आर्थिक रुपान्तरणको ‘भिजन पेपर’ बनाउन तीनवटा प्रदेशका व्यवसायी एक ठाउँमा


नेपालगन्ज — नेपाल उद्योग वाणिज्य महासंघले ‘राष्ट्रिय आर्थिक रूपान्तरणको मार्गचित्र २०३०’ का विषयमा पश्चिम नेपालका उद्योगी, व्यवसायीसंग संयुक्तरुपमा छलफल गरेकोे छ ।

आईतवार महासंघका अध्यक्ष शेखर गोल्छाको प्रमुख आतिथ्यतामा भएको बृहद कार्यक्रममा लुम्विनी, कर्णाली र सुदूरपश्चिमका उद्योग वाणिज्य संघ आवद्ध अगुवाहरु सहभागि थिए । चाँडै सार्वजनिक गर्न लागिएको भिजनको विषयमा यस क्षेत्रका उद्योगी, व्यवसायीले बिभिन्न सुझाव दिएका छन् । समृद्धिका लागि निजी क्षेत्र नारा रहेको उक्त ‘भिजन पेपर’ मा दोहोरो आर्थिक वृद्धिदरसहित १ खर्ब डलरको अर्थतन्त्र बनाउने लक्ष्य राखिएको छ । भिजन पेपरमा लगानी वृद्धि गरेर अतिरिक्त २२ लाखलाई रोजगारी दिइने महासंघका अध्यक्ष शेखर गोल्छाले जानकारी दिए ।

‘केही समयमै भिजन पेपर सार्वजनिक गर्नेछौं । २०३० सम्ममा मुलुकलाई कसरी दोहोरो आर्थिक वृद्धिदरमा लैजाने र १ सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिने उल्लेख गरेका छौं,’ अध्यक्ष गोल्छाले भने, ‘लगानी अभिवृद्धि गरेर निर्यात घाटा कम गर्ने र अतिरिक्त २२ लाखलाई रोजगारी सिर्जना गर्न सकिन्छ । त्यो विषय भिजन पेपरमा समेटेका छौं ।’ उक्त मार्गचित्र महासंघको तेस्रो कार्यकारिणी समिति बैठकबाट पारित भइसकेको छ ।

भिजन पेपरमा १० प्राथमिकता प्राप्त क्षेत्र र एक सय पहल पहिचान गरिएको छ । भिजन पेपर कार्यान्वयन गर्न महासंघले एउटा छुट्टै युनिट स्थापना गर्ने जनाएको छ । ‘निजी क्षेत्र नभई समृद्धि सम्भव छैन, त्यसका लागि अन्य देशमा के भइरहेको छ, यहाँ के भइरहेको छ रु त्यो पनि हेर्न जरुरी छ,’ अध्यक्ष गोल्छाले भने, ‘कोभिडको चुनौतीपूर्ण समयमा मार्गचित्र ल्याउँदै छौं ।’ नेपालको परिप्रेक्ष्यमा मुख्यतः तीन वटा क्षेत्र कृषि, उद्योग र सेवाले भूमिका खेलेका छन् ।


कृषि क्षेत्रले अर्थतन्त्रमा २७ प्रतिशत ओगटेको छ । ६५ प्रतिशत रोजगारी सिर्जना गरेको र यसको औसत वृद्धिदर ३ देखि ३।२ प्रतिशत रहेको मार्गचित्रमा उल्लेख छ । उद्योगले अर्थतन्त्रमा १४।२८ प्रतिशत योगदान गरेको, यस क्षेत्रबाट १५।१० प्रतिशतले रोजगारी पाएको र औसत वृद्धिदर ६।८ प्रतिशत रहेको उल्लेख छ । सबैभन्दा ठूलो भने सेवा क्षेत्र नै हो । यसले अर्थतन्त्रमा ५८।०७ प्रतिशत योगदान गरेको जनाइएको छ । २० प्रतिशत रोजगारी र ५।५ प्रतिशतले वृद्धिदर रहेको मार्गचित्रमा उल्लेख छ ।

‘यसको मलतव भिजन पेपर उद्योगको मात्रै हुँदैन । यसले समग्रमा नेपालको अर्थतन्त्रलाई कसरी अगाडि बढाउने भन्ने बोल्नेछ,’ गोल्छाले भने, ‘सबैभन्दा पहिला एसियाको प्रमुख सेवा केन्द्र बनाउन अपनाउनुपर्ने उपाय भिजन पेपरमा राखेका छौं ।’ उद्योगमा तुलनात्मक लाभका वस्तुको पहिचान र लाभका विषय पनि मार्गचित्रमा उल्लेख गरिएको बताइएको छ । भएका समस्या समाधान गर्ने उपाय, आवश्यकतामा आधारित खेतीभन्दा नाफामा आधारित कृषिमा जोड दिइएको छ । ‘कुनकुन मुलुकले राम्रो अभ्यास गरिरहेका छन्, ती विषय भिजन पेपरमा समेटेका छौं,’ अध्यक्ष गोल्छाले भने । यस्तै बजारको रणनीति र सम्भावना कार्यान्वयनका लागि सूक्ष्म अध्ययन गरिने पनि उनले जानकारी दिए । सन् २०३० सम्ममा अन्तर्राष्ट्रिय व्यापारमा हिस्सा बढाउने पनि उनले बताए ।

महासंघको काम, कर्तव्य आएका समस्या समाधान गर्ने मात्रै नभई आर्थिक क्षेत्रको रूपान्तरणका लागि मार्गचित्र बनाउने पनि रहेको उनको भनाइ छ । ‘त्यसलाई राष्ट्रिय आर्थिक रूपान्तरण मार्गचित्र २०३० र समृद्धिका लागि निजी क्षेत्र भनेका छौं,’ अध्यक्ष गोल्छाले भने, ‘चैत मसान्तमा पूणपाठ दिनेछौं । कुन क्षेत्रमा कसरी लगानी र रोजगारी आउँछ भन्ने हिसाबकिताब गरेर देखाएका छौं ।’ महासंघले आगामी कार्यक्रमअन्तर्गत ५० जना नव उद्यमीहरूलाई सुरु पुँजीसहित उद्यम गर्न सघाउने जनाएको छ ।

 

प्रकाशित मितिः     ९ चैत्र २०७७, सोमबार ०६:५०  |
error: Content is protected !!