- जगेश्वर थारु
नेपालगन्ज १३ चैत : रोल्पाका ३० वर्षीय युवक (नाम, ठेगाना गोप्य) शुक्रवार जमुनाह नाकामा रोकिए । उनी भारतको गुजरातबाट घर फर्किदै थिए ।
नेपालगन्ज उपमहानगरपालिकाले सन्चालन गरेको हेल्थ डेक्समा रोकिएका ती युवकको स्वास्थ्यकर्मीले एन्टीजीन परीक्षण गरे । उक्त परीक्षणका क्रममा युवकमा कोरोनाकै सरल एन्टीजेन पोजेटिभ देखिएको स्वास्थ्यकर्मी हेमन्त रानाले बताए ।
मध्यान्ह १२ बजे कोरोना पोजिटिभ देखिएका ती युवक साँझ आठ बजेसम्म हेल्थ डेक्समै थिए ।
उनलाई व्यवस्थापन गर्न कसैले चासो दिएको छैन । व्यवस्थापन गर्ने निकाय समेत पत्तो नहुँदा भारतबाट घर फर्किएको एउटा संक्रमित दिनभर हेल्थ डेक्समा मानसिक तनाव सहित बसिरहेका देखिन्थे ।
‘मलाई घर की अस्पताल कहाँ लैजाने हुन केही पत्तो छैन । नत एम्बुलेन्सकै व्यवस्था गरिएको छ ।’–ती युवकले भने । एम्बुलेन्सले रोल्पा लैजान मानेका छैनन् । मानेकाहरुले पनि २५ हजारसम्म खर्च लाग्छ भनिरहेका छन् । दुःख पोख्दै युवक भन्छन्–‘१२ हजारसम्म त दिन सक्थे त्यत्रो पैसा कहाँबाट ल्याउँ ।’
भारतबाट जमुनाह नाका हुँदै आएका संक्रमित वा आशंकितको व्यवस्थापन कसरी गर्ने भन्ने एकिन नहुँदा सर्बसाधारणले दुःख पाइरहेका छन् ।
आठ घण्टादेखि हेल्थडेक्समै तनावपूर्ण समय बिताइरहेका ती युवाले दिउँसो नास्ता आफ्नै खर्चले खाए भने साँझ के खाने र कहाँ सुत्ने भन्ने तनाव लिइरहेको देखिन्थे ।
पाँच बजे बिदामा घर फर्किने स्वास्थ्यकर्मी ती युवककै हेरचाहका लागि आठ बजे सांझसम्म कुरिरहेका छन् ।