खानेतेलको मूल्य दिनहुँ बढेको बढ्यै


नेपालगन्ज। नेपालगन्जमा सबैभन्दा रुचाइने तेल हो, सनफ्लो ।

जसको मूल्य अहिले ह्वात्तै बढेको छ । एक महिनाअघि सम्म प्रति पोका ( आधार लिटर) ९० रुपैयामा विक्री वितरण हुने सनफ्लोको बजार मूल्य अहिले न्यूनतम १ सय १० पुगेको छ । त्यही पनि पाउन मुस्किल भएको छ ।

तिहारपछि खाद्यतेलको मूल्य अस्वभाविकरूपमा बढेको छ। तोरी, सूर्यमुखी र भटमासको तेलमा क्रमिक भएको मूल्यवृद्धिले उपभोक्ताको भान्सा महंगिएको छ।

किन बढ्यो तेलको मूल्य ? उपभोक्ताहरू बिक्रेतालाई भाउमा मनोमानी गरेको दोष दिन्छन्। बिक्रेता उत्पादकबाटै बढैर आएको भन्दै पन्छिन्छन्। नियमनकारी निकाय वाणिज्य उपभोक्ता संरक्षण विभागका अधिकारीहरू कारण खोजी भइरहेको भन्दै पन्छिन्छन्।

बिक्रेताहरूकै भनाइमा कोभिडको असर सुरू भएयता बजारमा तेलको खपत कम भएको छ। पहिले जस्तो होटल(रेष्टुरेन्टहरुमा तेलको खपत भएको छैन। उपभोक्ताले पनि ठूलो परिमाणमा खरिद गरेर स्टक राख्न छाडेका छन्। आपूर्ति सहज छ।

उद्योगहरुका लागि कच्चा पदार्थको आयातमा पनि समस्या छैन। तैपनि तेलको मूल्य हप्तैपिच्छे बढ्ने क्रम रोकिएको छैन। लकडाउन र निषेधाज्ञाका बेलाको स्टक व्यवसायीहरुले करिब करिब सबै बिक्री गरिसकेका छन्।

खपतको अवस्था सामान्य रहँदा पनि मूल्य घट्नुको साटो बढेको छ। यसमा पनि थोकदेखि खुद्रासम्म मूल्य फरक पर्ने हुदा उपभोक्ता महंगोमा किनेर खान बाध्य छन्। चाडबाड सकिएलगतै २ महिनामा भटमासको तेलको मूल्य प्रतिलिटर ४० रुपैयाँसम्म बढेको छ भने सनफ्लावर तेल पनि लिटरमा ४० रुपैयाँ बढेको छ।

गत कात्तिकमा प्रतिलिटर १८० रुपैयाँ रहेको सनफ्लावर तेल हाल २२० रुपैयाँ पुगेको छ। १७० रुपैयाँ रहेको भट्मासको तेल २०० देखि २२० रुपैयाँ भएको छ।

सरदर समान हुनुपर्ने मूल्य तेलका उत्पादक कम्पनी र ब्रान्डअनुसार पनि फरक फरक छ। गत महिनासम्म प्रतिकार्टुन १८ सयदेखि १९ सय पर्ने तेल २ हजार रुपैयाँभन्दा बढी पर्न थालेको व्यवसायीहरुले नै बताएका छन्। खुद्रा बिक्रेताहरू हरेक पटक होलसेलसँग खरिद गर्दा मूल्य बढ्ने गरेको प्रष्टीकरण दिन्छन्।

बजार नियमन गर्ने सरकारी निकाय वाणिज्य उपभोक्ता संरक्षण विभागका अधिकारीहरूसँग यसबारे एउटै तयारी जबाफ -( मूल्यवृद्धिबारे अनुसन्धान भइरहेको छ। ठोस निष्कर्षमा पुगेका छैनौं।

विभागले गत महिना थोक, खुद्रा बिक्रेता र तेल उत्पादक संघसँग छलफल गरेको जनाएको थियो। तेल उद्योगीसँग कच्चा पदार्थ आयात गरिएको प्रज्ञापनसहित मृल्यवृद्धि स्वाभाविक की अस्वाभाविक भन्नेमा खोजी गरिरहेको पनि बताइएको थियो।

केही तेल उद्योहरुको कच्चा पदार्थ आयातको प्रज्ञापनपत्र हेर्दा बाहिरबाटै मूल्य बढेर आएको देखिएको वाणिज्य विभागका निर्देशक शिवराम सेढाइले बताए। ुउद्योगीको कच्चा पदार्थ आयातमै मूल्य बढेर आएको तर्क सही रहेछ। उनीहरूको खरिद र लागत हेर्दा बढी मूल्य लिएको भन्न मिलेन,ु उनले भने। थप केही उद्योगका उत्पादनका बारेमा अनुसन्धान भइरहेको उनले बताए।

प्रकाशित मितिः     ४ माघ २०७७, आईतवार ०९:२९  |