वित्तीय क्षेत्रका ‘उमन लिडर’


  • बिजमाण्डुबाट

काठमाडौं। नेपालको पुँजी बजारमा आबद्ध लगानीकर्ताहरुमध्ये ४१ प्रतिशत महिला रहेको देखिएको छ। यस्तै हाल खुलेका बैंक खाताहरुमध्ये ४२ प्रतिशत महिलाको नै रहेको पाइएको छ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एनसीएचएलले नेपालको वित्तीय क्षेत्रको नेतृत्वदायी भूमिकामा संलग्न महिलाहरुको सहभागितामा वेबिनारमार्फत आयोजना गरेको कार्यक्रम वित्तीय क्षेत्रमा डिजिटाइजेसन र महिलाको पहुँचु का दौरान सहभागी उल्लेखित महिला लिडरहरुले प्रस्तुत गरेको तथ्यांकअनुसार यस्तो देखिएको हो।

मेगा बैंकको मात्र बचत खाता हेर्दा ४८ प्रतिशत पुरुष र ३१ प्रतिशत मात्रै महिला रहेको बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले बताइन। समग्र खाता हेर्दा भने मेगा बैंकको ४४ प्रतिशत खाता महिलाको नाममा रहेको छ।

महिलाको बैंक खाता संख्या राम्रोसँग बढ्दै गएको भएपनि विद्युतीय कारोबार वा मोबाइल बैंकिङ प्रयोग गर्ने महिलाहरु भने अझै पनि न्यून देखिएका छन्। बैंक खातासँग जोडिएको विद्युतीय भुक्तानी सेवा प्रदायक एनसीएचएलको कनेक्ट आइपीएसमा अझै पनि २० प्रतिशत मात्रै महिलाको पहुँच छ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेडको तथ्यांकअनुसार अहिले सेयर बजारमा लगानीका लागि खोल्नुपर्ने डिम्याट खाताको संख्या ३० लाख नाघिसकेको छ। यसमध्ये साढे १२ लाख डिम्याट खाता महिलाको रहेको सीडीएस एन्ड क्लियरिङ लिमिटेडकी प्रमुख सञ्चालक कञ्चन सापकोटाले बताइन। अझ तीमध्ये पाँच लाख ८० हजार खाता वागमतीका महिलाहरुको रहेको उनले जानकारी दिइन।

यस्तै, नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिमल्सिनाका अनुसार हाल सक्रिय रहेका बैंक खाताहरुमध्ये ४२ प्रतिशत महिलाको रहेका छन्। यस्तै, लघुवित्त संस्थाहरुमा आबद्ध महिला तथा उनीहरुमा वित्तीय पहुँच पनि अत्यन्त उत्साहजनक रहेको तिमल्सिनाले आँकडा उल्लेख गरिन। उनका अनुसार, हाल देशभर संचालित लघुवित्तका कुल सदस्यहरुमध्ये ९८ प्रतिशत महिला छन्।

साथै, लघुवित्तबाट वित्तीय सुविधा प्राप्त गर्नेमा पनि अधिकांश महिला नै रहेका छन्। लघुवित्तका ९८ प्रतिशत ऋणी महिला नै रहेको तिमल्सिनाले बताइन्।

राष्ट्र बैंकको तथ्यांकअनुसार अहिले लघुवित्तका सदस्य संख्या ४८ लाख पुगेको छ। यस्तै, यसका ऋणीहरुको संख्या पनि करिब ३० लाख पुगिसकेको छ। राष्ट्र बैंकले दिएको सहुलियतका कारण महिलाले कम ब्याजदरमा ऋण पाउने भएकाले कर्जामा पनि महिलाको सहभागिता बढ्दो रहेको मेगा बैंककी व्यवस्थापन प्रमुख खुञ्जेलीले बताइन।

