क्यूआर कोडबाट भुक्तानी : इतिहासदेखि वर्तमानसम्म


भुक्तानीको माध्यमका नयाँनयाँ प्रयोगमा अहिले नेपाली समाज विस्तारै क्रान्तिको मार्गमा अग्रसर भएको देखिन्छ । केही वर्षअगाडि सम्म कुनै पनि कारोबारका लागि चेक तथा नगदबाहेक अन्य माध्यमबाट भुक्तानी गर्ने विकल्प नभएको अवस्थाबाट विस्तारै कनेक्ट आईपीएस, इन्टरनेट बैंकिङ, ईसेवा, खल्तीजस्ता विभिन्न प्रकारका मोबाइलमा आधारित भुक्तानीका माध्यमसमेत चलनचल्तीमा आइसकेका छन् । अहिले आएर केन्द्रीय बैंकका गभर्नरकै विशेष ‘चासो’मा त्यसमा पनि एक कदम अगाडि बढेर डिजिटल भुक्तानीलाई आम प्रचलनमा ल्याउने प्रयास स्वरूप ‘क्यूआर कोड’ को आम रूपमा प्रयोग प्रारम्भ भएको छ । फलस्वरूप टेम्पो चालकदेखि साग व्यापारीसम्मले यसै कोडको माध्यमबाट भुक्तानी स्वीकार गर्न थालेबाट निकट भविष्यमा नै नेपालमा डिजिटल भुक्तानी र त्यो पनि क्यूआर कोडको प्रयोगले व्यापकता पाउने अनुमान गर्न सकिन्छ ।

विभिन्न प्रकारका क्यूआर कोड अहिले चल्तीमा छन् । यसमा विशेष गरी वेल्च अल्लिनले विकास गरेको ‘एज्टेक कोड’, अमेरिकाका हुलाक सेवाहरूले प्रयोग गर्ने ‘मेक्सी कोड’ लगायत ‘सेमाकोड’ तथा ‘पीडीएफ ४१७’ जस्ता कोडलाई क्यूआर कोडकै भिन्न प्रकारको रूपमा लिइने गरिन्छ ।

त्यसो त यस्तो ‘क्यूआर कोड’ को प्रयोग जुनसुकै क्षेत्रमा पनि गर्न सकिन्छ । यसै सन्दर्भमा चिनिया राष्ट्रपतिले करीब २ महीना अगाडि कोभिडको प्रभावलाई दृष्टिगत गर्दै अन्तरराष्ट्रिय भ्रमण गर्नेहरूका लागि भनेर विश्वव्यापी रूपमा एकीकृत क्यूआर कोड प्रयोग गर्न गरेको आग्रह स्मरणीय छ । यसले एकातिर यसको महत्त्वलाई थप झल्काएको त छ नै त्यसमाथि ‘क्यूआर’ कोडको भावी प्रयोग तर्फको मार्गलाई पनि थप उजिल्याएको छ ।

तर, यो आलेखमा भने यो कोडको शुरुआत कसरी कहिले भयो भन्नेबारेमा संक्षेपमा चर्चा गर्दै अन्य क्षेत्रमा भन्दा पनि विद्युतीय भुक्तानीको प्रभावकारी सर्व स्वीकार्य माध्यमका रूपमा यसको हुँदै आएको प्रयोगको सन्दर्भलाई समेट्न खोजिएको छ ।

के हो ‘क्यूआर’ कोड ?
हामी सबैले सुन्ने गरेको क्यूआर कोडको विस्तृत रूप ‘क्विक रेस्पोन्स कोड’ हो । त्यसैले यसलाई यो आलेखमा नेपालीमा ‘आशु प्रतिक्रियात्मक संकेत’ भन्ने पदावली प्रयोग गरिएको छ ।

