालय बिदा गर्ने गाउँपालिकाले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

सार्वजनिक बिदा गरिएको माघ ४ गतेका दिन सरकारी गैरसरकारी सँघसँस्था तथा बिद्यालयहरुमा समेत बिदा रहने गाँउपालिकाका सुचना अधिकारी लक्ष्मीकान्त मिश्रले बताउनुभयो ।

नेकपाका केन्द्रिय सदस्य तथा बाँकेका ईन्चार्ज समेत रहेका नेता यादवको निधनले यतिबेला नेकपा बाँके मात्र नभएर सिङ्गो बघौडा क्षेत्र शोकमय बनेकोछ । प्रजातन्त्रको आन्दोलन होस्, चाहे दश वर्षे सशस्त्र द्वन्द्व या २०६२/०६३ सालको जनआन्दोलनका क्रममा भएको राजनीतिक उतारचढावमा समेत निरन्तर बघौडा क्षेत्रका हितमा उहाँको महत्वपुर्ण योगदान रहेको थियो ।

पछिल्लो पटक बिरामी भएर सिकिस्त हुदाँ उनको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो । यादवको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि गत पुष १४ गते थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट उनलाई काठमाण्डौं लगिईएको थियो । काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारार्थ यादवको पछिल्लो पटक स्वास्थ्य अवस्था झन् गम्भीर बनेपछि भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो । नेता यादवको आफन्तहरुका अनुसार ग्राण्डी अस्पतालमा उपचाररत रहेकै अवस्थामा बिहीबार बिहान २ः३० बजे उपचारका क्रममा उहाँको निधन भएको थियोे ।
नेता यादवको मृत्युसंगै यतिबेला नेकपा बाँके स्तब्ध बनेकोछ । लोकप्रिय नेता यादव २०७० सालको संविधानसभा निर्वाचनमा नेकपा एमालेबाट बाँके क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका हुनुभएको थियो । यसका अलावा उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पहिलो सरकारमा खानेपानी राज्यमन्त्रीको जिम्मेवारी समेत निर्वाह गर्नुभएको थियो ।

यस्तै भूमि सम्बन्धि समस्या समाधान आयोगका केन्द्रिय सदस्य समेत हुनुहुन्थयो । बाँकेमा, खासगरी राप्तीपारी क्षेत्रमा नेकपा ९एमाले० लाई स्थापित गर्न अतुलनीय योगदान गर्नुभएका यादवलाई लोकप्रिय, मिलनसार र मृदुभाषी नेतामा गणना गर्ने गरिन्थ्यो । सांसद, राज्यमन्त्री र केन्द्रीय कमिटी सदस्यका रूपमा उहाँले गरेका योगदान त छँदैछन्, मधेसी समुदायबीच पार्टीलाई लोकप्रिय बनाउन महत्वपूर्ण भूमिका रहेको थियो ।

प्रकाशित मितिः     ३ माघ २०७७, शनिबार २०:१८  |