नौवस्ता औद्योगिक क्षेत्र बने २० हजारलाई रोजगारीको लक्ष्य !


नेपालगन्ज : सरकारले बाँकेको नौवस्ता सहित देशभरका पाँचवटा औद्योगिक क्षेत्रको शिलान्यास गर्दैछ ।

नौवस्ता औद्योगिक क्षेत्रको शिलान्यास फागुन ११ गते उद्योग मन्त्री लेखराज भटट्ले गर्ने तयारी भइरहेको हो ।

बस्ति व्यवस्थापनको समस्याका कारण नौवस्ता औद्योगिक क्षेत्रको काम अघि बढ्न सकेको छैन । तर शिलान्याससंगै काम अघि बढ्ने बिश्वास गरिएकोे छ ।यो औद्योगिक क्षेत्र पनि ०७२ चैत १ कै मन्त्रिपरिषद् निर्णयबाट बाँके जिल्लामा विकास गर्न लागिएको हो।

५ सय २५ बिघा क्षेत्रफलमा फैलिने यो औद्योगिक क्षेत्रमा १ सय ११ वटा प्लट हुनेछन् । प्रत्येक प्लटको आकार ९ देखि ३० रोपनी रहनेछ। यसको कुल लागत ८ अर्ब ८८ करोड हुने अनुमान छ।

पाँच वर्षमा निर्माण सक्ने लक्ष्य बनाइएको यस औद्योगिक क्षेत्र संचालनमा आएपछि यसबाट प्रत्यक्ष परोक्ष रूपमा २० हजारलाई रोजगारी दिने लक्ष्य लिइएको छ। यो औद्योगिक क्षेत्रमा पनि अन्य औद्योगिक क्षेत्र सरह सेवा सुविधा उपलब्ध गराउने उल्लेख छ।

नेपालगन्ज औद्योगिक क्षेत्रभन्दा १९ गुणा ठूलो क्षेत्रफलमा निर्माणाधीन यो औद्योगिक क्षेत्रमा पूर्वआशयपत्र पेस गर्ने उद्योगीले चाउचाउ, दुग्ध पदार्थ, चिसो पेय पदार्थ, जडीबुटीजन्य, खाद्यान्न, फर्निचरलगायत छन्।

प्रकाशित मितिः     ११ फाल्गुन २०७७, मंगलवार ०६:१७  |