यसको नामअनुसार नै यो संकेतलाई पढ्ने यन्त्रले तुरुन्त त्यसमा भण्डारण गरिएका जतिसुकै परिमाणका सूचना, वस्तु, साधन, वेबसाइट तथा बैंक खातासँग द्रुतगतिमा तत्क्षण नै पहुँच स्थापना गर्ने सामर्थ्य राख्छ । यही तीव्र गतिमा तत्क्षण नै पहुँच स्थापित गरी तत्काल प्रतिक्रिया दिने भएकाले नै यसलाई ‘आशु प्रतिक्रियात्मक संकेत–क्विक रेस्पोन्स कोड’ भनेर नामकरण गरिएको सजिलै बझ्न सकिन्छ ।

यही तत्काल सम्पर्क स्थापित गर्ने भएकाले यसलाई विद्युतीय भुक्तानीको अत्यन्तै प्रभावकारी र सजिलो माध्यमका रूपमा विश्वभरि नै स्वीकार गरिएको पाइन्छ ।

‘क्यूआर’ कोडको जन्म
आवश्यकता नै आविष्कारकी जननी हुन् भनेझैं ‘क्यूआर’ कोडको जन्म पनि यस्तै अवश्यकताको महसूसले गराएको थियो । जापान आर्थिक वृद्धिको उत्कर्षमा रहेको बेला सन् १९६० को दशकमा सुपर मार्केटहरूका काउन्टरहरूमा वस्तुहरूको मूल्य हातैले उल्लेख गर्नुपर्ने झन्झटले काउन्टरमा बस्ने कर्मचारीहरू वाक्क भइरहेका थिए । परिणाम स्वरूप वस्तुहरूको मूल्य अंकित गरिएको ‘बारकोड’ को आविष्कार हुन पुग्यो ।

यस्ता बार कोडलाई पढ्न सक्ने रिडर भने जापानकै प्रसिद्ध मोटर उत्पादक कम्पनी टोयोटाको भगिनी संस्था डेन्सो कर्पोरेशनको एउटा विभागका रूपमा रहेको ‘डेन्सो वेब इन्कर्पोरेटेडले गरिरहेको थियो । त्यही भएर मानिसले यही संस्थालाई वस्तुको मूल्यका अलावा अन्य धेरै किसिमका जानकारी समावेश भएको कोड बनाउन सकिन्छ कि भनेर अनुरोध गर्न थाले ।

यस्तै अनगिन्ती मानिसको अनुरोधमा उक्त कम्पनीका मासाहिरो हारा भन्ने व्यक्तिको नेतृत्वमा अर्को एक जना मिलेर यो कोडको विकास गरेका थिए । जम्माजम्मी दुई जनाले विकास गरेको यो कोडमा उनीहरूले गुप्त रूपमा संख्या, वर्ण तथा जापानी वर्णमालाको खान्जी संकेतलाई प्रयोग गरेका थिए । सन् १९९४ मा विकास भएको यो संकेत चिह्नलाई नै अहिलेको परिपक्व अवस्थामा रहेको क्यूआर कोडको शैशवावस्था भनेर बुझ्न सकिन्छ ।


शुरूशुरूमा यो कम्पनीले आफ्नो उत्पादन प्रक्रियामा रहेका मोटरहरू तथा तिनका पुर्जाहरूको यथार्थ अवस्थिति पहिचान गर्न यो कोडको प्रयोग गरेको थियो । पछि यो कोड सार्वजनिक हुनेबित्तिकै अन्य धेरै मोटर उत्पादक कम्पनीलगायत अन्य सम्पूर्ण उत्पादन मूलक उद्योगले पनि यसको प्रयोग गरेका थिए ।

