नेपालगन्ज। नेपालगन्जमा क्युआर कोर्ड मार्फत रकमको भुक्तानी बढ्दै छ । बैंक तथा वित्तीय संस्थाले यसको प्रयोगलाई बढाएका छन् । माछापुच्छ्रे बैंकले नेपालगञ्जमै पहिलोपटक एकैदिन ४ स्थानमा औपचारिक कार्यक्रम गरेर क्युआर कोडमार्फत भुक्तानी सेवा थालेको छ।
बाँके जिल्लालाई स्मार्ट बनाउने उद्देश्यले माछापुच्छ्रे बैंकले एकैदिन नेपालगञ्जकै न्यूरोडमा रहेको हङकङ बजार, नेपालगञ्जमा रहेको सनराइज यातायात तथा रानी तलाउमा रहेको कृषिउपज बजार समिति र कोहलपुरमा रहेको कृषि बजार व्यवस्थापन समितिअन्तर्गत सञ्चालनमा रहेका तरकारी तथा फलफूल पसलहरुमा क्युआर कोड हस्तान्तरण गरेको छ।
बुधबार आयोजित छुट्टाछुटै अपौचारिक कार्यक्रममार्फत नेपाल राष्ट्र बैंक, नेपालगञ्जका निर्देशक गोविन्दप्रसाद नागिलाले ती स्थानमा क्युआर कोड सेवाको सुरुआत गरे।
उक्त क्युआर कोड सेवा सुरु भएसँगै नेपालगञ्जबाट बर्दिया, धनगढी, दाङ रुटमा चल्ने सनराइज यातायातमा यात्रा गर्ने यात्रुले आफूले तिर्नुपर्ने गाडी भाडा क्युआर कोड प्रयोग गरेर सिधै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन्।
पछिल्लो समय देशका धेरैजसो स्थानमा माछापुच्छ्रे बैंकले आक्रामक रुपमा क्युआर कोडमार्फतको भुक्तानी सेवालाई विस्तार गर्दै लगेको छ।
मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा, अनलाइनमार्फत खाता खोल्नेलगायत डिजिटल सेवा बैंकले दिँदै आएको छ।