दूधमा आत्मनिर्भर बन्नै बाँकी


कास्की। नेपाल दूधको उत्पादनमा आत्मनिर्भरतातर्फ अघि बढेको भए पनि अपेक्षितरूपमा उत्पादनमा फड्को मार्न नसकेको व्यवसायीले बताएका छन्।

देशभरका दुग्ध प्रशोधन उद्योगको छाता संस्था डेरी उद्योग संघको शुक्रबार पोखरामा भएको १२ औं वार्षिक साधारणसभामा हालको दूधको उपलब्धता प्रतिव्यक्ति ७८ लिटर प्रतिवर्ष रहेको जानकारी दिइयो।

दूधमा आत्मनिर्भर हुनको लागि विश्व खाद्य तथा कृषि संगठनको सिफारिसअनुसार दैनिक २५२ मिलि प्रतिव्यक्ति वा वार्षिक ९१ लिटर प्रतिव्यक्ति आवश्यक पर्छ। हाल नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष १३ लिटर दूध अपुग रहेको संघका केन्द्रीय अध्यक्ष राजकुमार दाहालले बताए।

मुलुकमा हाल दूधको उत्पादन २२ लाख ६८ मेट्रिक टन छ। यसमा गाईको दूधको हिस्सा लगभग ३० देखि ३५ प्रतिशत र भैंसीको ६५ प्रतिशत छ। दूध उत्पादन वृद्धि गत वर्षको तुलनामा करिब चार प्रतिशतको रहेको अध्यक्ष दाहालले जानकारी दिए। संघका अनुसार नेपालका निजी क्षेत्रको डेरी उद्योगमा लगानी ३० अर्बको हाराहारी पुगेको छ भने यो क्षेत्रले ३० हजार रोजगारी सिर्जना गरेको छ। देशभर दुग्ध उत्पादन व्यवसायमा पाँच लाख कृषक परिवार आबद्ध छन्।

दुग्ध क्षेत्रको मात्र कूल राष्ट्रिय उत्पादनमा नौ प्रतिशत योगदान रहेको र दैनिक पाँच करोड तथा वार्षिक १२ अर्ब रुपैयाँ शहरबाट गाउँतर्फ नगद प्रवाह भइरहेका कारण दुग्ध उत्पादन व्यवसाय ग्रामीण स्वरोजगारको मुख्य अंग बनेको छ। नेपालमा भारत तथा तेस्रो मुलुकबाट करिब दुई अर्बभन्दा बढीको दूध र दुग्धजन्य पदार्थ आयात भइरहेको छ।

नेपालमा ठूला दुग्ध प्रशोधन उद्योग चार, मझौला ३०, साना ५० र घरेलु तथा साना गरी ५०० भन्दा बढी दूध उत्पादन गर्ने क्षमताका डेरी रहेको संघका निर्वतमान अध्यक्ष इञ्जिनियर अरनिको राजभण्डारीले बताए। संघले ससाना डेरी उद्योगले खाद्यको अनुज्ञापत्र र लेवल बिना सञ्चालन भएका कारण उपभोक्ताले पूर्णरुपमा गुणस्तरको प्रत्याभूति गर्न नसकेको तथा अस्वस्थ प्रतिस्पर्धा हुन गएकाले नियमनकारी निकायको ध्यान जानुपर्नेमा जोड दिएको छ।

त्यस्ता उद्योगमा अनुगमन गरी खाद्य अनुज्ञापत्र, लेबल, भ्याट र प्यानको दायराभित्र ल्याई हालै जारी भएको दूधसम्बन्धी खाद्य स्वच्छता निर्देशिका २०७५ को मूल भावअनुसार दुग्ध क्षेत्रको गुणस्तर अभिवृद्धि गर्न माग गरिएको छ। मौसमअनुसारको दूध उत्पादनको कारण जाडो महिनामा ९असोजदेखि फागुनसम्म० उत्पादन बढी भई किसानको दूधले बजार नपाउने अवस्था र गर्मी महिना ९चैतदेखि भदौ० सम्म दूधको अभाव भई निर्यातित दुग्धजन्य पदार्थमा निर्भर हुनुपरेको छ।

उत्पादन बढी हुने मौसममा दूधलाई व्यवस्थापन गर्न संघले ‘मिल्क होलिडे’ समस्या न्यूनीकरण गर्न चितवन मिल्क लिमिटेड र पोखरास्थित सुजल डेरीमा लगेर सम्पूर्ण निजी डेरी उद्योगमा बढी दूधलाई धुलो दूधमा रुपान्तरण भइरहेको अध्यक्ष दाहालले बताए। चालु आर्थिक वर्षमा दुवै उद्योगमा गरी ९० लाख लिटर दूध धुलोमा परिणत गरिएको छ।

भारतको बहुर्राष्ट्रिय कम्पनी अमूलले नेपालको पूर्वी क्षेत्रबाट दूध किनेर सीमाभन्दा सात किमी टाढा सिक्किममा रहेको आफ्नो प्रशोधनशालामा लाने योजना सार्वजनिक गरेको भन्दै संघले चिन्ता जनाएको छ । यसबाट कच्चा दूध निर्यात गरी प्रशोधित दुग्ध पदार्थ आयात गर्नुपर्ने अवस्था आउने र नेपाली डेरी उद्योग आफ्नो क्षमताभन्दा कममा सञ्चालन हुने व्यवसायीले बताएका छन्।

प्रकाशित मितिः     १ चैत्र २०७७, आईतवार ०६:५२  |