यसो हुनुमा भने डेन्सो कम्पनीले देखाएको ‘व्यावसायिक उदारता’लाई नै श्रेय दिन सकिन्छ किनभने उसले आफूले विकास गरेको यो संकेतप्रति कुनै पनि प्रकारको ‘पेटेन्ट’ तथा ‘स्वामित्व अधिकार’ दाबी नगर्ने र यसलाई ‘सार्वजनिक सम्पत्ति’ हुन दिने नीति अवलम्बन गरेको थियो । त्यसैले अहिलेसम्म पनि यो संकेतलाई सबैले सहजै विकास तथा प्रयोग गर्न सकेका छन् । फलस्वरूप विभिन्न प्रकारका क्यूआर कोडहरू अहिले चल्तीमा छन् । यसमा विशेष गरी वेल्च अल्लिनले विकास गरेको ‘एज्टेक कोड’, अमेरिकाका हुलाक सेवाहरूले प्रयोग गर्ने ‘मेक्सी कोड’ लगायात ‘सेमाकोड’ तथा ‘पीडीएफ ४१७’ जस्ता कोडहरूलाई क्यूआर कोडकै भिन्न प्रकारको रूपमा लिइने गरिन्छ ।

तर, अहिले आम रूपमा चल्तीमा रहेको क्यूआर कोड भने जापानी कम्पनी ‘डेन्सो वेब’ले विकास गरेको कोड नै हो ।

मोबाइल फोनले ल्याएको क्रान्ति
सन् २००२ मा पहिलोपल्ट जापानमा नै यस्तो संकेत पढ्न सक्ने क्षमतायुक्त मोबाइल फोनको निर्माण भयो । यसो भएपछि यस्तो संकेतको प्रयोग र विस्तारले व्यापकता पाउनु स्वाभाविक नै थियो र त्यतिखेरसम्म उत्पादनमूलक उद्योगहरूले मात्र प्रयोगमा ल्याइरहेकोमा अन्य प्रकारका धेरैभन्दा धेरै कम्पनीहरूले समेत प्रयोग गर्न थाले । परिणाम स्वरूप सन् २००४ मा लघुतम प्रकारको संकेत (माइक्रो क्यूआर कोड) को समेत विकास भयो ।

अहिले हामीले सर्वत्र देख्ने गरेको जस्तो वर्गाकारको संकेतावली भने सन् २००८ मा मात्र सार्वजनिक भएको थियो । प्रसिद्ध एप्पल कम्पनीले यसै सालदेखि स्मार्टफोनका रूपमा यस्तो संकेतावली पढ्ने क्षमतायुक्त आइफोन बनाउन थालेपछि त यसको लोकप्रियता र प्रयोग ह्वात्तै बढेको पाइन्छ ।

सन् २०१२ मा आफ्नो १८ वर्षको उमेरमा क्यूआर कोडले जापानमा ‘उत्कृष्ट रचना’ को पुरस्कार पाउँदासम्म यसले रेस्टुराँदेखि पत्रपत्रिकासम्म र पान पसलदेखि सौन्दर्य प्रसाधनसम्म नै व्यवसायका बारेमा जानकारी तथा प्रवद्र्धन गर्ने प्रभावकारी माध्यमका रूपमा आप्mनो उपस्थिति विस्तार गरिसकेको थियो ।

नेपालमा पनि ‘क्यूआर’ कोडका माध्यमबाट गत पुस महीनामा करीब सवा १ अर्बको हाराहारीमा भुक्तानी भएकोमा माघ महीनामा यो रकम बढेर पौने २ अर्बको हाराहारीमा पुगेको राष्ट्र बैंकको तथ्यांक हेर्दा यसले नेपाली समाजमा आम चल्तीको भुक्तानीको माध्यमका रूपमा छिट्टै नै आफूलाई स्थापित गर्ने अनुमान गर्न सकिन्छ । कारोबार संख्यालाई आधार मान्ने हो भने पनि पुस महीनामा भएको ३ लाख ७२ हजार पटकको कारोबारको तुलनामा माघ महीनामा भएको ५ लाख ३५ हजार पटकको कारोबारले समेत यसको प्रयोगको उत्साहप्रद भविष्यतर्फ नै संकेत गरेको छ ।

लेखक बैंकर हुन् ।

आर्थिक अभियानबाट साभार

प्रकाशित मितिः     १२ चैत्र २०७७, बिहीबार १६:५६  |
error: Content is protected !!