बैंकिङ र सेयर बजारमा लगानीका लागि अग्रसरता देखाउने महिलाहरुको संख्या सन्तोषजनक देखिए पनि बीमामा महिलाको पहुँच कमजोर पाइएको छ। युनाइटेड इन्स्योरेन्सकी कामु प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलका अनुसार अहिलेसम्ममा बिक्री भएका बीमा पोलिसीहरुमध्ये २० प्रतिशत मात्रै महिलाको नाममा रहेको छ। त्यसमा पनि १२ प्रतिशत मात्रै डिसिजन मेकिङमा महिला छन्।

कोभिड-१९ पछि वित्तीय क्षेत्रमा प्रविधिको प्रयोग बढेर गएको छ। खानेपानी, बिजुली, स्कुल फी अनलाइनबाट तिरिएको छ। किनमेल अनलाइनबाट गरिएको छ। यो सबैले प्रविधिसँगै वित्तमा महिलाको पहुँच पहिलेको भन्दा केही बढाएको डेपुटी गभर्नर तिमल्सिनाले बताइन।

वित्तीय साक्षरताको अभावमा वित्तीय पहुँच अझै बलियो बनिनसकेको छैन, तिमल्सिनाले भनिन्, -वित्तीय साक्षरता बढाउन यससम्बन्धी कार्यक्रम संचालन गर्दा त्यसमा डिजिटल बैंकिङ पनि अनिवार्य रुपमा समावेश गर्नुपर्छ। राष्ट्र बैंकले पनि अब डिजिटल भुक्तानीलाई जोड दिइसकेको छ। क्युआर कोडको व्यापक प्रयोग भइरहेको छ।

वित्तीय क्षेत्रमा महिला कर्मचारी बढ्दै

घरासयी कामबाट विस्तारै बाहिर आउन थालेपछि रोजगार बजारमा महिलाको सक्रियता पनि बढ्दै गएको छ। महिला स्वयम् सक्रिय हुनुका साथै रोजगारीमा आरक्षणका कारण पनि कामकाजी महिलाको संख्या सुधारोन्मुख देखिएको वेबिनारमा सहभागी सम्बन्धित विभिन्न बैंक तथा वित्तीय क्षेत्रका संस्थाका व्यवस्थापकी नेतृत्वमा रहेका महिलाहरुले बताए। नेपालको वित्तीय क्षेत्रमा रोजगार महिलाको संख्या पनि त्यससँगै बढेको उनीहरुको भनाइ थियो। यद्यपि यो संख्या सन्तोषजनक भने देखिँदैन।

राष्ट्र बैंकका कर्मचारीको २० प्रतिशत मात्र महिला रहेको पाइएको छ। राष्ट्र बैंककमा कुल ११ सय कर्मचारीमा २२० जना महिला छन्। तर अफिसर लेभलबाट छिरेका महिलाहरु पक्कै पनि माथि आउने र राष्ट्र बैंकको नेतृतव गर्न सक्ने कुरामा आफू आशावादी रहेको हालै डेपुटी गभर्नर नियुक्त तिमल्सिनाले बताइन। उनी राष्ट्र बैंकको इतिहासकै पहिलो महिला गभर्नर समेत हुन।

वित्तीय क्षेत्रका संस्थाहरुमा अहिले तल्लो तहमा धेरै महिला कर्मचारी हुनुको अर्थ आगामी दिनमा उनीहरु माथिल्लो तहमा आउन तयार हुँदै गरेको मेगा बैंककी प्रमुख कार्यकारी खुञ्जेली बताउँछिन्। भन्छिन्, -हाम्रो बैंकमा अहिले एक हजार ८४० कर्मचारी छन्। त्यसमध्ये ८०० जति महिला कर्मचारी मात्रै छन्। नेतृत्व तहमै पाँचजना महिला छौं। सबै क्षेत्रमा महिलाको सहभागिता बढ्दो छ।

प्रकाशित मितिः     २ चैत्र २०७७, सोमबार ०७:४२  |