विपद्मा व्यवस्थापनका लागि प्रदेशस्तरीय मानवीय प्रतिकार्य स्पियर निर्देशिका प्रशिक्षण सम्पन्न


नेपालगन्ज : विपद्मा व्यवस्थापनका लागि लुम्बिनी प्रदेशस्तरीय तीन दिने मानवीय प्रतिकार्य स्पियर निर्देशिका प्रशिक्षका सम्बन्धी प्रशिक्षण तालिम आइबार बुटवलमा सम्पन्न भएको छ ।

स्पियर तालिममा विपद्मा मानवीय वडापत्र तथा मानवीय प्रतिकार्यमा न्यूनतम मापदण्डका विषयमा गहन रुपमा छलफल र समूहगत प्रस्तुती गरिवएको थियो । विपद्मा मानवीय सेवामा काम गर्नका लागि अन्तराष्ट्रिय र राष्ट्रिय अनुभवका आधारमा रेडक्रस र रेडक्रिसेन्टका अगुवाइमा पहिलो पटक सन् १९९७मा तयार पारेको वडा पत्र हो । यसले मुख्यगरी विपद् वा द्वन्द्वमा परेका मानिसको मर्यादित जीवन बाँच्न पाउने अधिकार र उनीहरुले प्राप्त गर्ने सहयोग र मानवीय पीडालाई कम गर्ने चालिनु पर्ने कमद स्पियरका मुख्य मुल सिद्धान्तमा विश्वास रहेका काम गर्ने दस्तावेज भएको केयर नेपालका परियोजन व्यवस्थापक केशवदत्त भट्टले जानकारी दिनु भयो ।

विपद्मा परेका नागरिकलाई संरक्षण, मानवीय मापदण्ड, पानी आपूर्ति, सरसफाइ तथा स्वास्थ्य प्रवर्धन, खाद्य सूरक्षा तथा पोषण, आवास तथा वस्ती व्यवसथापनका विषय प्रशिक्षण दिइएको प्रकोप पूर्वतयारी सञ्जाल (डिपिनेट) नेपालका अध्यक्ष एवम् प्रशिक्षक सूर्यबहादुर थापाले जानकारी दिनु भयो ।

लुम्बिनी प्रदेशका विभिन्न चार जिल्लाका प्रतिनिधिमूलक संस्थाका प्रतिनिधिमूलक व्यक्तिलाई पहिलो चरणमा स्पियर मापदण्ड र यसका विषयमा प्रशिक्षण संचालन आवश्यक रहेको कारण तालिमको आयोजना गरिएको कमैया महिला जागरण समाजका कार्यक्रम निर्देशक मानबहादुर डाँगीले जानकारी दिनु भयो । विपद्मा सेवा प्रदान गर्दा मानवीय पक्षलाई ध्यानमा राख्दै अन्तराष्ट्रिय स्तरमा निखारिएका अनुभवलाई समेत नेपालमा कार्यान्वयका लागि सहज बनाउन यो कार्यक्रम सहयोगी हुने निर्देशक डाँगीले जानकारी दिनु भयो ।

स्पियर मापदण्डका आधारमा नेपालमा पनि विपद्मा परेका प्रभावितलाई सहयोग गर्नका लागि स्थानीय तह देखि केन्द्रसम्मले सोही मापदण्डका आधारमा काम गर्न आवश्यक रहेका प्रशिक्षक अधिवक्ता विष्णु प्रसाद तिमिल्सीनाले जानकारी दिनु भयो ।

उहाँका अनुसार विपद्का पीडितलाई मानवीय आधारमा आवश्यक सहयोग गर्नु पर्ने र जसका लागि नीतिमा पनि सुधार गर्नुपर्ने धारणा राख्नु भएको थियो ।

तालिममा लुम्बिनी प्रदेश आन्तरिक तथा कानुन मन्त्रालयका प्रतिनिधि, सामाजिक विकास मन्त्रालयका प्रतिनिधि, बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी, बाँके, बर्दिया र दाङ जिल्लाका जिल्ला आपत्तकालिन कार्यसञ्जाल केन्द्रका सूचना व्यवस्थापन अधिकृतहरु, समुदायमा विपद् व्यवस्थापन केन्द्रका प्रतिनिधि र विपद् व्यवस्थापनका क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाका प्रतिनिधि र संचारकर्मीको सहभागिता रहेको थियो ।

लुम्बिनी प्रदेश आन्तरिक तथा कानुन मन्त्रालय केयर नेपाल, वी ग्रुपको समन्वयमा कमैया महिला जागरण समाज नेपालको आयोजनामा सो तालिमको आयोजना गरिएको थियो ।
तालिमको सहजीकरण केशवदत्त भट्ट, अधिवक्त विष्णु प्रसाद तिमिल्सीना, सूर्यबहादुर थापा र शक्ति गरुङ्गले गर्नु भएको थियो ।

प्रकाशित मितिः     ९ फाल्गुन २०७७, आईतवार १९:२७  |