अघि बढ्ने भयो मोतिपुर औद्योगिक करिडोर, विवाद बढाउनेका पछि स्थानीय नलाग्ने


रुपन्देही :  मोतिपुर औद्योगिक करिडोर निर्माणमा ब्यवधान खडा गर्नेहरुले जतिसुकै राजनीतिक मुद्वा वनाउन खोजे पनि उनीहरुको मुकुण्डो एक दिन पनि टिकेन ।

शुक्रवार दिउसो अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिलान्यास गर्ने कार्यक्रमलाई विथोल्ने प्रयास असफल भए लगत्तै शनिवार दिउसो नेपाल औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेड र मोतिपुर औद्योगिक करिडोर प्रभावित स्थानीय बासिन्दाहरुकाबीच मोतिपुर औद्योगिक करिडोर निर्माणलाई निर्वाध अगाडी बढाउने गरी सहमती भएको छ ।

हिजो दिउसोदेखि सरकारले स्थानीय वासिन्दाको हक अधिकार खोसेको आरोप लगाउँदै जन विरोधी विकासको आवश्यक नरहेको कुतर्क गर्नेहरुलाई जनताले लोप्पा खुवाइदिएका छन् ।

औद्योगिक क्षेत्रको निर्माण पश्चात् रोजगारीको ग्यारेन्टी गर्ने, स्थानीय उद्योगलाई प्राथमिकता दिनुपर्नेजस्ता माग गर्न छाडेर आयोजनानै असफल पार्ने कुत्सित मनसायलाई स्थानीयले चोटिलो प्रहार गरेका छन् ।

सहमति पश्चात् टोल बिकास संस्थाका अध्यक्षहरुले शुक्रवार भएको घटनामा आफुहरुलाई गलत ढंगले प्रयोग गर्न खोजिएको बताए ।
पहिलो चरणमा बुटवल उपमहानगरपालिका वडा नं १७ रानिगञ्जका २ हजार ३ सय घरधुरी रहेका स्थानीयका प्रतिनिधि र औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतका बिच ७ बुंदे सम्झौता भएको छ । जस अनुसार औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण कार्य द्रुत गतिमा अगाडी बढाउने सहमती भएको छ ।

स्थानीयको तर्फबाट नमुना टोल बिकास संस्थाका अध्यक्ष धर्मवीर बुढाथोकी र औद्योगिक क्षेत्र ब्यवस्थापन कार्यालयका तर्फबाट अध्यक्ष बस्नेतले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतामा शिलान्यासका क्रममा भएको घटनाप्रति दुख ब्यक्त गर्दै मोतिपुर औद्योगिक करिडोरको निर्माणलाई स्वागत गरिएको छ । यस्तै जग्गाको नांपजाँच र यकिन तथ्यांक तयार गरी निर्माण कार्य अगाडी बढाउने, आगामी दिनमा करिडोर निर्माणमा अवरोध गर्नेहरुप्रति प्रतिवाद गर्ने, करिडोर निर्माणका लागि बातावरणीय प्रभाव मूल्यांकनलाई अन्तिम रुप दिन सार्वजनिक सुनुवाई गर्ने र त्यसका लागि स्थानीयले सहयोग गर्ने सहमती भएको छ ।

त्यस्तै बुटवल उपमहानगरपालिका अन्तरगत साविक मोतिपुर गाविसको सेक्टर बि अन्तरगतको कित्ता नं ४७ र ४८ लाई अलग राखि डिपिआर गरिएको र त्यसको यथोचित ब्यवस्थापन गरि काम अगाडी बढाउने कुरा पनि उल्लेख छ ।

वडा नं १७ का वडा अध्यक्ष सन्त बहादुर रानाको रोहवरमा भएको सहमती पत्रमा टोल बिकास संस्थाका अध्यक्ष बुढाथोकीसंगै २ हजार ३ सय घरधुरीको तर्फबाट १० वटा टोल बिकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु तथा ५ वटा सेक्टरका अध्यक्षहरुले सहमती जनाएका छन् ।

प्रकाशित मितिः     २३ फाल्गुन २०७७, आईतवार ०८:०२  |