नेपालगन्ज : रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं ३ बेतहीमा रहेको एभरेष्ट डोर इन्डिष्टिज तथा सदिक्षा स–मिलमा भीषण आगलागी भएको छ । आगलागीमा ९ करोडको क्षति भएको अनुमान छ ।
प्लाई, प्लाईका ढोका उत्पादन गर्ने उद्योगमा आगो लागेको हो । विद्युत् सट भएर आगलागी भएको बताइए पनि यकिन कारण भने खुलेको छैन । रुपन्देहीका ५ वटा दमकल, स्थानीय र प्रहरीको संयुक्त प्रयासमा आगलागी ४ घण्टापछि नियन्त्रणमा आएको थियो ।
उद्योगमा तयारी ढोका र प्लाइउड, कच्चादेखि दुई करोड रुपैयाँसम्म पर्ने ठूला मेसिनसमेत पूर्ण रुपमा जलेर कामै नलाग्ने भएको इन्डष्ट्रिजका प्रबन्धक रामप्रसाद खनालले बताए । उद्योगमा आगोको मुस्लो देखेपछि छिमेकीले सञ्चालकलाई खवर गरेका थिए । ३ वर्ष अगाडि १५ करोड लगानीमा उद्योग सञ्चालनमा आएको थियो । उद्योगमा १ सयभन्दा बढी मजदुरले रोजगारी पाएका छन् ।
आगलागीमा क्षति भएको उद्योग दुई महिला उद्योगी भगवती पाण्डे र गीता बस्याल सञ्चालन गरेका हुन् । उद्योग सञ्चालक सूर्यप्रसाद खनालले बजारमा पठाउन तयार भएको तयारी सामान जलेर नष्ट भएको बताए ।
आगलागीबाट कच्चा पदार्थ, तयारी सामान सवै नष्ट भएको उद्योगीको भनाइ छ । करोडौ रुपैयांको क्षति भएपनि स्थानीय तहका पदाधिकारी तथा कर्मचारी हेर्नसमेत नआएको खनालले बताए । एभरेष्ट इन्डष्ट्रिज रुपन्देहीमा ठूलो धनराशी लगानी गरी सञ्चालनमा ल्याइएको उद्योगमध्ये पर्छ ।
यस्तै कैलालीको धनगढीमा ठुलो लगानीमा खुलेको फर्निचर उद्योग उद्घाटन नहुँदै जलेर ध्वस्त भएको छ । फागुन महिनाभित्रै भव्य उद्घाटन गर्ने तयारीमा रहेको आलोक मल्टी कन्सर्न शनिवार क्षणभरमै खरानी भएको हो ।
‘उद्घाटनको तयारी भइरहेको थियो तर, आगोले सत्यानाश गरिदियो’ उद्योगका व्यवस्थापक अरिफ अहमद राईले भने, ‘करिब २० करोडको क्षति भएको छ ।’ प्रहरीले भने अहिले क्षतिको यकिन विवरण नआइसकेको बताएको छ ।
‘आगलागीबाट ठुलो क्षति भएको छ तर कति रुपैयाँको क्षति भयो भन्नेबारे हामीले विवरण लिइरहेका छौँ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले भने ।
एक वर्षको तयारीपछि उद्योग उद्घाटनको तयारी गरिएको थियो । शनिवार उद्योगमा लागेको आगोले उद्योग पूर्णरूपमा नष्ट भएको छ । आगलागीको कारण खुलेको छैन ।
भोजराज भट्ट र पदम भण्डारीले सञ्चालनमा ल्याउन लागेको फर्निचर उद्योगमा शनिवार दिउँसो १२ बजेको आसपास एक्कासि धुवा देखिन थालेको थियो ।
उद्योग भएको स्थानमा बेल्डिङको काम भइरहेको र त्यहाँबाट निस्केको आगोको झिल्कोले आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । तर, प्रहरीले भने अझै पनि आगलागीका कारण खुल्न नसकेको जनाएको छ ।