कोभिड बिरुद्ध दिनरात खटिएर पनि अपजस व्यहोरेका एउटा स्वास्थ्यकर्मी !


नेपालगन्ज २८ माघ :  तेज ओली–कोरोना भाइरसको महामारी नियन्त्रण अभियानमा नेपालगन्जमा शुरुवाती दिनदेखि नै दिनरात नभनी खटिएका एउटा स्वास्थ्यकर्मी ! एघार महिना निरन्तर काममा खटिदाको परिणाम–उनले पुरस्कार होइन अनावश्यक अपजस व्यहोर्नु पर्यो । उनी त थियो थियो उनको बुवा र हजुरवुवासम्मलाई मुछ्ने काम भयो ।

पत्रकारलाई खोप लगाउने बाँकेका प्रमुख जिल्ला अधिकारी नेतृत्वको एउटा समितिले हचुवाका भरमा गरेको निर्णय कार्यान्वयन नभएको दोष लगाएपछि ओलीले कोभिड नियन्त्रण समितिको बाँके फोकल पर्सनबाट मंगलवार राजिनामा दिएका छन् ।

प्रमुख जिल्ला अधिकारीको कमजोरीका कारण हेल्थ असिस्टेन्ट रहेका ओलीले अनावश्यकरुपमा व्यक्तिगत आरोप प्रत्यारोप झेल्नु पर्यो जुन उनका लागि अप्रत्याशित थियो ।

 

ओली भन्छन्–‘असम्बन्धित कुरामा मलाई अनावश्यकरुपमा मुछ्ने काम भयो । मलाई त मुछियो –मुछियो मेरो बुवा र हजुरवुवासम्मलाई दोषरोपण गर्ने जुन कार्य गरियो त्यसले असाध्यै दुःखी बनाएको छ । यस्तो किन ? मलाई जवाफ चाहिन्छ ।’

३३ वर्षे स्वास्थ्यकर्मी ओली उर्जावान र प्राविधिक विषयका राम्रा जानकार समेत भएका कारण उनलाई कोभिड फोकल पर्सन बनाइएको थियो । नरेश श्रेष्ठको अभाव टार्ने क्षमता उनले मात्र राखेका थिए । त्यसअघि महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइन व्यवस्थापनको प्रमुख भए । लामै समय क्वारेन्टाइन व्यवस्थापनमा लागेका उनी नेपालगन्ज उपमहानगरपालिकाका कार्यरत छन् ।

निरन्तर कोभिड नियन्त्रण अभियानमा लाग्दा भोग्नुपरेको अपजसले असजिलो बनाए पनि आफु निरन्तर काममा खटिने उनले बताए । हेल्थ असिस्टेन्ट संघ बाँकेको सचिव समेत रहेका ओलीले आफुले कहिल्यै पनि कुनै फरक पेशा व्यवसायप्रति नकारात्मक भावना प्रकट नगरेको उल्लेख गर्दै भने, – तर मलाई उल्टो दोष लगाइयो ।

नेपालगन्ज १२ निवासी ओली पाँच वर्षदेखि सरकारी सेवामा छन् । त्यसअघि उनले बिभिन्न गैरसरकारी संस्था मातहतमा रही स्वास्थ्य सेवामा काम गरेका थिए । सरकारी सेवामा प्रवेशसंगै उनले हेल्थ पोष्टकोे प्रमुख भई काम गरिसकेका छन् । काम गर्ने क्रममा थुप्रै तितामिठा अनुभव व्यहोरेका उनले भने,– तर यस्तो अनुभव मैले कहिल्यै व्यहोर्नु परेन ।

 

प्रकाशित मितिः     २८ माघ २०७७, बुधबार ०९:३८  |