काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले नेपाल फुड ब्रान्ड मार्फत बिक्री गरेको जुम्लाको मार्सी चामलको स्टक रित्तिन लागेको छ ।
कम्पनीले जुम्लामा उत्पादित मार्सी चामल नेपाल फुड ब्रान्डको नाम गरी बिक्री गर्ने थालेको एक महिना नहुँदै स्टक सकिएको छ । गत माघ १५ देखी मार्सी चामलको बिक्री सुरु गरेको थियो ।
खाद्यले नयाँ चामल भएकोले सुरुवातमा उपभोक्ताबाट प्रतिक्रिया बुझ्नका लागि करिब २ सय ७० क्विन्टल चामल खरिद गरि बिक्री थालेको थियो ।
उक्त चामलको स्टकमध्ये यतिबेला करिब १ सय १६ केजी मात्र बाँकी रहेको कम्पनीकी सूचना अधिकृत सर्मिला सुवेदीले बताइन् । यति चामलले धेरै माग भएको समयमा एक दिनलाइ पनि नपुग्ने उनको भनाइ छ ।
कम्पनीको ५ वटा आउटलेटबाट मार्सी चामल बिक्रीमा राखिएको थिए । अहिले कम्पनीको २ वटा आउटलेट भक्तपुर र लगनखेलमा मात्र बाँकी रहेको सुवेदीले बताइन । अन्य आउलेटहरुमा बुधबारदेखि नै चामलको स्टक सकिएको थियो।
चामलको माग निकै राम्रो भएको कारण कम्पनी उत्साहित छ। सरकारी कम्पनीले पहिलो पटक नेपाल फुड ब्रान्डमा एक केजीको प्याकिङ गरी बिक्री सुरु गरेको थियो ।
कम्पनीले बिक्री गर्न थालेको पहिलो दिनमै ९३ केजी चामल बिक्री भएको थियो । त्यसपछि चामलको बिक्री बढेर एक दिनमा ३ सय ८० केजी सम्म बिक्री भएको थियो।
बाहिर बजारमा सजह रुपमा नपाइने मार्सी चामल कम्पनीले प्रतिकेजी २ सय २५ रुपैयाँ मूल्य तोकेर बिक्री गरेको थियो ।
जुम्लामा थोरै परिमाणमा उत्पादन हुने मार्सी चामल केपी ओली र प्रचण्डले खाएको तस्वीर सार्वजनिक भएपछि चर्चामा आएको थियो।
मार्सी चामल अन्य चामल भन्दा फरक स्वादको र पोसिलो हुने भएकोले उपभोक्ताहरु यस चामलप्रति आकर्षित भएका हुन् ।
कम्पनीले मार्सी धान खरिद नगर्ने

खाद्य ब्यवस्था तथा व्यापार कम्पनीले चालु आर्थिक बर्षमा मार्सी धान खरिद नगर्ने भएको छ ।
यसअघि कम्पनीले करिब ५ सय मेट्रिक टन धान खरिद गर्न लागेको थियो । जुम्लाका किसानहरु व्यवसायीलाइ धान बिक्री गरेको हुनाले कम्पनीलाई समस्या भएको बताएका छन् ।
अब धान नकिनी सीधै चामल किन्ने तयारीमा कम्पनी रहेको छ।
व्यवसायीबाट मार्सी धान खरिद गर्दा कम्पनीलाई महंगो पर्ने भएकोले पहिले झैं सुर्खेतबाट २ सय क्विन्टल चामल खरिल गर्न टेण्डर समेत निकालेको छ ।
गत महिना धान पाक्ने समय नभएकोले कम्पनीले सुर्खेतबाट २ सय ७० क्विन्टल चामल खरिद गरेको थियो ।
दोस्रो पटक खरिद गर्न लागेको चामल पहिले भन्दा फरक रंगको भएकोले खरिदमा समस्या हुने हो कि भन्ने आशंका सुवेदीले व्यक्त गरिन्।
पहिलेको मार्सी रातो रातो थियो । अहिले मार्सी सेतो आउनेछ। यसले बिक्री गर्न मुस्किल हुने हो कि भन्ने लागेको छु- सुवेदीले भनिन्।